नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले पैसा खान्छ भन्ने जनमानसमा भएको हल्ला निराधार रहेको दाबी गरेका छन्।
सामुदायिक प्रहरी साझेदारी अन्तर्गत बुटवलको दिप बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले अहिलेको प्रहरी जिम्मेवार र जवाफदेही भएर आएकोले प्रहरीमाथि लगाइने आरोप निराधार रहेको दाबी गरेबा हुन्।
‘अहिलेको प्रहरी विगतभन्दा धेरै परिवर्तन भएको छ, अकाउण्टेवल र रेस्पोन्सिवल भएर आएको छ, उनले भने ‘पैसा खान्छ दुःख दिन्छ भन्ने आरोप परम्परावादी हो यसलाई हटाउनुपर्छ,’ उनले भने।
उनले प्रहरी सधैं समुदायसँगै साथमा रहेकोले आफूमाथि लगाइएको आरोप र समस्यासँग जुध्न पनि तयार रहेको बताए।
उनले कुनै पनि प्रहरी र प्रहरीको नाममा अरु कसैले पैसा माग्छ, दुःख दिन्छ भने जानकारी गराउन समेत आग्रह गरे।
समुदायले प्रहरी मेरो हो भन्ने भावनाको विकास गरेमात्रै समाजबाट अपराधिक गतिविधि घट्न सक्ने भन्दै प्रहरी र समुदायको साझेदारीबाट समुदायलाई सुरक्षित बनाउन सकिने बताए ।
उनले प्रदेश सरकार र स्थानीय तहसँग मिलेर रिह्याब सेन्टर र करेक्सन सेन्टर बनाउनुपर्ने उल्लेख गर्दै आफूहरू यही कन्सेप्ट अनुसार विद्यालय र समुदायमा विभिन्न कार्यक्रम लिएर पुग्ने गरेको बताए।
‘अहिलेको सबै भन्दा ठूलो समस्या लागुऔषध दुव्र्यसन र मानव वेचविखन देखिएको छ, यसलाई रोक्न विद्यालय स्तरबाटै बालबालिकाहरुलाई सचेतना बढाउनुपर्छ ,’ उनले भने
पछिल्ला घटनाक्रमलाई हेर्दा सानो उमेरका बालबालिकाहरू अपराधिक गतिविधिमा सहभागी हुने गरेको देखिएको भन्दै उनले साथीहरूको लहलहैमा लागेर लागुऔषधको कुलतबाट जोगिन विद्यार्थीहरूलाई आग्रह गरे।
अहिले विद्यालय तहमा रहेका ६० लाख विद्यार्थीहरूसँग लागुऔषध दुव्र्यसन, चोरी डकैती, मानव बेचविखन तथा अपराधिक गतिविधिविरूद्ध सचेतनामूलक कार्यक्रम गरिने उनले बताए। त्यसैगरी अभिभावक र शिक्षकलाई समेत लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।