मंसिर, अर्थात् विवाहको महिना।
नेवार समुदायमा विवाह भन्नेबित्तिकै एउटा विशेष खालको मिठाइको सम्झना आउँछ– लाखामरी।
यो चामल र मासको पिठोबाट बन्छ। पिठो मुछेर विभिन्न आकारमा बनाइएको लाखामरी घ्यू वा तेलमा पकाइन्छ। चास्नीमा डुबाएर निकालेपछि तयार हुन्छ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवार समुदायमा ८४ थरी रोटी बनाइन्छ। ती रोटी विभिन्न चाडपर्वका अवसरमा तयार हुन्छन्। लाखामरी त्यसैमध्ये एक हो, जुन विशेषगरी केटा पक्षले विवाह पक्का भएको संकेतका रूपमा केटी पक्षलाई दिन्छ।
काठमाडौं, नरदेवीको एक मिठाइ पसलमा बुधबार हामी पुग्दा लाखामरी तयार हुँदै थियो।
कुनै नामको बोर्ड नभएको उक्त पसल ‘लाखामरी पसः’ भनी परिचित रहेछ। तीनपुस्ते पुरानो यो पसलमा पूर्णमान ताम्राकारको परिवार आफैं खटेर लाखामरी बनाउँदै थिए।
‘पहिले पेसाका आधारमा मानिसलाई विभिन्न थर दिइएको थियो,’ संस्कृतिविद् धौभडेलले भने, ‘खासमा लाखामरी लगायतका अन्य रोटी ‘मधुकर्मी’ हरूले बनाउने हो। भक्तपुरको तलेजु मन्दिरमा दसैं बेला उनीहरूले ८४ थरीकै रोटी बनाएर राख्छन्। समयक्रममा परिमार्जन हुँदै विभिन्न थरका मानिस यो पेसामा जोडिए।’
तामाको भाँडा बनाउने काममा दख्खल राख्ने ताम्राकार परिवार यो पेसामा जोडिनु त्यसैको एक उदाहरण हो।
पूर्णमानसँगै हामीले लाखामरी बनाउने तरिका सोध्यौं।
मिहिन तरिकाले लाखामरीको बुट्टा बनाइरहेका उनले विस्तार लगाए, ‘सुरुमा चामल र मासलाई दिनभरि भिजाएर रातभरि ओभाउन दिइन्छ। भोलिपल्ट त्यसलाई पिसेर पिठो बनाइन्छ। पानी र घ्यूमा मिसाएर मज्जाले फिटिन्छ। अनि नरम भएपछि स–साना प्वाल भएको कपडामा हालेर बाँधिन्छ। त्यसपछि कराईमा लाखामरीको बुट्टा बनाउँदै पकाइन्छ।’
जसरी भनिरहेका थिए, उनी त्यसैगरी लाखामरी बनाउँदै थिए।
खैरो हुन्जेल पकाएपछि उनले त्यसलाई निकालेर केही बेर सेलाउन दिए। त्यसमाथि चिनीपानीको मिश्रणबाट बनेको चास्नी हाले। लाखामरी तयार भयो।
त्यो हामी धेरैले देखेजस्तो गोलो लाखामरी थियो।
पूर्णमानका अनुसार लाखामरी पाउको हिसाबले पनि बनाइन्छ। यो चार थरीको हुन्छ – १२ पाउ (झिँनिप), १० पाउ (झिप), ८ पाउ (च्याप) र ६ पाउ (खुप)।
संस्कृतिविद् धौभडेल ठूलो आकारको भएकाले ‘देखाउँदै लग्नुपर्ने’ (लाखायागु) हुँदा लाखामरी नाम रहन गएको अनुमान गर्छन्। यो रोटी आफन्तजनलाई विवाहको निमन्त्रणाका रूपमा पनि दिने चलन छ।
‘लाखामरी सिंगै दिँदा स–परिवार, आधा दिँदा श्रीमान–श्रीमती र एक चौथाइ दिँदा एक जना मात्र निम्ता गरिएको भन्ने बुझ्नुपर्थ्यो,’ उनले भने, ‘लाखामरी ठूलो वा सानो दिने भन्ने नजिक वा टाढाको साइनोका आधारमा तय हुन्छ।’
