बल्खुबाट ल्याबोरेटरी स्कुल हुँदै कीर्तिपुर जाने बाटोमा दायाँतिर एउटा सेतो साइकल ठडिएको छ। फूलका केही गमला, खादा र सुकेका पुष्पगुच्छा छन्। फोटोकपी कागजमा प्रिन्ट गरिएको एउटा तस्बिर पनि छ, जसमुनि लेखिएको छ- श्यामसुन्दर श्रेष्ठ।
श्यामसुन्दर ती साइकल चालक हुन्, जसको दुई महिनाअघि यहीँ खाल्डोमा खसेर निधन भएको थियो।
नछोपिएको खुला ढलमा एकाबिहानै उनी साइकलसहित खसेका थिए। त्यहीँ डुबेर उनको प्राण गयो। उक्त घटनापछि ढलका कर्मचारीले हतार-हतार पाँच-छ वटा कंक्रिटका खाँबाले खाल्डो छोपे। ती कति कमसल रहेछन् भने, एउटा खाँबो अहिल्यै भाँच्चिसक्यो, अर्को पनि भाँच्चिन खोज्दैछ।
कीर्तिपुर र चोभार, दक्षिणकाली जाने यो सडकमा यस्तो ज्यानमारा खाल्डो अरू पनि छ।
जुन खाल्डोमा श्यामसुन्दर खसे, त्योभन्दा दुई सय मिटर पर ल्याबोरेटरी स्कुल कटेपछि जसै कीर्तिपुर जाने बाटो मोडिन्छ, अर्को ठूलो खाल्डोले स्वागत गर्छ। यो पनि ढलको खाल्डो हो। बनाउँदा-बनाउँदै अलपत्र छाडिएको।
कीर्तिपुरतिरबाट हुइँकिएर आएको गाडी बल्खुतिर मोडिँदा अलिकति मात्र गल्ती भए खाल्डोको शिकार हुनुपर्छ। चारपाङ्ग्रे भए एक-दुई चक्का पर्ला। दुईपाङ्ग्रे त पूरै खस्न सक्छ। साइकलको कुरै नगरौं।
यो खाल्डो परबाट देखिँदैन। बल्खुतिरबाट आउँदै हुनुहुन्छ भने खाल्डोसँगै सिमेन्टको पर्खालले छेक्छ। खाल्डो छ भन्ने कुनै संकेतचिह्न छैन। न कुनै बोर्ड छ। केही समयअघि तीनवटा ड्रमले घेरेर राखिएका थिए। त्यसले गाडीलाई सतर्क गराउँथ्यो। तीमध्ये दुईवटा ड्रम खाल्डामै खसे। एउटा यसै थियो। केही दिनअघि त्यो पनि खस्यो।
रोडा र सिमेन्ट भरिएको त्यति भारी ड्रम कसले धकेलेर खसाल्यो होला? गाडी नै ठोक्किएर खस्यो कि? यसको उत्तर कसैलाई थाहा छैन।
कर्मचारीहरूले ड्रम त निकाले, तर मान्छेको ज्यान लिन सक्ने खाल्डो छोप्नतिर ध्यान दिएनन्।
यो खाल्डो कति जोखिमपूर्ण ठाउँमा छ भने बाटो आउजाउ गर्ने सवारी मोडिँदा पाङ्ग्रा खाल्डोनजिकै पुगेको हुन्छ। ल्याब स्कुलतिरबाट आउँदा मोडिने कुनो यही हो। कुनो नच्यापे अर्कोतिरबाट आउने गाडीसँग ठोक्किने डर हुन्छ। कीर्तिपुरतिरबाट आउँदा पनि यही कुनो च्याप्नुपर्छ। लेन नै यही हो।
यसरी दुईतर्फी गाडी नै आमनेसामने हुने ठाउँमा खाल्डो मुख बाएर बसेको तीन महिनाभन्दा बढी भयो। हरेक दिन आउजाउ गर्नेहरू पनि नजिक पुगेपछि मात्र झस्किन्छन्। कहिलेकाहीँ मात्र आउने त अकस्मात् बाटोमा ह्वाङ्ग खाल्डो देखेर धर्मराउँछन्। गाडीले पेल्यो भने सिधै खस्न बेर लाग्दैन।
समस्या एउटा कुनाको मात्र होइन। यही ठाउँमा अर्को कुनापट्टि यस्तै खाल्डो छ। चोभारतिरबाट आएका सवारी मोडिँदा त्यसैमा खस्ने डर छ।
सडकबत्ती नभएको बाटोमा यस्ता खाल्डा नछोपी राख्दा रातको समय दुर्घटना जोखिम बढी हुन्छ। गाडीको हेडलाइटबाहेक यहाँ अरू केही उज्यालो छैन। सवारीको मधुरो हेडलाइटमा अन्धकार बाटोको पूरै अवस्था देखिँदैन। खाल्डोमाथिको होचो पर्खालले छेक्ने त छँदैछ। दुईपाङ्ग्रेको हेडलाइटले रातको समय त्यसै पनि भुइँको कालो खाल्डो र कालोपत्रे छुट्टयाउन मुश्किल पर्छ।
साइकल चालक त झन् बढी जोखिममा। न बत्ती। न संकेत। न छेकबार!
