तपाईंले काठमाडौं वरिपरि परम्परागत ट्यांकी देख्नु भएको छ? यो इट्टाको जगमाथि ढुंगाले बनेको हुन्छ। अगाडि विभिन्न कलात्मक बुट्टाबीच एउटा सानो धारा पनि हुन्छ।
यस्तो संरचनाको नाम हो– ‘जलद्रोणी’।
यो संस्कृत शब्द हो। यसको अर्थ ‘पानी चुहिने ठाउँ’ भएको सम्पदाकर्मी रवीन्द्र पुरी बताउँछन्। अहिले अपभ्रंस भएर नेवारीमा ‘जरु’ भन्न थालिएको छ।
‘सहरलाई माथिल्लो, तल्लो र बीचको भागमा विभाजन गरिएको हुन्छ। विशेषगरी माथिल्लो भागमा पानी कम हुनाले यस्ता ट्यांकी र अन्य पानी सञ्चय गर्ने संरचना बनाइएको हुन्छ,’ उनले भने।
पुरीकाअनुसार यस्ता ट्यांकी लिच्छविकालीन र मल्लकालीन हुन्छन्। यो कुन समयमा बनेको भन्ने यसका बुट्टा र ढुंगाको शैलीबाट थाहा हुन्छ।
‘लिच्छविकालका ढुंगा चिप्ला बनाइएका हुन्छन्। मल्लकालमा त्यस्तो शिल्प हरायो। यसैले मल्लकालीन ढुंगा फुस्रो हुन्छ,’ उनले भने, ‘त्यसैगरी, मल्लकालका जलद्रोणीमा बढी बुट्टा हुन्छन् भने लिच्छविकालमा कम।’
यस्ता ट्यांकी विशेषगरी पूजाआजा र बाटो हिँड्ने बटुवाका लागि बनाइएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
‘जलद्रोणी विशेषगरी मन्दिर नजिक र सडकछेउ हुन्छन्,’ उनले भने, ‘यसमा धेरै पानी सञ्चय नहुने भएकाले विशेषगरी यो पूजाआजामा हात धुन र जल चढाउनकै लागि बनेको हो। बाटोमा हिँड्ने बटुवालाई पानी खुवाएर पुण्य कमाउनसमेत सडकछेउ यस्तो संरचना बनाइन्छ।’
जलद्रोणीको पछाडि पानी हाल्ने ठाउँ हुन्छ। एउटा सिंगो ढुंगालाई खाल्डो बनाएर पानी सञ्चय गर्ने ठाउँ बनाइएको हुन्छ। धौभडेलका अनुसार इनार वा हिटीबाट पानी ल्याएर ट्यांकीमा हालिन्छ। पानी भर्न गुठीलाई समेत जिम्मा लगाइएको हुन्थ्यो। यसको अगाडि धारामा छेस्को हालिएको हुन्छ। त्यही निकालेर पानी प्रयोग गर्न मिल्छ।
सम्पदाकर्मी पुरीका अनुसार वैज्ञानिक रूपमै पानी ‘अक्सिडाइज’ हुनुपर्ने भनिन्छ। यसमा त्यो सुविधा पनि हुन्छ।
‘बन्द गरिएको पानीभन्दा हावा छिर्ने वातावरण भएको पानी स्वस्थकर मानिन्छ,’ उनले भने, ‘यसको संरचना पनि त्यसैगरी बनाइएको हुन्छ। हावा छिर्ने ठाउँ प्रशस्तै हुन्छ।’
यस्ता ट्यांकी सडक विस्तारमा मासिने क्रम बढेको सम्पदा अभियन्ता सञ्जय अधिकारी बताउँछन्। केही साताअघि उनको समूहले पशुपतिस्थित एक ‘जलद्रोणी’ लाई पुनर्जीवन दिएको थियो।
‘यस्ता धारा निकै कम प्रयोगमा छन्। हामीले पशुपतिको एउटा ट्यांकीमा पानी हालेर हेर्यौं। अझै काम गर्ने खालको रहेछ,’ उनले भने, ‘प्रयोगमा नआएको भए पनि हामीले यसलाई संरक्षण गर्न जरुरी छ।’
यस्ता संरचना कुनै जीर्ण छन् त कुनैमा माथिको छोप्ने ढक्कनै नभएको उनले बताए। उनको समूह केही समयअघि सुनाकोठी अध्ययनमा व्यस्त रहेछ। त्यहाँ धेरै जलद्रोणी भेटिएको रहेछ। त्यो सडक विस्तार क्रममा मासिने समस्या देखिएको उनले बताए। अन्य सम्पदासँगै यसलाई पनि जोगाउन जरुरी भएको उनी बताउँछन्।
‘जरुले हाम्रो इतिहासको एउटा कालखण्ड बोकेको छ। त्यसलाई अन्य सम्पदासँगै जिर्णोद्धार गर्न जरुरी छ,’ उनले भने, ‘हामीले विकास क्रममा यस्ता ट्यांकीलाई सभ्यता नै मानेनौं। सम्पदा मानेर भए पनि यसको संरक्षण र अध्ययन सुरु गर्न जरुरी छ।’