मोरङको उर्लाबारीमा सोमबार साँझ एक घरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राम तिम्सिनाका अनुसार उर्लाबारी-७ स्कुलडाँडास्थित रामबहादुर थापाको घरमा आगलागी हुँदा उनकी बुहारी रीना थापाको जलेर मृत्यु भएको हो।
४५ वर्षीया थापालाई स्थानीयले आगलागी हुँदै गर्दा उद्धार गरेर घरबाहिर ल्याएका थिए। तर, त्यसबेलासम्ममा उनको मृत्ययु भइसकेको थियो।
प्रहरी निरीक्षक तिम्सिनाका अनुसार साढे छ बजे घरमा आगो लागेको थियो। फुसको छानो र बाँसको टाटीको बेरा भएको घरभित्र रिना चुकुल लगाएर सुतेकी थिइन्।
प्रहरीका अनुसार स्थानीयले रामबहादुरको उद्धार गर्न सके पनि रीनाको उद्धार गर्न सकेनन्। आगोको लप्काले घर ढाकिसकेकोले रीनाको जलेर ज्यान गएको तिम्सिनाले सेतोपाटीलाई बताए। आगलागीबाट घर पूर्ण रुपमा जलेको छ।
उर्लाबारी नगरमा बारुण यन्त्र नभएका कारण समयमै आगो निभाउन नसकिएको तिम्सिनाले बताए। दमक नगरपालिकाको बारुण यन्त्र आगोले घर सखाप पारेपछि मात्र घटनास्थल पुगेको थियो। एलपी ग्यास पड्केर आगो लागेको हुनसक्ने प्रहरी अनुमान छ।