कर्णाली प्रदेशमा रहेका कारागारहरूमा पुस्तकालय स्थापनाका लागि अभियान सुरू भएको छ।
अभियान सञ्चालनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ। बुधबार कार्यालयले कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा समिति गठन गरेको हो। समिति संयोजकसहित १३ सदस्यीय रहेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार खड्काका अनुसार समितिमा, विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई समावेश गरिएको छ। समितिको सहसंयोजकमा किडार्कक नेपालका सुशिला श्रेष्ठ रहेकी छन्।
यस्तै, सदस्यहरूमा ओमप्रकाश थापा, निर्मला खत्री, उमेश खनाल, कमल भुषाल, प्रतिमा परियारलगायत रहेका छन्।
समितिको बुधबार पहिलो बैठक बसेको उनले जानकारी दिए। अबको दोस्रो बैठकपछि कारागारहरूमा पुगेर प्रतिक्रिया लिन र पुस्तक संकलन गर्न सुरू गरिने डिएसपी खड्काले बताए। समितिको दोस्रो बैठक यही पुस १९ गते तोकिएको छ।
कर्णाली प्रदेशमा जम्मा रहेका दश वटा कारागारहरू रहेका छन्। ती कारागारमा रहेका कैदीहरूलाई पढ्नका लागि आवश्यक किताब संकलन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत रही ‘कारागारलाइ किताब’ अभियान सञ्चालन गर्न लागिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अभियानअन्तर्गत पहिलो चरणमा सुर्खेतको कारागारमा पुस्तकालय स्थापना गरिने प्रदेश प्रहरी प्रमुख तथा अभियान सञ्चालक समितिका संयोजक डिआइजी महेशविक्रम शाहले बताए।
‘हामीले अभियान लगभग सुरू गरिसकेका छौं, पहिलो चरणमा सुर्खेतको कारागारमा लाइब्रेरी स्थापना गर्नेछौं,’ उनले भने, ‘त्यसपछि क्रमश: अन्य जिल्लाहरूमा अभियानअन्तर्गतका काम गर्नेछौं।’
अभियानबारे थाहा पाएका व्यक्तिहरूले सहयोग गर्नका लागि सम्पर्कमा आइसकेको उनले बताए।
‘अभियानको बारेमा मिडियामा आइसकेपछि जसले थाहा पाउनुभएको छ, उहाँहरू सम्पर्कमा आइरहनुभएको छ,’ डिआईजी शाहले भने, ‘धेरै ठाउँबाट सहयोगको आश्वासन पाएका छौं, यसको मतलब अभियान सुरू गरेको सार्थक छ र अभियान सफल हुन्छ भन्ने हामीलाई लागेको छ।’
अभियान सञ्चालनका क्रममा किताब संकलन गर्ने र पछि ती किताबहरू छान्ने उनले जानकारी दिए।
शाहका अनुसार सहयोगदाताहरूले उपलब्ध गराएका सबै किताबहरू लिने र त्यसपछि कारागारमा रहेका कैदीहरूलाई पढ्न उपयुक्त हुने किताबहरू जम्मा गरिने छ। पुस्तकालय स्थापनाका लागिग कुनै व्यक्तिले रकम दिएमा पनि लिने र त्यसबाट किताब किन्ने उनले बताए ।
‘पहिलो काम दाताहरूले जस्तो किताबहरू दिनुहुन्छ ती सबै संकलन गर्छौं, त्यसपछि छान्ने काम गर्छौं,’ डिआइजी शाहले भने, ‘केही किताबहरू कारागारमा राख्न नपर्ने खालका हुन पनि सक्छ, कैदीहरूका लागि ज्ञानवर्द्धक, सीपमुलक, जीवन उपयोगी किताबहरू छानेर पुस्तकालयमा राखिदिन्छौं।’
कैदीहरुलाई आफूले सजाय भोगेर बाहिर आइसकेपछि समाजमा घुलमिल हुन त्यस्ता किताब अध्ययनबाट केही सहज हुने उनले बताए।
कर्णाली प्रदेश प्रहरीले सञ्चालन गरेको यस्तो अभियानबाट सिकेर अन्य प्रदेशले पनि सम्बन्धित अभियान चलाओस् भन्ने उद्देश्य आफूहरुको रहेको डिआइजी शाहको भनाइ छ।
उनले सबै कारागारहरूमा पुस्तकालय स्थापनापछि निरन्तर अनुगमनका साथै अन्य आवश्यक किताबहरू थप गरिने पनि बताए ।
कर्णाली प्रदेशका सबै जिल्लाको भ्रमणका क्रममा कारागारमा किताबको आवश्यकता खड्किएको पाएकोले उत्प्रेरणा, उत्साह दिने र जीवनबारे बुझाउने खालका पुस्तकहरु व्यवस्था गर्न अभियान सुरू गरिएको डिआइजी शाहले बताएका छन् ।