साना मांसाहारीको खोजी
तीनजुरे–मिल्खे–जलजले।
पूर्वी नेपालका यी ठाउँमा केही अनुसन्धाताहरूले ‘क्यामरा ट्रयाप’ थापे। यो क्यामराको अगाडिबाट कुनै जनावर हिँड्यो भने त्यसको तस्बिर खिचिन्छ। उनीहरूको उद्देश्य साना मांसाहारीको तस्बिर खिच्नु थियो। मासु खाएर बाँच्ने न्याउरी मुसा, जंगली बिरालो, हाब्रे, मलसाप्रोजस्ता साना जनावर।
क्यामराको पासो थाप्न सहज हुँदैन। अनुसन्धाताहरूले पहिला रोजेको ठाउँको नक्सा बनाए। जनावरका पाइला, दिशा र अन्य चिह्न पहिल्याए। स्थानीयबासीसँग सोधपुछ गरे।
जंगलमा क्यामरा राख्दै जनावरका फोटा खिच्न हिँडेको यो टोली ‘फ्रेन्डस अफ नेचर’ अर्थात प्रकृतिका साथी नामक संस्थाका हुन्। टोलीमा राजु आचार्य, यादव घिमिरे, सोम जिसी, जीवन राई र कौशल यादव थिए।
यो काम गर्न उनीहरू करिब एक महिना जंगलमै बस्नुपर्यो। उनीहरूले बाटामा पर्ने जंगल, बजार, डाँडालगायत जनावर हिँड्ने ठाउँ पहिल्याउँदै ३० वटा क्यामराको पासो थापे।
क्यामरा राख्ने क्रममा उनीहरूले जंगलमा केही शिकारी देखेछन्। बन्दुक पड्केको आवाज सुनेछन्। उनीहरूलाई डर थियो– कतै यी जनावर शिकार भइसकेका त छैनन्? साना मांसाहारी नभेटिने पो हुन् कि?
डरै डरमा उनीहरूले क्यामरा राख्दै गए। पछि त्यसमा कैद भएका तस्बिर हेरे।
क्यामरामा पाँचवटा विभिन्न साना मांसाहारीका तस्बिर थिए- हाब्रे (रेड पाण्डा), सुनौलो बिरालो, मलसाप्रो, चरी बाघ र गंगटे न्याउरी मुसा।
यी तस्बिरले अनुसन्धादाताहरूलाई चकित पार्यो।
‘स्थानीयबासी र त्यहाँका संस्थाले रेड पाण्डा यो ठाउँबाट लोप भइसक्यो भनेका थिए। हाम्रो क्यामरामा देखियो,’ अनुसन्धातामध्येका जीवनले भने, ‘हामीले सुनौलो बिरालोको तस्बिर पनि फेला पार्यौं। यो नेपालकै लागि दोस्रो तस्बिर थियो।'
उनका अनुसार विश्वकै अग्लो उचाइ (२७०० मिटर) मा पाइने गंगटे न्याउरी मुसा पनि उनीहरूले फेला पारे। मलसाप्रो भेटे।
'मलसाप्रो हाम्रो क्यामराले सबभन्दा बढी तस्बिर खिचेको जनावर थियो,' उनले भने, 'चरी बाघ पनि क्यामरामा थियो। तर हामीले सोचेको भन्दा कम।’
मांसाहारी जनावर भन्नेबित्तिकै हाम्रो दिमागमा चितुवा, बाघलगायत आउँछन्। यिनकै संरक्षणमा जोड दिइएको हामी सुन्छौं। विश्वभरका सयौं संस्था यिनको संरक्षणनिम्ति काम गर्दै आएका छन्। साना मांसाहारीमा भने खास चासो देखिँदैन। न्याउरी मुसा, सर्प लगायत जनावर देख्यो कि मार्न तम्सिन्छौं।
'कुनै बाघ मार्नेलाई कारबाही हुन्छ भने यी साना मांसाहारी मार्नेलाई पनि हुनुपर्छ,' जीवनले भने, 'संरक्षण त परको कुरा, हामीले पर्याप्त अध्ययन-अनुसन्धान पनि गरेका छैनौं।'
उनका अनुसार साना मांसाहारीले मानिसले हानिकारक मान्ने जनावर संख्या नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। फलफूलका बीउ फैलाउने काम पनि गर्छन्।
‘ठूला मांसाहारी लोप भए तिनको पर्यावरणमा हुने कमी पनि साना मांसाहारीले पूरा गर्ने रहेछ,’ उनले भने, ‘यसको महत्व थाहा नभएर कतिले यी जनावर मन पराउँदैनन्। मार्छन्। कतिले पैसाको लालचमा शिकार गर्छन्।’
तीनजुरे–मिल्खे–जलजलेको अनुसन्धान क्रममा पनि उनीहरूले जंगलमा शिकारी भेटेका थिए।
शिकारीले किन शिकार गर्छन्? सोखका लागि या स्रोत नपुगेर?
