काठमाडौंको रातोपुलमा गोली चलाई नियन्त्रणमा लिइएका राजन लिम्बू १२ वर्षदेखि विभिन्न ठाउँमा डकैतीका घटना गराउने गिरोह रहेको पत्ता लागेको छ। महानगरीय अपराध महाशाखाले २०६२ सालयता लिम्बूको आपराधिक गतिविधिको फेहरिस्त सार्वजनिक गरेको हो।
इटहरीका लिम्बूलाई शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले रातोपुलमा गोली हानी नियन्त्रणमा लिएको छ। पक्राउ गर्न गएको टोलीमाथि गोली चलाउन खोजेपछि जवाफी कारबाही गरिएको महाशाखा प्रमुख धीरजप्रताप सिंहले सेतोपाटीलाई बताए।
सिंहका अनुसार लिम्बूको साथबाट एक पेस्तोल र ४ राउन्ड गोली बरामद भएको छ। खुट्टामा गोली लागेका लिम्बूको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
लिम्बूको आपराधिक पृष्ठभूमि लामो रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लिम्बू २०६२ सालको लुटपाट घटनामा पहिलोपटक संलग्न थिए।
यसअघि उनी जेलमा थिए। भक्तपुर दत्तात्रयका माधव नेपालीको हत्यामा लिम्बूले कैद भुक्तान गरिसकेका थिए।
अन्तिमपटक गत मंसिर १२ गते उनले सुनसरी इटहरीस्थित आइएमइबाट एक व्यक्तिलाई छुरा प्रहार गरी तीन लाख रुपैयाँ लुटेका थिए। सो मुद्दामा उनी फरार लिम्बूलाई प्रहरीले खोजी गरिरहेको थियो।
महाशाखा प्रमुख सिंहका अनुसार ४६ वर्षका लिम्बू काठमाडौं-२९ अनामनगर अस्थायी रुपमा बस्थे। इटहरी नगरपालिका-५ घर भएका लिम्बू राजधानी तथा बाहिर लुटपाटका घटना गराउँथे। उनी विभिन्न मुद्दामा फरार थिए।
महानगरीय प्रहरी परिसरबाट डाँका मुद्दामा फरार प्रतिवादी थमन गुरुङ समेतका ६ जनाको समूहले हातहतियार देखाएर सन्तोष लिम्बूलाई २०६२ कात्तिक २ गते नियन्त्रणमा लिई डकैती गरेका थिए। नगद तथा जिन्सी डाँका गरी लगेको भनी उनीसमेतलाई कारबाहीको जाहेरी परेको थियो।
२०६३ साउन ३० गते काँठमाडौं परिसरबाट मुद्दा दायर भएकोमा उनी फरार थिए। गेस्ट हाउसबाट हतियार देखाई ८६ हजार ५ सय रुपैयाँ डकैती गरेको उजुरी परिसरमा परेको थियो।
२०६३ असोज २१ गते गेस्ट हाउसको काउन्टटरमा गएर पेस्तोल देखाएर ३ लाख ६१ हजार बराबरको धनमाल लुटेको मुद्दामा लिम्बू फरार थिए।
२०६३ भदौ २० गते नै लिम्बू समेतले काठमाडौंका एक व्यक्तिको कार्यालय छिरेर पेस्तोल देखाई ११ लाख ३० हजार ९२२ रुपैयाँ डकैती गरेका थिए। सो मुद्दामा उनी फरार थिए।
यस्तै, २०७३ फागुन १५ गते झापा काँकडभिट्टामा डाँका गरेको फेला परेको छ। उनले पूर्णबहादुर लुङ्गेली मगरसमेतका व्यक्तिहरूको साथबाट एक लाख रुपैयाँ लुटेको जाहेरी परेको थियो।
यी सबै घटनाको पृष्ठभूमि अध्ययन गरिरहेको महाशाखाले शुक्रबार पक्रन खोज्दा दोहोरो भिडन्त गराउन खोजेको र त्यसक्रममा जवाफी कारबाही गरिएको जनाएको छ।