ट्याक्सीमा वर्षौंदेखि व्याप्त बेथिति नियन्त्रण गर्न सरकारले दोषी चालकहरूको लाइसेन्स छ महिना निलम्बन गर्ने निर्णय गरेको छ।
यात्रुसँग मनलाग्दी भाडा उठाउने, भनेको ठाउँ जान नमान्ने, मिटर नचलाउनेजस्ता बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
ट्याक्सी चालकले पाँचपटकसम्म गल्ती गरे छ महिना लाइसेन्स निलम्बन गरिने महानगरीय ट्राफिक महाशाखा प्रमुख वसन्त पन्तले जानकारी दिए। यो अवधिमा उनीहरूले कुनै पनि सवारी चलाउन पाउने छैनन्।
यो व्यवस्था सवारी नियमसम्बन्धी कानुनमा पहिल्यैदेखि थियो। कार्यान्वयनमा भने आएको थिएन। ट्याक्सी चालकहरूबाट उपभोक्ता ठगिने क्रम बढेपछि लागू गर्ने निर्णय गरिएको ट्राफिक महाशाखा प्रमुख पन्तले बताए।
ट्याक्सी बेथिति रोक्ने उद्देश्यले कार्यान्वयनमा ल्याउन लागेको यो व्यवस्था अन्य सवारीका हकमा पनि लागू हुनेछ।
यसको सुरुआत बिहीबारबाट भइसकेको प्रमुख पन्तले जानकारी दिए। उनका अनुसार बिहीबार उपत्यकाबाट ८५ वटा ट्याक्सीलाई कारबाही गरिएको छ।
'आगामी दिनमा हामी अझै चुस्त कारबाही गर्छौं,' पन्तले भने, 'यसनिम्ति हामीले प्रहरी निरीक्षकको नेतृत्वमा विशेष टोली पनि खटाइसकेका छौं।'
यो टोलीमा २० देखि ३५ जना ट्राफिक प्रहरी हुनेछन्। उनीहरू सादा पोशाकमा गई ट्याक्सी चालकमाथि अनुगमन गर्नेछन्। यसका साथै उपत्यकामा तोकिएका ४८ वटा ट्याक्सी स्ट्यान्डमध्ये केही मुख्य ठाउँमा ट्राफिक प्रहरी ड्युटीमा खटाइएको पनि पन्तले जानकारी दिए।
यातायात व्यवस्था विभागले पत्र काटेर ट्राफिक महाशाखालाई पठाएपछि यो निर्णय औपचारिक रूपमा लागू हुनेछ। यातायात विभागका महानिर्देशक लावण्य ढकालले लाइसेन्स निलम्बनसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न शुक्रबार ट्राफिक कार्यालयलाई पत्र पठाउने जानकारी दिए।
यति मात्र होइन, कानुन तोड्ने चालकहरूका लागि जरिवाना बढाउनेबारे अध्ययन गरी प्रस्ताव पेस गर्न पनि यातायात विभागलाई निर्देशन दिइएको छ।
महानिर्देशक ढकालले यसका लागि नयाँ कानुन मस्यौदा भइरहेको बताए। उनका अनुसार नयाँ कानुनमा साविकको जरिवाना दर बढाइएको छ।
संसारका विभिन्न मुलुकले ट्याक्सी बेथिति रोक्न उच्च जरिवाना र लाइसेन्स निलम्बनको व्यवस्था लागू गरेका छन्। सफल पनि भएका छन्। हङकङ पछिल्लो उदाहरण हो।
कुनै पनि ट्याक्सी चालकले कानुन उल्लंघन गरे उजुरी गर्न सकिने व्यवस्था छ। त्यस्ता चालकले जरिवाना पनि तिर्नुपर्छ। तर, जरिवाना अत्यन्तै कम छ।
भनेको ठाउँ नजाने चालकलाई कानुनले पाँच सय रुपैयाँ जरिवाना तोकेको छ। मिटर नराख्ने, नचलाउने वा बिग्रेको छ भन्नेलाई लाग्ने जरिवाना पनि पाँच सय नै हो। मनलाग्दी भाडा लिनेलाई तीन हजारसम्म जरिवानाको व्यवस्था छ।
यी पनि हेर्नुहोस्:
ट्याक्सी ठगीको अनुपातमा यो जरिवाना नगन्य भएकाले विकृति नरोकिएको ट्राफिक प्रहरीहरू नै बताउँछन्।
‘जुन अनुपातमा ट्याक्सीको ठगी छ, त्यसको तुलनामा यो जरिवाना नगन्य हो,’ २९ वर्ष ट्राफिक सेवामा रहेर हालै अवकाश पाएका सीताराम हाछेथूले सेतोपाटीसँग भने, ‘दिनभरिमा सयौं यात्रु ठग्ने चालकले एकचोटि कारबाहीमा पर्दा पाँच सय वा पाँच हजार तिर्नु भनेको ठूलो कुरा होइन। त्योभन्दा कयौं गुणा बढी उनीहरूले ठगेरै कमाइसकेका हुन्छन्।’
