कालिकोटको पलाँता गाउँपालिका–१ मा रहेको एक वस्तीमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। खाडा भनिने गाउँको न्यौपानेवाडामा आईतबार राति आगलागी भएको हो। आगलागीबाट घरहरु पूर्ण रुपमा नष्ट भएका छन्। ७ जना मानिस घाईते भएका छन्।
आगलागीमा परि गाई र गोरूसहित १९, दुईवटा भैँसी, दुईवटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। गाउँमा आगो लागेको खबर आईतबार राति साढे दुई बजेमा जिल्ला प्रहरीलाई खबर आएको प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लेले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी र स्थानीयको सहयोगमा सोमबार बिहान १० बजे आगो नियन्त्रणमा आएको थियो। स्थानीय नविन न्यौपानेको घरबाट आगो सल्किएको थियो। फुसका छानाहरु भएकोले अन्य घरहरुमा छिटो आगो फैलिएको प्रहरीको भनाई छ।
आगलागीमा परि घाईते हुनेहरुमा ७० वर्षीय दवराज हमाल, ७० वर्षीय चन्द्ररुपा सञ्ज्याल, ७० वर्षीय देवराज हमाल, ३५ वर्षीय विष्णुऋषि न्यौपाने, ५८ वर्षीइ कर्णप्रसाद न्यौपाने, १० वर्षीय करिस्मा न्यौपाने र ९ वर्षीय रत्न न्यौपाने रहेका छन्। अन्य घाईतेको तुलनामा चन्द्ररुपाको अवस्था भने मध्यमखालको रहेको प्रहरी निरीक्षक मल्लले बताए।
स्वास्थ्यकर्मीहरुको संलग्नतामा घाईतेहरु सबैको उपचार सोही ठाउँमा भैरहेको पलाँता गाउँपालिकाका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिइन्। उनका अनुसार अधिकांस घाईतेहरुलाई भाग्ने क्रममा चोट लागेको हो।
कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार उक्त आगलागीबाट ३ करोडभन्दा बढीको क्षति भएको छ। क्षतिको पूर्ण विवरण आउन भने केही दिन लाग्ने प्रशासनले जनाएको छ।
उक्त गाउँमा खरले छाएका परम्परागत शैलीका १६९ घरधुरी रहेका छन्। न्यौपानेहरुको उद्गम स्थल भनेर चिनिने उक्त गाउँमा २०६२ सालमा पनि भिषण आगलागी भएको थियो। त्यसबेला ३२ घर जलेका थिए।
पीडितहरुको बिचल्ली
आगलागीबाट पूर्ण रुपमा नष्ट भएका न्यौपानेवाडाका ८७ घरपरिवारको बिचल्ली भएको छ। गाउँ नै सखाप हुनेगरि लागेको आगोबाट बाँच्न सफल भएपनि उनीहरुको अवस्था भने दयनीय बनेको छ। घरमा भएको कुनै पनि सामान निकाल्न नपाएपछि खाने खाद्यान्नदेखि सुत्ने ओछ्यानसम्मको अभाव भएको छ। भाग्नुअघि शरीरमा लगाएको कपडाबाहेक सबै जलेर खरानी भएको पीडित कुसराज न्यौपानेले बताए।
मुख्यमन्त्रीद्वारा दुख व्यक्त
खाडामा भएको आगलागीको घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुखः व्यक्त गरेका छन्। आगलागी भएको गाउँ मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रभित्र पर्छ।
‘दाङ जिल्लाको तुल्सीपुर नगरपालिका वडा नं. ३ राम्रीमा भएको कहालीलाग्दो बस दुर्घटना सेलाउन नपाउँदै गएराति २ बजे कालिकोट जिल्लाको पलाता गाँउपालिका वडा नं. १ खाडान्यौपानेवाडामा भएको भिषण आगलागी र त्यसबाट भएको ठूलो आर्थिक तथा भौतिक क्षतिबाट दुखी बनेको छु।’ मुख्यमन्त्री शाहीले सोमबार जारी गरेको सम्बन्धित विज्ञप्तिमा भनिएको छ।
मुख्यमन्त्री शाहीले घाईतेहरुको स्वास्थ्य लाभको कामनासहित उपचारमा कुनै कमी हुन नदिने सम्बन्धित निकायलाई आग्रह समेत विज्ञप्तिमार्फत गरेका छन्। घटनाबाट पीडिततहरुलाई थप राहात र पुनःस्थापनाको कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पनि जनाएका छन्।
विभिन्न निकायद्वारा राहत वितरण
कालिकोटको पलाँता गाउँपालिकाका अग्निपीडितहरुका लागि कर्णाली प्रदेश सरकारले प्रति परिवार २० हजार नगदसहित विभिन्न सामाग्री राहतस्वरुप वितरण गरेको छ। प्रदेश सरकारको तर्फबाट तत्कालीन राहतरुवरुप ३० क्वीन्टल चामल, १ सय थान बल्यांकेट, ५ वण्डल पि–फम, १ सय थान सिरक तथा डसना, १५ पेटी चाउचाउ, ६ पेटी विस्कुट, ३ बोरा चिउरालगायत अन्य खाद्यान्न सामग्री पीडितहरुलाई वितरण गरिएको छ।
मुख्यमन्त्री महेन्द्रवहादुर शाही, कालिकोटका सांसद्हरु दुर्गबहादुर रावत, कुर्मराज शाही, राष्ट्रियसभा सदस्य जीवन वुढालगायतको टोली सोमबार दिउँसो नेपाली सेनोको हेलिकप्टरमार्फत उक्त क्षेत्रमा पुगेर राहत रकम तथा खाद्यान्न सामाग्री वितरण गरेको हो।
कर्णाली प्रदेश सरकारले सोमबार नै अग्निपीडितहरुलाई राहत प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै, पलाँता गाउँपालिकाले आगलागी पीडितका लागि सबैसँग सहयोगको आग्रह गरेको छ। तत्कालका लागि गाउँपालिकाले ९ लाख रुपैयाँ बराबरको राह सामग्री पीडितहरुका लागि खरिद गरेर वितरण गरेको छ। गाउँपालिकाको बजेटले प्रत्येक घरधुरीलाई एक सिरक, दुई डस्ना, एक कोरिएन कम्मल, एक सेट भाँडाकुडा र हरेक व्यक्तिलाई एक÷एक वटा ज्याकेट खरिद गरिएको अध्यक्ष लक्ष्मणबहादुर बमले बताए।
त्यसैगरि, गृहमन्त्रालयबाट पनि आगलागी पीडितहरुका लागि २०० थान कम्मल, १०० ज्याकेट, १०० ट्राउजर, ७० थान त्रिपाल कालिकोट पठाइएको छ।
पीडितहरुका लागि जिल्लामार्फत ८७ बोरा चामल, रेडक्रसले सहयोग गरेका १२ थान भाँडाकुडा, कालिकोट उद्योग वाणिज्य संघ र च्याम्बर्स अफ कमर्सबाट खाद्यान्न र लत्ताकपडाहरु न्यौपानेवाडामा पठाइएको छ।
रातहकै लागि कालिकोटको तिलागुफा नगरपालिकाले एक लाख, रास्कोट नगरपालिकाले एक लाख, शान्नित्रिवेणी गाउँपालिकाले दुई लाख र जुम्लाको हिमा गाउँपालिकाले १ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।