गत मंसिर २१ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ जहदास्थित खेतमा मृत अवस्थामा फेला परेका अशोक मुसहरको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय बुटवलले बुधबार पत्रकार सम्मेलन गरी मुसहरको हत्या अभियोगमा तिलोत्तमा ७ दल्काका २२ वर्षीय शिवपुजन थारुलाई पक्राउ गरेको जानकारी गराएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले मंसिर १९ गते गाउँमा भएको बिहेमा थारु र मुसहरको बीचमा सामान्य विवाद भएको र सोही राति नै थारुले मुसहरलाई मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट देखिएको बताए।
थापाले पक्राउ परेका थारु उपर ज्यानमुद्दा दर्ता गरी थप अनुसन्धान सुरू गरिएको बताए।
त्यसैगरी गत २१ गते रुपन्देहीको देवदहमा ५ वर्षीय बालिकालाई बलात्कर गरेको अभियोगमा पक्राउ परेका देवदह ७ बस्ने १९ वर्षीय जीवन खत्रीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।