धन्न यो खाल्डोमा सवारी दुर्घटना भएको खबर अहिलेसम्म आएको छैन। नआउला भन्न सकिन्न। के यहाँ पनि श्यामसुन्दरजस्तै कोही यात्रु खसेपछि मात्र खाल्डो छोप्ने भनेर सम्बन्धित कर्मचारी कुरेर बसेका हुन्?
उता, श्यामसुन्दर खसेको खाल्डोनिरै अर्को त्यस्तै खाल्डो बन्ने क्रममा छ। ढल छोप्न गरिएको ढलान उबडखाबड छ। धेरै दुईपाङ्ग्रे त्यहाँ धरमराउँछन्। चारपाङ्ग्रे पनि एउटा पांग्रा घच्याक्क नगरी ढलान पार हुँदैन।
अप्ठ्यारो खाल्डो र उबडखाबड सडक छल्न सबै सवारी बीचमै कुद्छन्। साँघुरो ठाउँमा हुइँकिएर आएका गाडी धेरैपटक दुर्घटना परेका छन्। सानोतिनो ठक्कर त दिनहुँजसै हुन्छ।
यो समस्या बल्खु सडकको मात्र होइन। अन्यत्र पनि अलपत्र छाडिएका खाल्डामा गम्भीर दुर्घटना नभएसम्म सरोकारवालाको ध्यान जाँदैन। जसरी श्यामसुन्दरको ज्यान गएपछि झारा टार्ने गरी खाल्डो छोपियो, अरूतिर पनि त्यस्तै हुन्छ।
सामाखुसीमा त कार खस्दा पनि कसैले वास्ता गरेन। सडक विभागका अधिकारीहरू 'चिनियाँले बनाएको हो, अब सडक विस्तार हुँदैछ, हामीले केही गर्न मिल्दैन' भन्दै पन्छिए।
यही मंसिरमा जोरपाटीमा यात्रु लिएर जाँदै गरेको एउटा ट्याक्सी खाल्डोमा खस्यो। चालक घाइते भए। मुख्य सडकको त्यो गाडी छिर्ने खाल्डो ढलकै हो। न संकेत, न छेकबार।
गत वर्ष साउनमा मनमैजुकी ३ कक्षा पढ्ने बिनिता फुयाँलको झरी परेका बेला नालामा खसेर ज्यान गयो। कक्षा ९ पढ्ने सत्या सापकोटा पनि स्कुलबाट फर्कंदै गर्दा नालामा झरेर बगिन्। धन्न उनको उद्धार गरियो।
मान्छे मात्र होइन, चाबहिलको त्यस्तै एउटा मंगालमा भैंसी खसेको थियो। एक्स्काभेटरले मंगाल फोडेर भैंसी निकाल्नुपर्यो।
पछिल्ला वर्ष ढल, नाला र खाल्डोमा कति सवारी र मानिस परे त्यसको लेखाजोखा छैन। कुनै पनि मुलुकमा निर्माणाधीन ढललाई 'डेथ ट्रयाप’ का रूपमा खुला छाडिन्न। हामीकहाँ भने दुई वर्षमा तीन जनाको ज्यान गइसक्दा पनि सम्बन्धित निकाय जिम्मेवारी लिँदैन।
बल्खु सडकका यी खुला खाल्डाको पासो पनि कसैको ज्यान गएपछि बल्ल छोपिने हो? कि, समयमै विचार पुर्याउने?
सबै तस्बिर: चेतना गुरागाईं/सेतोपाटी