सात वर्षपछि आफ्नै खुट्टाको भरमा हिँड्डुल गर्न पाउँदा जुम्लाको कनका सुन्दरी गाउँपालिका ८ का भक्तबहादुर रोकाय अत्यन्त खुसी देखिन्थे। ३५ वर्षीय रोकायले २०६८ सालमा क्यान्सरका कारण आफ्नो दाँया खुट्टा गुमाएका थिए।
देशका विभिन्न जिल्लामा घुमेर गलैँचा विक्री गरी परिवारको खर्च चलाउँदै आएका रोकाय आफैं बिरामी परेपछि उनको आम्दानीको स्रोत ठप्प बनेको थियो।
वृद्ध बुवाआमा र साना छोराछोरीको सहारा बनेका भक्तबहादुर आफैंलाई अरुको सहारा चाहिन थालेपछि उनको परिवारको जिम्मेवारी श्रीमतीको थाप्लोमा पर्यो।
तर अहिले सात वर्षपछि निःशुल्क खुट्टा पाउँदा उनमा खुशीको सीमा थिएन। कृत्रिम खुट्टा राखेपछि हिँड्डुल गरिरहेका रोकायलाई हेर्दा उनको खुट्टा कृत्रिम हो भन्ने छुट्टयाउन सकिँदैनथ्यो।
केही समयअघिसम्म बैशाखीको सहारामा हिँड्डुल गरिरहेका भक्तबहादुरले बैशाखी फालेर दुवै खुट्टाले पाइला अघि सार्दा संसार जितेजस्तै खुशी लागेको बताए।
२७ वर्षको युवाअवस्थामा खुट्टा गुमाएका रोकायलाई सुरूका वर्षमा जीवन नै सकिएजस्तै लाग्थ्यो। वृद्ध बुवाआमाको आशिर्वाद, श्रीमती र छोराछोरीको मायाले उनलाई ऊर्जा दिन्थ्यो।
बुद्धशान्ति गाउँपालिका ५ झापाका ६१ वर्षीय रितबहादुर कुमालले पनि ९ वर्ष पहिले क्यान्सरकै कारण बायाँ खुट्टा गुमाए। उपचारकै क्रममा २०६६ सालमा घुँडामाथिबाट एउटा खुट्टा गुमाएका रितबहादुरले बैशाखीको सहारामा हिँड्ने बानी पार्न निकै गाह्रो भयो।
लाखौं खर्च गरेर पनि उपचारबाट निको नभएपछि खुट्टा काट्नु पर्दाको क्षण रितबहादुरले कहिल्यै बिर्सन सक्दैनन्। रितबहादुर र भक्त बहादुर दुवैले वर्षौपछि आफ्नै खुट्टामा हिँड्डुल गर्न पाउँदा अर्को जन्म पाएजस्तो खुसी लागेको बताए ।
विभिन्न कारणले खुट्टा गुमाई अपांगता भएका व्यक्तिहरूलाई कृत्रिम खुट्टा प्रदान गरेर सबैको सहारा बनेको मारवाडी युवा मञ्चले भैरहवामा गत शनिबार ४९ जनालाई निःशुल्क कृत्रिम खुट्टा प्रदान गरेको हो। देशका विभिन्न जिल्लाबाट खुट्टाको सहारा लिन आएकाहरूको त्यही भीडमा थिए भक्तबहादुर र रितबहादुर पनि।
खुट्टा गुमाएका र आर्थिक अवस्था कमजोर भएका कारण कृत्रिम खुट्टा राख्न नसक्नेहरूको लागि मारवाडी युवा मञ्च सहारा बनेर उभिएको छ। यसपटक पनि करिब ३० लाख रुपैयाँको लागतमा ४९ जनालाई कृत्रिम खुट्टा प्रत्यारोपण गरेको कार्यक्रम संयोजक अरुणकुमार अग्रवालले जानकारी दिए।
मञ्चले यसअघि नै नाम दर्ता आह्वान गरेर अशक्तहरूको खुट्टाको नापो लिएको थियो।
आर्थिक अवस्था कमजोर भएका, घरको जिम्मेवारी पुरा गर्नुपर्ने र यसअघि कृत्रिम खुट्टा नराखेकाहरुलाई प्राथमिकता दिएर खुट्टा प्रदान गरिएको मंचका भैरहवा शाखा अध्यक्ष मनोज अग्रवालले जानकारी दिए।
खुट्टा प्रत्यारोपणको लागि नापो लिन आह्वान गर्दा १ सय १५ जनाले निवेदन दर्ता गरे पनि यसपटक ४९ जनामा प्रत्यारोपण गरिएको उनले बताए। मञ्चले अहिलेसम्म २ हजार २ सय बढीलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको दाबी गरेको छ।
नापो लिएका व्यक्तिहरूको लागि काठमाडौंबाट आएका अर्थो टेक्निसियन डा. हरि बोगटी नेतृत्वको टोलीले कृत्रिम खुट्टा तयार पारेका थिए। रोकायले खुट्टा गुमाएका अशक्त र आर्थिक अवस्था कमजोर भएकाहरूलाई निःशुल्क खुट्टा प्रदान गरेर मारवाडी युवाहरूले पुण्यको काम गरेको बताए।
अपरिचित युवाहरूले नि:शुल्क रूपमा लाखौंको कृत्रिम खुट्टा दिएर आफूहरूको सहारा बने पनि आफ्नै गाउँपालिकाले भने त्यही नि:शुल्क खुट्टाको लागि सिफारिस पत्र दिँदा शुल्क लिएकोमा अत्यन्त दुःख लागेको रोकायले बताए।
‘मलाई एउटा पत्र भए पुग्थ्यो गाउँपालिकाले बिग्रिएको भन्दै तीनपटकसम्म सिफारिस पत्र बनायो, तर मसँग शुल्क भने तीनवटाको ६ सय रुपैयाँ लियो,’ उनले भने ।