‘सोखका लागि शिकार गर्ने हो भने त्यो निषेध गर्नुपर्छ। स्रोत नपुगेर हो भने आयस्रोत विकास गर्दै सरकारले विकल्प दिनुपर्छ,’ अर्का अनुसन्धाता यादवले भने, ‘जनावर संरक्षणमा बेलैमा ध्यान दिइएन भने हाम्रो पर्यावरण बिग्रँदै जान्छ। यसले हामी मानवलाई नै हो असर गर्ने।'
उनका अनुसार ‘ढोरपाटन हन्टिङ रिजर्भ’मा ट्रफी हन्टिङ भनेर झारल, ब्लु सिप लगायत जनावर मारिन्छ। सरकारलाई कर नै तिरेर शिकार गरिन्छ। उनीहरूको टाउको, छाला सजावटका लागि लगिन्छन्। त्यसबाट सरकारले कर पाउँछ, जुन जंगल संरक्षणमा खर्च हुन्छ।
‘यो तरिका वैज्ञानिक नै छैन। तर जनावरका चुनौती यति मात्रै होइनन्,’ उनले भने, ‘आधुनिकीकरण, जंगल फँडानी लगायत कारण पनि छन्।’
ठूला जनावरमा ध्यान दिँदा त जोखिममा परिरहेका बेला साना मांसाहारीको त झन् अध्ययन-अनुसन्धान नै भएको छैन। यादवका अनुसार अनुसन्धान क्रममा क्यामरा ट्रयापले खिचेका ती जनावरको रेकर्डमा समेत बेवास्ता गरिन्छ।
यस्ता क्यामराले आफ्नो अगाडि केही हलचल भए तस्बिर खिच्छ। यही खिच्ने भन्ने हुँदैन। सेन्सरले हलचल भएको संकेत पाउनेबित्तिकै तस्बिर बन्छ। त्यसमा मानिस पनि हुन्छन्, जनावर पनि।
बाघ, चितुवा लगायतको अध्ययन हुँदा साना मांसाहारीको तस्बिर पनि क्यामरामा परेको हुन्छ। ती भने कहिल्यै रेकर्ड गरिन्नन्।
‘ती जनावरको वास्तै गरिन्न,’ यादवले भने, ‘यो विषयमा कसैले जर्नल पनि निकाल्दैनन्। पत्रिकामा पनि छाप्दैनन्। अभिलेख पनि हुँदैन। त्यसैले कुन ठाउँमा कस्ता साना मांसाहारी पाइन्छन् भन्ने तथ्यांक पाउनै मुश्किल छ।’
नेपालमा पाइने लोपोन्मुख साना मांसाहारीमा हाब्रे, मलाहा बिरालो (फिसिङ क्याट), सिलु बिरालो (स्पोटेड लिन्साङ), चरी बाघ (लियोपार्ड क्याट) लगायत पर्छन्। त्यसमा पनि कति जनावर त छन् वा छैनन्, यकिनै छैन। त्यस्ता जनावरलाई ‘डाटा डेफिसियन्ट’ का रूपमा राखिएको छ।
यादवले डाटा डेफिसियन्टको एउटा उदाहरण दिए।
सन् १८४० तिर नेपालमा ब्रान हड्सन भन्ने विदेशी आएका थिए। उनले चितवनमा सिलु बिरालो (स्पोटेड लिन्साङ) देखेको भनेर आफ्ना लेखमा उल्लेख गरे।
‘देखेका हुन् वा होइनन् लेखका आधारमा त थाहा हुन्न,’ उनले एक तस्बिर देखाउँदै भने, ‘नेपालका लागि पहिलो फोटो भनेकै यही हो। हामीले लमजुङको भुजुङ भन्ने गाउँमा क्यामरा ट्रयाप थाप्दा भेटेको।’
यसैले कति जनावर छन् वा छैनन् भन्न नसकिने उनले बताए।
त्यसो त क्यामरा ट्रयापका पनि आफ्नै समस्या हुन्छन्। अर्का अनुसन्धाता कौशलका अनुसार क्यामरा चोरी हुने, फुटाएर छाडिदिने, मेमोरी कार्ड मात्रै पनि झिकिदिने लगायत समस्या हुन्छन्। तीनजुरे–मिल्खे–जलजले अनुसन्धानमा प्रयोग भएका ३० क्यामरामा भने केही समस्या नभएको उनले बताए।