उपत्यकामा १० हजार ५ सयभन्दा बढी ट्याक्सी दर्ता छन्। अधिकांशले ट्राफिक नियम उल्लंघन गर्दै आएको ट्राफिक महाशाखाकै तथ्यांकबाट देखिन्छ।
महाशाखाका अनुसार २०७४ वैशाखदेखि २०७५ साउनसम्म करिब ८ हजार ट्याक्सी चालक कारबाहीमा परे। यीमध्ये धेरैजसो तोकिएको ठाउँ र मिटरमा जान नमान्ने नै थिए।
सोह्र महिनामा आठ हजार ट्याक्सी कारबाहीमा पर्नु भनेको चानचुने कुरा होइन। यसले काठमाडौंमा ट्याक्सी बेथिति कुन हदसम्म फैलिएको छ भन्ने छर्लंग पार्छ।
अत्यन्तै कम हिसाब निकाल्दा पनि हरेक दिन ट्याक्सी चालकहरूबाट २५ लाख रुपैयाँभन्दा बढीको ठगी भइरहेको हाछेथूको अनुमान छ।
‘हामीले एक दिनमा बढीभन्दा बढी २५–३० वटा ट्याक्सीलाई कारबाही गर्ने हो। बाँकी त यात्रुलाई ठगेर खुलेआम घुमिरहेकै छन्,’ राजधानीमा गुड्ने ट्याक्सी र दैनिक कारबाहीको मोटामोटी हिसाब कोर्दै उनले भने, ‘काठमाडौंमा सरदर पाँच हजार ट्याक्सी दैनिक सडकमा हुन्छन्। एउटाले दिनको ५ सय मात्र ठग्यो भने पनि २५ लाख रुपैयाँ हुन्छ। यसको दाँजोमा जरिवाना अत्यन्तै थोरै हो।’
जरिवाना पटके रूपमा बढ्दै जानुपर्ने र निश्चित समयपछि चालक लाइसेन्स र ट्याक्सी इजाजत नै खारेज गर्नुपर्ने उनको सुझाव छ।
उनका अनुसार एकपटकको कारबाहीमा ५ हजार र दोस्रोपटक गल्ती गर्नेलाई १० हजार रुपैयाँ जरिवाना तिराउनुपर्छ। तेस्रोपटक पनि कारबाहीमा परे २० हजार घटी छाड्नुहुन्न।
जरिवाना निर्धारण गर्ने अधिकार यातायात विभागलाई छ। ट्राफिकको काम प्रस्ताव गर्ने मात्र हो। ‘हामीले धेरैपटक चिठी पठाएर जरिवाना बढाउन आग्रह गरे पनि उहाँहरूले मान्नुभएन,’ हाछेथूले भने, ‘ट्याक्सी मात्र होइन, अरू सवारी नियम मिच्नेको जरिवाना पनि बढाउन भनेका हौं। खै कहिले बढाउने हो?’
ट्याक्सी चालकहरूमा ठगीको मनोबल घटाउन अन्य केही कार्यक्रम लागू गर्नेबारे पनि छलफल भइरहेको छ।
हरेक ट्याक्सी स्ट्यान्डमा गन्तव्यअनुसार भाडाको सूची राख्ने हो भने यात्रुलाई जानकारी हुन्छ, ट्याक्सी चालकहरू पनि हच्किन सक्छन्। त्यही बोर्डमा ट्राफिक प्रहरी र उजुरी गर्ने ठाउँको नम्बर पनि राख्न सके चालकहरूमाथि मानसिक दबाब बढ्नेछ। यति मात्र नभएर, चालकले के–के गर्दा उजुरी दिन सकिन्छ भन्ने पनि बोर्डमा लेख्न सकिन्छ।
‘यिनै विवरणसहितको स्टिकर ट्याक्सीबाहिर र भित्र टाँस्न लगाउन सके अझ राम्रो। यसले उपभोक्ता पनि कतै म ठगिएको त छैन भनी सोच्न प्रेरित हुनेछन्। कुनै चालकले भाडामा कचकच गरे तुरुन्तै ट्राफिक प्रहरीलाई उजुरी गर्न सक्छन्,’ हाछेथूले भने, ‘कसैले स्टिकर टाँस्न मान्दैन भने उसलाई तत्काल तीन–चार हजार जरिवाना तिराउन सकिन्छ।’
जरिवानापछि मापसे (मादकपदार्थ सेवन) कारबाहीजस्तै अनिवार्य रूपले सचेतना कक्षा लिन लगाउनुपर्ने उनले बताए।
ट्याक्सी चालकलाई विभिन्न नाममा दिइँदै आएको छुट पनि हटाउनुपर्छ।
ट्याक्सीलाई राति ९ देखि बिहान ६ बजेसम्म साविकभन्दा डेढ गुणा बढी भाडा लिन छुट छ। सार्वजनिक सवारीलाई नभएको यो सुविधा ट्याक्सीलाई मात्र किन भन्ने प्रश्न उठेको छ।
ट्याक्सीले रिङरोडभन्दा दुई किलोमिटर पर जाँदा मिटर चलाउनु नपर्ने नियम पनि छ। यसले आफूखुसी भाडा लिन प्रेरित गर्छ। यही आडमा चक्रपथबाहिर जानुपर्ने यात्रु धेरै ठगिन्छन्।