विराटनगरमा गत कात्तिकमा शिलान्यास गरिएको ११० मिटर अग्लो भ्यू टावर योजना अलपत्र परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र प्रदेश नम्बर–१ योजना आयोग दुबैको असहमतिपछि भ्यू टावर निर्माण योजना अगाडि बढ्न नसकेको हो।
नागरिक उड्डयन कार्यालय विराटनगरले ४० मिटरभन्दा अग्लो टावर बनाउन सहमति दिन नसकिने बताएको छ भने एक नम्बर प्रदेश सरकारको योजना आयोगले भ्यू टावरको औचित्य नरहेको प्रष्ट पारेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, एक नम्बर प्रदेशका मन्त्री हिक्मत कार्की, जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले गत कात्तिकमा भ्यू टावर शिलान्यास गरेका थिए। शिलान्यास कार्यक्रममा प्रमुख अतिथि मन्त्री पण्डित थिए। आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने भएकाले मन्त्री पण्डित भ्यू टावर निर्माणमा अग्रसर छन्। तीनै सरकारले संयुक्त लगानी गरेर भ्यू टावर निर्माण गर्ने जनाएका थिए।
प्रदेश १ सरकारको योजना आयोगले भने शिलान्यासको दुई महिनामै यो टावर निर्माणबाट हात झिकेको हो। योजना आयोग प्रदेश–१ ले पनि भ्यू टावर निर्माणको औचित्यमाथि प्रश्न उठाएको छ। विराटनगरमा ११० मिटर अग्लो भ्यू टावर निर्माण आवश्यक नरहेको आयोगले जनाएको छ।
गठन भएलगत्तै आयोगले भावी योजनाको अध्ययन गरिरहेको छ।
‘हाम्रो प्राथमिकीकरणमा योजनामा भ्यू टावर निर्माणको औचित्य पुष्टि हुन सकेन,’ आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले सेतोपाटीसँग भने, ‘पर्यटन मन्त्रालयको असहमति रहेको मैले बुझेको छु, यहाँ भ्यू टावर बनाएर के हेर्ने? औचित्य देखिएन।’
प्याकुरेलले महानगरका मेयर पराजुलीसँग यसबारे कुराकानी गर्ने बताए।
विराटनगर–३ स्थित एक बिगाहा ७ कठ्ठा क्षेत्रफलमा चार अर्ब रुपैयाँ खर्च गरेर भ्यू टावर बनाउने भनी संघीय, प्रदेश सरकारका मन्त्री तथा स्थानीय सरकारका मेयर कस्सिएका थिए।
नागरिक उड्डयन कार्यालय विराटनगरले जहाज उडान–अवतरको क्षेत्रभित्र पर्ने भएकाले ४० मिटरभन्दा अग्लो टावर बनाउन अनुमति नदिने जनाएको छ।
‘हामीले केन्द्रमा लेखेर पठाएका छौं, उताबाट जवाफ आइसकेको छैन,’ विराटनगर नागरिक उड्डयन कार्यालयका प्रबन्धक टेकनाथ सिटौलाले भने, ‘४० मिटरभन्दा अग्लो टावर बनाउने विषयमा हाम्रो सहमति हुँदैन। जहाजले चक्कर लगाउने ठाउँ भएकाले अग्लो संरचना बनाउन दिने कुरा आउँदैन।’
शिलान्यास गरिएको भ्यू टावर क्षेत्र विमानस्थल नजिकै पर्छ। नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सिटौलाका अनुसार यो अति संवेदनशील क्षेत्र हो।
‘त्यो ठाउँ अफ्स्ट्रयाकल लिमिटेसन सर्फेस हो, भ्यू टावर बनाउने कुरा निकै संवेदनशील हुन्छ,’ सिटौलाले भने।
११० मिटर अग्लो भ्यू टावरको योजना अलपत्र पर्न लागेका बेला विराटनगरमै भने व्यवसायीहरूले एक अर्बको व्यापारिक मल निर्माण गरेका छन्।
कहलिएका व्यापारिक घराना विशाल ग्रुप, मुन्दडा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा एक अर्बको मल तयार भएको हो।
व्यापारिक मल उद्घाटनको मिति पनि तय भइसकेको मुन्दडा ग्रुपका प्रकाश मुन्दडाले जानकारी दिए।
‘माघ २७ गते उद्घाटनको मिति राखेका छौं, त्यसका लागि धमाधम कार्य भइरहेको छ,’ मुन्दडाले भने।
१० कठ्ठा जग्गामा रहेको व्यापारिक मल एक लाख ३४ हजार स्क्वायर फुटको छ। अगाडि दुई र पछाडि तीन तला रहेको भवनमा पार्किङ, डिपार्टमेन्ट स्टोर, सय वटा पसल, सिनेमा हल, गेम जोन, रेस्टुरेन्टलगायत रहेको मुन्दडाले बताए। नगरको आवश्यकताअनुसार यसको उचाइ थप्दै जाने उनले बताए।
‘सबैथोक समेटिएको यो नेपालकै सबैभन्दा सुन्दर मल हो,’ मुन्दडाले भने। मेन रोड नगरका सबै जनताको आवत–जावत बाक्लो हुने क्षेत्र हो। यही क्षेत्रभित्र सयौं पसल, बैंक तथा वित्तीय संस्था र मारवाडी समुदायको बाक्लो बस्ती छ।
‘सबैको पहुँच पुग्ने क्षेत्रमा व्यापारिक भवन बनाएका छौं, यसले विराटनगरका जनताको आवश्यकता एकैठाउँमा पूरा गर्छ,’ मुन्दडाले भने।
व्यवसायीहरूका अनुसार व्यापारिक प्रयोजनका लागि भ्यू टावर निर्माण आवश्यक छैन।
विराटनगरमा साना ठूला डिपार्टमेन्ट स्टोर खुल्ने क्रम बढिरहेकै छ। फेरि, भ्यू टावर बनाउने भनिएको क्षेत्रमा ठूलो कारोबार पनि हुँदैन। केही समयअघि भाटभटेनी डिपार्टमेन्ट स्टोर सञ्चालनमा आइसकेको छ।
भ्यू टावरलाई महानगरले ‘व्यापारिक हब’ बनाउने भनेको छ। तर, टावर शिलान्यास क्षेत्र व्यापारिक दृष्टिकोणले अपायक रहेको व्यवसायीहरू नै बताउँछन्।
तर, विराटनगर महानगरपालिकाले भने भ्यू टावर निर्माण गरेर छोड्ने बताएको छ। जति मिटरमा अनुमति हुन्छ त्यति नै अग्लो टावर बनाउने महानगरले जनाएको छ।
‘जति तले भ्यू टावर बनाउन अनुमति हुन्छ त्यति नै अग्लो बनाउँछौं, यो महानगरको संकल्प हो,’ मेयर भीम पराजुलीले भने, ‘यो भ्यू टावरमात्र नभएर व्यापारिक कम्प्लेक्स पनि हो, हामी बनाएरै छोड्छौं।’
पराजुलीका अनुसार महानगर भ्यू टावर निर्माणका लागि बजेटको जोहोमा जुटेको छ। बजेटको टुंगो लागेपछि डिपिआरको प्रक्रिया अघि बढाउने पराजुलीले बताए।
भ्यू टावर चढेर वरपरको दृश्यावलोकन गर्ने मात्र नभई त्यसमा राजवंशी समुदायको संग्रहालय, व्यापारिक भवन, डिपार्टमेन्ट स्टल, पाँच तारे होटल, औद्योगिक प्रदर्शनीलगायत रहने महानगरले बताएको थियो।
भ्यू टावर शिलान्यासमै स्थानीयको आलोचना छ। अहिलेको आवश्यकता सफा सडकमा हिँड्ने रहेको भन्दै यस्ता महंगा, जनजीविका बाहिरका पूर्वाधार निर्माण आफूहरूको चाहना नभएको महानगरबासी बताउँछन्।
पछिल्लो पाँच वर्षयता विराटनगर विकासमा २ अर्ब ३९ करोडको मझौला तथा एकीकृत वातावरण सुधार परियोजनाको कार्य जारी छ। यो बजेटमा फोहोरमैला प्रशोधन, बाटो र ठूला ढल–नाला निर्माण भइरहेको छ। तर, जनताले चित्त बुझाउने गरीको विकास भने छैन। यस्तो अवस्थामा चार अर्बको भ्यू टावर निर्माणको औचित्यमाथि महानगरबासीले प्रश्न उठाउँदै आएका छन्।
मेयर पराजुली भने पर्यटकीय गन्तव्यका लागि पनि भ्यू टावर आवश्यक देखिएकाले तीनै सरकार मिलेर निर्माणको योजना अगाडि सारेको बताउँछन्। ‘विराटनगरमा पर्यटकीय गन्तव्य खासै छैन, भ्यू टावरलाई गन्तव्य बनाउन खोजिएको हो,’ पराजुलीले भने, ‘डिपिआर गर्दा सबै मापदण्डबारे अध्ययन हुन्छ, मापदण्डअनुसार टावर बन्छ।’
यो पनि हेर्नुहोस्