मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्ल काममा फर्किएका छन्।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मल्लले बिहिबारदेखि कामकाज सुरू गरेका हुन्।
सर्वोच्चले मंगलबार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिका नाममा मुद्दाको टुंगो नलागेसम्मका लागि कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो।
पदीय दायित्व पूरा नगरेको, विद्यार्थी प्रयोग गरेर आफ्नो अपहरण गर्ने प्रयास गरेको, कालो मोसो दल्ने प्रयास गरेकोलगायतका आरोप लगाएर विश्वविद्यालय सभाका १० जना सदस्यको हस्ताक्षरसहित उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रजिष्ट्रार हटाउन निवेदन दिएका थिए । सोही अनुसार रजिष्ट्रार मल्ललाई मंसिर १९ गते निलम्बन गरिएको थियो।
उनको ठाउँमा यामबहादुर कार्कीलाई नियुक्त गरिएको थियो ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि रजिष्ट्रार मल्ललाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो।
बिहिबार सुर्खेत आइपुगेका मल्ललाई विमानस्थलदेखि बजार परिक्रमा गराएर विश्वविद्यालयको केन्द्रीय कार्यालय पुर्याइएको थियो।
रजिष्ट्रार मल्लले आफूमाथि अनावश्यक आरोपहरू लगाएर हटाउन खोजिएको दाबी गरेका छन्।