प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको अवलोकन गरेका छन्।
बुटवल उपमहानगरपालिकाले जितगढीमा विशेष गुरुयोजना बनाएर काम अगाडि बढाइरहेका बेलामा सेनापतिसहितको विशेष टोलीले यहाँको अवलोकन गरेको हो।
त्यसक्रममा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउने लगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराएका थिए।
उनले जितगढीमा नेपाली सेनाले पनि नियमित ड्यूटी गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र तत्कालीन अवस्थाको युद्धकला झल्किने संग्रहालयका लागि पनि सहयोग गर्न प्रधानसेनापति समक्ष आग्रह गरे।
बुटवलले जितगढीलाई राष्ट्रियताको प्रतीक र बुटवलको पहिचानका रूपमा विकास गर्न लागिएको भन्दै सबैको सहकार्यको खाँचो रहेको बताए ।
प्रधानसेनापति थापाले बुटवल उपमहानगरपालिकाले अगाडि सारेको अभियानको सराहना गर्दै त्यसलाई पूरा गर्ने काममा आफूहरूले पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै, उनले नेपाल एकीकरणपूर्व र पश्चातका विभिन्न किल्लाहरू, सामरिक महत्वका क्षेत्रहरू, गढीहरूलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको जानकारी दिए।
जितगढीको विकासका लागि मणिमुकुन्द सेन दरबार क्षेत्र, नुवाकोट गढी, पाल्पाको तानसेनक्षेत्र, स्यूराज, अर्घाखाँचीस्थित पृथ्वीनारायण शाहको मावलीलगायतका क्षेत्रहरूलाई जोडेर इतिहास जीवित राख्ने क्षेत्रका रूपमा विकास गरिने प्रधानसेनापतिको भनाइ थियो।
नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीयस्थलको रूपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले उजिरसिंहको ९ फिट उचाइको तामाको पूर्णकदको शालिक र ९ फिट उचाइकै झण्डा बनाएर राख्न थालेको छ।
वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरपालिकाले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो ।
जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसंग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना रहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
सेनापतिसहितको टोलीलाई बुटवल उपमहानगरका प्राविधिकहरु धर्मराज ढकाल, मधु ज्ञवाली, रुक्मागत बस्याल लगायतले जितगढीको गुरुयोजनाका बारेमा जानकारी गराएका थिए । त्यस्तै वडा नं. १ का अध्यक्ष महेन्द्र लिगल, २ का अध्यक्ष रमेश नेपाल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देललगायतले स्थानीय अवस्थाका बारेमा जानकारी गराएका थिए ।