प्रहरीले २५ किलोग्राम चरेससहित बुटवलबाट चार जनालाई पक्राउ गरेको छ।
प्रदेश ५ प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले शनिबार राति १० बजे उनीहरूलाई बुटवल ९ इँट्टाभट्टाबाट पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय बुटवलले विशेष सुराकीको आधारमा चारै जनाको झोला खानतलासी गर्दा २५ किलोग्राम चरेस बरामद भएको जनाएको छ।
प्रहरीले जाजरकोट खलंगा गाउँपालिका वडा नं. ९ का ४४ वर्षका तिलक पुनबाट ६ किलोग्राम, जाजरकोटकै वारीकोट गाउँपालिका १ का २८ वर्षका टोपेन्द्र बोहराबाट ६ किलोग्राम, नल्गा गाउँपालिका वडा नं. २ का २८ वर्षका प्रेम विकबाट ७ किलोग्राम र बुटवल ११ का ४० वर्षका दिपेन्द्र घर्तीबाट ६ किलोग्राम गरी २५ किलोग्राम चरेस बरामद गरेको जानकारी दिएको छ।
उनीहरूले आधा/आधा किलोग्रामका लाप्सा बनाई बाँडेर झोलामा राखेको अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ ।