महिलामाथि हुने हिंसाजन्य घटना वृद्धि भएपछि ललितपुर प्रहरी परिसरले दुई महिनाअघिबाट सार्वजनिक गाडीमा सादा प्रहरी खटायो। ती प्रहरीलाई सवारीसाधनमा यात्रा गर्ने महिलाहरूमाथि हुने हिंसाका घटना निगरानी गर्न अह्राइएको थियो।
ललितपुर प्रहरी परिसरले खटाएका ती प्रहरी थिए, हवल्दार सालिकराम नेपाली।
तिनै नेपाली नक्कली सुन देखाएर ३७ लाख ६५ हजार रुपैयाँ लुटपाटका ‘नाइके’ भेटिएका छन्।
महिला हिंसाका घटनामा खटाइएका प्रहरी लुटेरासम्म हुन्छन् भन्ने अनौठो घटना ललितपुर परिसरले बिहीबार सार्वजनिक गरेको छ। यो घटनासँगै परिसरले अपराध नियन्त्रणमा खटिने प्रहरीको ‘लेखाजोखा’ गर्न थालेको छ।
ललितपुर परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार गत कात्तिक १३ गते पनि हवल्दार नेपालीकै मुख्य योजनामा नेपालगञ्जमा यस्तै प्रकारको घटना गराउन खोजिएको थियो। हवल्दार नेपाली अहिले फरार छन्।
‘अपराध नियन्त्रणमा खटाइएका व्यक्ति नै लुटपाटका घटनामा संलग्न भएको घटनाले प्रहरीमाथिको विश्वासमा झन् आघात पुगेको छ,’ धानुकले भने, ‘हवल्दारलाई पक्रेर कडाभन्दा कडा कारबाही गरिने छ।’
नेपालीलाई साथ दिने प्रहरी वृत्त बालाजुमा कार्यरत अर्का हवल्दार मोहनबहादुर बमसहित चार जनालाई बिहीबार ललितपुर परिसरले सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएका व्यक्तिहरूमा दाङ घोराही घर भई सानेपा–२ बस्ने गोपाल विश्वकर्मा, सल्यान घर भई काठमाडौं मैपीमा बस्ने सञ्जयकुमार तिरुवा र दाङ घर भई माछापोखरी बस्ने शिवु कुमाल छन्।
हवल्दार नेपाली, ओपिराम सुनुवारलगायत अन्य ६ जना फरार छन्। उनीहरूको खोजी तीव्र पारिएको एसएसपी धानुकले बताए।
उनीहरूले मैतीदेवीस्थित बुद्ध ज्वेलरी वर्कसप प्रालिका प्रोप्राइटर बुद्ध विश्वकर्माबाट सो रकम लुटेका थिए। ज्वेलरी सञ्चालक र उनका प्रतिनिधि विमल विश्वकर्माबाट उनीहरूले बालाजुस्थित सूर्यविनायक गेस्ट हाउसबाट मंसिर ११ गते साँझ रकम लुटेको एसएसपी धानुकले बताए।
यसरी भएको थियो घटना
‘हामीसँग बैंकबाट लिएको बिलसहितको सुन छ, चाहिए दिन सक्छौं,’ ज्वेलरी सञ्चालकलाई तिहारलगत्तै नेपालीको टिमले फोन गर्न गरिरहेको थियो।
हवल्दार नेपालीले सुन कारोबार गर्ने क्रममा मंसिर ११ गते सुन व्यापारी र प्रतिनिधिसँग ४९ हजार ४७ हजार रकमको ‘डिल’ गरेका थिए।
प्रहरीको पोशाकमै रहेका उनले बालाजुबाट हवल्दार मोहनबहादुरलाई बोलाए। सूर्यविनायक गेस्ट हाउसकै अर्को कोठामा मोहनबहादुरसहित अन्य छ जनालाई तयारी अवस्थामा राखे। मोहनबहादुरले एउटा हत्कडी र प्रहरीको पोशाक पनि ल्याएका थिए।
नेपालीसँग दिनेश दर्नाल पनि थिए। सो कोठामा सुन पसले र प्रतिनिधि आइपुगे। उनीहरूले ३७ लाख ६५ हजार रकम ल्याए र सोही कोठामा गन्न थालियो। बेडको तन्नामा पैसा गन्दागन्दै दर्नाल उठे र सुन ल्याउन भनी हिँडे।
तर, दर्नालले मोहनबहादुरसहित पाँच जना बसेको कोठा ढकढक्याए। पाँचै जना निस्किएर सुन पसले र प्रतिनिधिलाई कुटपिट गरी लखेटे।
‘उनीहरूले थप तीन लाख रुपैयाँ सिद्धार्थ बैंक बालाजु शाखामा मोहनबहादुर बमको नाममा जम्मा गरिसकेका रहेछन्,’ सोको रसिद पनि देखाउँदै एसएसपी धानुकले भने।
सो पैसा र नक्कली सुनसमेत उठाएर हवल्दारद्वय नेपाली, बम अनि अरु व्यक्तिहरू बल्खुस्थित रोयल गेस्ट हाउस पुगे। त्यहाँबाट राति झन्डै १० बजे बा.१० च. ७९९२ नम्बरको पिकअप गाडी लिई उनीहरू भाग्न खोजेका थिए।
बल्खुको प्रहरी विटले शंका गरी चेकजाँच गर्दा नक्कली सुन र लुटिएको पैसा फेला पारेको थियो।
‘सोही क्रममा हवल्दार नेपाली भाग्न सफल भएका थिए,’ एसएसपी धानुकले भने, ‘पक्राउ परेका चार जनालाई परिसर ल्याइयो।’
उनीहरूलाई परिसर ल्याएर अनुसन्धान सुरू गरेपछि परिसरकै हवल्दार लुटपाटको घटनामा संलग्न रहेको खुल्यो।
धानुकका अनुसार पक्राउ परेकाहरूबाट भे.८ प. ६७४५ नम्बरको मोटरसाइकल, सुनजस्तो देखिने पहेँलो वस्तु, सुन जोख्न प्रयोग हुने तराजु, सुन काट्न प्रयोग हुने कैंची, हतकडी बरामद भएको छ। पक्राउ परेकाविरूद्ध ठगी एवं डाँका अभियोगमा कारबाही थालिएको परिसरले जनाएको छ।
ललितपुर प्रहरी परिसरले अहिले प्रहरी आन्तरिक शुद्धीकरण अभियान चलाइरहेको छ। यो अभियानमा प्रहरी नै लुटेरा भेटिएपछि परिसर प्रमुख धानुकले प्रहरीमाथि निगरानी बढाइएको बताएका छन्।
यो पनि हेर्नुहोस् :
अपहरण भएकै रात रानीबारी जंगलमा प्रयास कुँवरको हत्या