‘यो हाम्रो रेकर्डमै पहिलो हुनुपर्छ,’ कौशलले भने, ‘नत्र हामी क्यामरा हराउँछ भन्ने जोखिम लिएरै हिँडेका हुन्छौं।’
उनका अनुसार जंगलमा प्रयोग गर्न करिब २०० डलर पर्ने क्यामरा किन्न सकिन्छ। महँगा–सस्ता सबै खाले पाइन्छ।
‘कास्कीको सिक्लेसमा २५ क्यामरा राखिएको थियो। ९ वटा हराए,’ उनले भने, ‘कतिले त क्यामराको दिशा नै परिवर्तन गरिदिन्छन्। त्यो बीचको तथ्यांक नै हेर्न पाइएन नि।’
साना मांसाहारीको अनुसन्धानमा सहभागी भए पनि कौशलको अध्ययन हिमाली कालो भालु (एसियाटिक ब्ल्याक बियर) मा रहेछ। उनका अनुसार यो १८ सय देखि ४ हजार मिटरमा पाइन्छ। मकै खाइदिने, बाली नष्ट गरिदिने र घर छेउछाउ आउने भएकाले मानिसले मन पराउँदैनन्। यसमा अनुसन्धान भइरहेको र लोप नै हुने क्रम भने नरहेको उनले बताए।
क्यामरा हराउने प्रसंगमै यादवले एउटा घटना जोडे।
‘एकपटक एकजनाले क्यामरा ट्रयाप घरमा लग्नुभएछ। केही दिनपछि जहाँको त्यहीँ ल्याएर राख्नुभयो। क्यामराको दिशा नै उल्टो फर्काइदिनुभएछ,’ उनले भने, ‘मेमोरी कार्ड हालेर हेर्दा त त्यो मान्छेको तस्बिर, घरको भित्ता लगायत तस्बिर थिए। जनावरको थिएन। मानिसहरू धेरै जिज्ञासु भएर पनि समस्या हुने।’
‘फलाम र साङ्लोले बाँधेर राख्छौं। त्यही पनि चोरी हुन्छ,’ जीवनले थपे, ‘क्यामराभन्दा पनि तथ्यांक महत्वपूर्ण हुन्छ। बीचमा कुनै जनावर पो हिँड्या थियो कि? केही छुट्यो कि भन्ने भइरहन्छ।’
क्यामराको सेन्सरले हलचल भएको थाहा हुनेबित्तिकै खिच्ने भएकाले महिना दिनमा धेरै तस्बिर हुन्छन्। त्यसमा मानिस, अरू जनावर चरासँगै घाम डुबेको, अस्ताएको छायासमेत हुने रहेछन्। ती तस्बिर हजारौं हुन्छन्। करिब २० हजारसम्म परेको रहेछ। यसैले तस्बिर नछुटाइ हेर्नु अर्को झमेला।
एकपटक उनीहरुले सिक्लेसको एक गोठमा ध्वाँसे चितुवा (क्लाउडेड लियोपार्ड) का लागि पासो थापेका रहेछन्। बीचमा चौर अनि वरिपरि जंगल। यस्तो चौरमा के पर्यो होला र भन्दै क्यामरा हेरे। ६ हजार तस्बिर रहेछन्।
‘पछाडिबाट हेर्दै आएको ३/४ हजार फोटो पुगेपछि हातै दुख्यो। कौशललाई हेर्न दिएँ,’ यादवले भने, ‘पछि २५, २० हुँदै फोटो संख्या घट्दै गयो। अन्तिममा देखियो, क्यामरा ट्रयाप राखेर ‘वाक टेस्ट’ गरेपछिको पहिलो फोटो नै चितुवाको रहेछ। यसैले कुनै फोटो छाड्नै मिल्दैन।’
