सडकमा जथाभावी रूपमा टाँगिएका तारका कारण कुरूप र दुर्घटनाको जोखिम बढेपछि पोखरा महानगरपालिकाले तार हटाउन सुरू गरेको छ।
अव्यवस्थित रूपमा टाँगिएका तारका कारण सर्वसाधारण मात्र हैन स्वयम महानगर पनि समस्यामा पर्दै आएको थियो।
नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, टेलनेट प्रालि इन्टरनेट सेवा प्रदायक संस्था, केबल व्यवसायी लगायतका संस्थाहरूसहित मंगलबार महानगरमा बसेको बैठकले तार व्यवस्थापन गर्न सहजीकरण समिति गठन गरेको थियो।
बिहिबार पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सिद्धार्थ चोकको पोलमा टाँगिएको तार काटेर तार हटाउने कार्य सुरू गरे।
पहिलो चरणमा बीपी चोकबाट सभागृह हुँदै नयाँबजार र सिर्जना चोक, हल्लनचोकमा तार व्यवस्थित गर्ने योजना छ। मेयर जिसीले आफ्नो तार आफैं व्यवस्थापन गर्नुपर्ने उनले सुनाए।
तार व्यवस्थापनको राम्रो विकल्य अन्डर ग्राउन्ड गर्नु नै रहे पनि तत्काल सर्वसाधारणमा महानगर यसप्रति चिन्तित छ भनेर सकारात्मक सन्देश दिनु रहेको उनले सुनाए।
अव्यवस्थित तारका कारण पोखरामा दुर्घटनाको जोखिम बढ्दो छ। पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रशासकीय प्रमुख अधिकृत शेषनारायण पौडेलसहित बसेको बैठकले महानगरका उपसचिव तथा सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार सहजीकरण समिति गठन गरेको थियो ।