काठमाडौंका बसस्ट्यान्ड बस कुर्दा वा जेब्राक्रसिङबाट बाटो काट्दा तपाईंको हातमा केही फोहोर छ भने के गर्नुहुन्छ?
हामीमध्ये धेरैले त्यत्तिकै सडकमा फालिदिन्छौं। केहीलाई डस्टबिनमा राख्न पाए हुन्थ्यो भन्ने पनि लाग्छ। तर डस्टबिन भए पो राख्नु! आफ्नै झोलामा हालेर फोहोर बोक्ने त हाम्रो चलनै छैन।
अब त्यसरी फोहोर फाल्नुभन्दा पहिला एकपटक यताउता हेर्नुभयो भने छेउमा कतै डस्टबिन देख्नुहुन्छ। त्यो डस्टबिनमा कुहिने र नकुहिने फोहोर फाल्ने ठाउँ छुट्याइएको छ। आफूसँग फोहोर त्यही डस्टबिनमा राख्नुस् है!
अहिले यस्ता डस्टबिन माइतीघर, बबरमहल, तीनकुने, बानेश्वरलगायत १२ ठाउँमा राखिएका छन्।
काठमाडौं महानगरपालिका र सडक विभागसँग मिलेर दुई उद्यमशील युवा शैलेश कुँवर र हरिश अग्रवालको कम्पनी कृष्ण सप्लायर्सले सोलारसहितका स्मार्ट डस्टबिन राखेको हो।
डस्टबिनमा तपाईंले आफ्नो मोबाइल पनि चार्ज गर्नु सक्नुहुन्छ। त्यसको स्क्रिनमा काठमाडौंको हावामा प्रदुषणको मात्रा र तापक्रम पनि देखिन्छ।
वरिपरि कुनकुन ठाउँ छन् भनेर हेर्न क्युआर कोड पनि राखिएको छ।
‘सहर सफा होस्, यात्रुलाई सुविधा पनि होस् भनेर डस्टबिन राखेका हौं,’ कृष्ण सप्लायर्सका शैलेश कुँवरले सेतोपाटीसँग भने,‘राति सोलारबाट बत्ति बल्ने भएकाले जेब्राक्रस पनि राम्ररी देखिन्छ। पैदल यात्री र चालक दुबैलाई सजिलो हुन्छ।’
महानगरपालिकाले २०७३ पुसमा यस्ता डस्टबिन राख्ने सम्झौता गरेको थियो।
‘यसका तीनवटा फाइदा छन्। फोहोर फाल्न मिल्छ, सार्वजनिक सूचना राखिन्छ अनि राति बत्तीको काम पनि हुन्छ,’ महानगरको सार्वजनिक–निजी साझेदारी शाखा प्रमुख ध्रुव काफ्लेले भने।
डस्टबिनको अगाडितिर विज्ञापन छ भने पछाडिपट्टी महानगर र सरकारी सूचना राखिएको छ।
‘विज्ञापन राखेर नै यसको लागत र सञ्चालन खर्च उठाउने लक्ष्य छ,’ कुँवरले भने। एउटा डस्टबिन राख्न ६ लाख रूपैयाँ खर्च हुने उनले जानकारी दिए।
हरेक दिन डस्टबिनमा जम्मा भएको फोहोर उठाएर महानगरले तोकेको ठाउँमा लिएर फालिन्छ।
छिटै रानीपोखरी, न्युरोड, बसन्तपुर, थापाथली, भद्रकाली र सिंहदरबार क्षेत्रमा ६० वटा डस्टबिन राखिने कुँवरले जानकारी दिए।
‘धेरैलाई बानी परेको छैन तैपनि फोहोर जम्मा हुन थालेको छ,’ कुँवरले भने,‘काठमाडौंका अन्य ठाउँमा पनि डस्टबिन राख्दै जानेछौं। पछिपछि मान्छेलाई फोहोर डस्टबिनमै फाल्ने बानी पर्छ नि।’
शैलेश र हरिशको कम्पनीले यसअघि काठमाडौंका चोकचोकमा ट्राफिक स्ट्यान्ड राखेको थियो।
यो पनि पढ्नुस्
दुई उद्यमशील युवाले बनाएका स्मार्ट ट्राफिक पोस्ट