लाखामरीकै आधारमा दाइजो दिनेले पनि ठूलो वा सानो दिने भनी तय गरिने उनी बताउँछन्। तर, यो परम्परा अब केहीमा मात्र सीमित छ।
हामीलाई लाखामरी बनाउने तरिका सिकाइरहेका पूर्णमानले अरू प्रकारका लाखामरी देखाउन भोलिपल्ट बिहानै फेरि पसलमा डाके। बिहीबार बिहान हामी पुग्दा उनको कराईमा भ्यागुता (ब्याँ), चरा, माछा (न्या) लगायत विभिन्न जनावर आकृतिका रोटी तैरिरहेका थिए।
‘लाखामरीलाई तुलाधर, स्थापित, ताम्राकारहरूले सुपारीका रूपमा लग्छन्। उनीहरूलाई माछा, भ्यागुताजस्ता आकृति नभए पनि हुन्छ। श्रेष्ठ थरलाई भने चाहिन्छ। यो सजावटका रूपमा पनि प्रयोग गरिएको हो,’ पूर्णमानले भने, ‘यी आकार भने गहुँको पिठोले बनाइन्छ।’
यता विभिन्न आकारका रोटी पाकिरहेका बेला पूर्णमान अर्कै आकारमा रोटी पनि बनाउँदै थिए।
उनी एउटा घैंटाजस्तै भाडालाई उल्टो बनाएर हातले बेल्न थाले। त्यसमाथि गहुँको पिठोलाई लामो लामो आकार दिए र गोलो गोलो घुमाउँदै फनक्क बटारे। यो रोटीलाई ‘एथ्यामरी’ वा ‘ल्हाःमरी’ भनिने रहेछ।
‘यो मरी विवाह वा सुकुल भोजमा आउनेलाई घर फर्कने बेला एक-एकवटा दिएर पठाइन्छ,’ उनले भने।
त्योसँगै उनले गोलो गोलो मात्रै घुमाउँदै केही रोटी पनि बनाए। फनक्क बटारेनन्। त्यो रोटीको नाम अक्षतामरी रहेको उनले जानकारी दिए।
‘यो रोटी भने पूजाआजा र पौष शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रतमा आवश्यक हुन्छ,’ उनले भने।
यसैगरी, लाखामरी हेर्दा राम्रो देखिने भएकाले भाइटीका, आमाबुवाको मुख हेर्ने दिन, लक्ष्मीपूजा लगायत विभिन्न अवसरमा पनि प्रयोग गरिने पूर्णमान बताउँछन्। विवाहका लागि विशेष महत्वपूर्ण मानिने लाखामरी महिनौंसम्म खान सकिन्छ।
हाल आधुनिकीकरण र बजारिया मिठाइको अतिक्रमणमा लाखामरी प्रथा हराउँदै गएकोमा पूर्णमानको गुनासो छ।
‘हाम्रो पसलमा लाखामरी बनाउन लगाउने ग्राहक नै पहिलेको तुलनामा ७५ प्रतिशत घटिसक्यो,’ उनले भने, ‘मानिसले आफ्नो परम्परा भुल्दै बजारिया मिठाइ अंगालेको देख्दा दुःख लाग्छ।’
यही आइतबार पाटन दरबारभित्र लाखामरी भ्वय् (भोज) गर्दै कवि एवं गीतकार दुर्गालाल श्रेष्ठको नेपाः भाषाका बालगीत संग्रह विमोचन भयो। गीतमार्फत् साना नानीबाबुलाई नेवाः भाषाप्रति आकर्षित गर्न चाहेको दुर्गालाल श्रेष्ठले बताए।
विमोचन कार्यक्रममा हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठका साथमा साना नानीबाबुले नेपाः भाषामा ‘लाखामरी भ्वय्’ भन्दै गीत गाएका थिएः
कुने सु वल?
धापलां ख्याः
छु याः वल?
भ्वय् नः वल
छु भ्वय्?
‘लाखामरी भ्वय्।’
जसरी यो गीतमा ‘लाखामरी’ बाँचेको छ, हामीले लाखामरी परम्परालाई पनि पुस्तौंसम्म बचाउन जरुरी छ।
सबै तस्बिर: आलोकसिद्धि तुलाधर