यादवको अनुसन्धान ध्वाँसे चितुवामा केन्द्रित छ। उनका अनुसार यो जनावर हत्तपत्त देखिँदैन। बादरझैं रुखमा चढ्छ, बाक्लो जंगलमा बस्न रुचाउँछ। धेरै मानिसले देखेका हुँदैनन्। देखेकाले पनि चिन्दैनन्। यसैले यसका लागि क्यामरा ट्रयाप पनि लामो समय राख्नुपर्ने उनको अनुभव छ।
करिब १ वर्षअघि उनीहरुले लम्जुङमा ५३ वटा क्यामरा ट्रयाप थापेछन्। ५ वटा हरायो। बाँकी ४८ मध्ये ४ वटाले चितुवाको तस्बिर खिचेछ।
‘अनुसन्धानको केही महिनामै तस्करबाट पुलिसले ध्वाँसे चितुवाको छाला भेटायो,’ यादवले भने, ‘यसको तस्करी पनि धेरै हुन्छ। यसैले यति नै छ भन्ने अवस्था नै छैन।’
यसरी विभिन्न जंगली जनावरको अनुसन्धान र संरक्षणमा ‘फ्रेन्ड्स अफ नेचर’ ले भूमिका खेलिरहेको छ। त्योबाहेक ‘ग्रिन स्कुल’ परियोजनामार्फत बालबालिकालाई वातावरणबारे जनचेतना फैलाउँछ। प्रत्यक वर्ष ‘उल्लू महोत्सव’ पनि गर्छ। विश्वमा अमेरिका, इट्ली र नेपाल गरी तीन देशमा यो महोत्सव हुने कौशलले बताए। यो वर्ष खोटाङमा हुँदैछ।
‘उल्लू हेपिएको चरा हो। मानिसले गाली गर्नुपर्यो भने उल्लूको नाम लिन्छन्,’ उनले भने, ‘तर यसले कृषिमा सहयोग पुर्याइरहेको हुन्छ। त्यही किसानको साथीको महत्व दर्शाउँदै हामी महोत्सव गर्छौं।’
यिनै विविध जनावरमा दख्खल राखे पनि साना मांसाहारीमा धेरै काम गर्न बाँकी रहेको उनीहरू बताउँछन्। यही विषयमा जीवनले त भिडियो नै बनाए। यो वर्षको किम्फ (काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल) मा समेत छनोट भएको थियो।
करिब ६ मिनेटको ‘स्मल कार्निभोर्स’ नामक भिडियोले उनको निर्देशकीय खुबी झल्काउँछ। तर फिल्मभन्दा पनि आफूले गरिरहेको काम उनी महत्वपूर्ण ठान्छन्।
‘फिल्म जनचेतना फैलाउने शक्तिशाली माध्यम हो। तर अर्को फिल्म बनाउँछु-बनाउँदिन भन्न सक्दिनँ,’ उनले भने।
नेपालमा जनावरका वृत्तचित्र कम बन्छन्। जीवनको यो वृत्तचित्र ‘टर्निङ पोइन्ट’ हुन सक्छ। फिल्म निर्देशनमा चासो भए पनि त्यसैलाई पेसा बनाउने मनसायमा भने उनी छैनन्।
‘धेरै कुराको चासो हुँदा बिग्रिन्छ,’ उनले हाँस्दै भने, ‘मेरो पहिलो प्राथमिकता मेरो पेसा र जनावर नै हुन्।’
तीनजुरे–मिल्खे–जलजलेको अनुसन्धान पछि उनीहरूले स्थानीयलाई पनि उक्त भिडियो देखाए। त्यहाँका जनावर चिनाए। महत्व बुझाए। पर्चाहरू दिए। स्कुलका पुस्तकालयमा पनि पुस्तक र पर्चाहरू छाडे।
उनीहरुका अनुसार सरकारले जनावरको संरक्षणमा धेरै काम गरिरहेको छ। निकुञ्ज बनाउनुदेखि अवैध शिकार रोक्न पहल गरेको छ। केही अनुसन्धान पनि गरिरहेको छ।
‘तर ठूला जनावरको मात्र नभई सानाको पनि महत्व बुझेर अनुसन्धान गरे झनै राम्रो हुन्थ्यो,’ उनीहरूले भने, ‘साना मांसाहारीको अध्ययनमा ध्यान दिन जरुरी छ।’