कालिकोटको पलाँता गाउँपालिका–१ खाँडा न्यौपाने वडामा भएको आगलागीबाट पीडितहरूलाई कर्णाली प्रदेश सरकारले तत्कालका लागि प्रति घरधुरी २० हजार रुपैयाँ राहत प्रदान गर्ने भएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल राहतस्वरूप प्रति घरधुरी २० हजार रुपैयाँ नगद, आवश्यक लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीले आगलागी नियन्त्रण, उद्दार तथा राहतको प्रबन्ध गर्न सम्बन्धित निकायलाई समेत निर्देशन दिएका छन्। आगलागी भएको ठाउँ मुख्यमन्त्रीको निर्वाचन क्षेत्र पनि हो।
आइतबार राति २ बजेबाट लागेको आगो स्थानीय र सुरक्षाकर्मीको प्रयासमा सोमबार दिउँसो मात्र नियन्त्रणमा आएको छ।
आगलागीबाट ४७ घर पूर्णरूपमा नष्ट भएका छन् भने ७ जना घाइते भएका छन्। पशुचौपायासँगै अन्य सम्पत्ति क्षति भएको छ। तर, क्षतिको बारे पूर्ण जानकारी भने आएको छैन।
जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार आगलागी भएको ठाउँमा सदरमुकाम मान्माबाट पुग्न ८ घण्टा लाग्छ ।
आगलागी पीडितहरूलाई थप राहत र पुनःस्थापनाका लागि सहयोग गर्न संघीय सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य संस्थाहरूलाई समेत आग्रह गरेका छन् ।