अलकाश्री श्रेष्ठ पुल्चोक इञ्जिनियरिङ क्याम्पसको मैदानमा सोमबार मिडियाबाट घेरिएकी थिइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट स्वर्ण पदक पाएकी अलका भने मिडियाबाट छेलिएर भिडमा आफ्नी आमालाई खोज्न थालिन्।
अलकाले त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा एमबिएतर्फ 'इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक' पाएकी हुन्।
२०७२ सालमै कीर्तिपुरस्थित स्कुल अफ म्यानेजमेन्टबाट एमबिए गरेकी उनले गोल्ड मेडल हात पार्न २०७५ सम्म कुर्नुपर्यो। उनले २०७३ मै दीक्षान्त समारोहमा भाग लिइसकेकी थिइन्। २०७४ मा राष्ट्रपतिबाट विद्याभूषण पदक प्राप्त गरिन्।
सोमबार विश्वविद्यालयको दीक्षान्तमा भाग लिन उनी सपरिवार बिहान १० बजे क्याम्पस पुगेकी थिइन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली १२ बजे मात्र आइपुगे। औपचारिक भाषणमा लगभग एक घन्टा गयो। लामो पर्खाइले दिक्क मान्न थालेकी अलकाले जसै प्रधानमन्त्रीको हातबाट स्वर्ण पदक पाइन्, उनको दिक्दारी हर्षमा बदलियो। उत्साहले चम्किएका आँखामा खुसीका आँशु रसाए।
स्वर्ण विजेतालाई ठाउँको ठाउँ मिडियाले घेर्नु स्वाभाविक थियो। उनी पनि घेरिइन्। तर, खुसीको छाल उर्लेको बेला होस् वा दु:खको आँधी आउँदा, मान्छेका रसिला आँखाले सबभन्दा पहिला आफन्त खोज्छ।
अलकाका आँखाले पनि भिडमा आमालाई पछ्याउन थाल्यो। उनी आमासँग खुसी बाँड्न चाहन्थिन्। देख्नेबित्तिकै मिडियाको घेराबाट उम्केर आमातिर दौडिइन्। बेस्सरी अंगलोमा बेरिन्।
अंगालोबाट छुट्टिएपछि आमाले छोरीको मेडल हेरिन्। उनको मुख बिग्रियो। त्यसमा 'अल्का' लेखिएको थियो।
‘पहिलाजस्तै यसपालि पनि नाम बिगारिदिएछन् है,’ आमाले भनिन्।
अलकालाई त अहिलेसम्म हेक्कै थिएन। उनले हतारहतार प्रमाणपत्र झिकिन्। आफ्नो नामतिर आँखा दौडाइन्।
‘धन्न सर्टिफिकेटमा चाहिँ अलका नै रहेछ।’
आमाछोरी दुवै मुस्कुराए।
स्कुलमा पनि अलका सधैं 'टप टेन' मा पर्ने विद्यार्थी हुन्। म्यानेजमेन्ट पढ्न थालेपछि भने सधैं पहिलो भइन्। शंकरदेव क्याम्पसबाट बिबिए गरेकी उनी त्यहाँ पनि 'टपर' थिइन्। प्लस टू मा साइन्स पढेकी उनी त्यहीँबाट मिहिनेत गर्ने बानी लागेको बताउँछिन्।
‘साइन्स पढ्दा एकदमै धेरै मिहिनत गर्नुपर्थ्यो। दिनभरि बोटनीको चित्र बनाउनुपर्थ्यो। यसले पढ्ने बानी लाग्यो। त्यो बानीले म्यानेजमेन्ट पढ्न सजिलो भयो,’ उनले भनिन्, ‘म जाँच आउनुअिघ नै तयारी पूरा गरेर बस्थेँ। जाँचको अघिल्लो दिन कहिल्यै पढिनँ। दस घन्टा सुत्थेँ, फ्रेस भएर जाँच दिन जाँच्थेँ।‘
एमबिए 'टपर' अलका अहिले नबिल बैंकमा 'रिलेसनसिप अफिसर' छिन्। साना तथा मझौला उद्योगलाई ऋण दिने शाखामा। काम थालेपछि पढाइमा ध्यान दिन नसकेको उनको भनाइ छ।
२०७२ मा विश्राम दिएको पढाइलाइ उनी अझै निरन्तरता दिन चाहन्छिन्। ‘बैंकको जागिरमा पर्सनल लाइफ र वर्क लाइफ मिलाउन नसकिने रहेछ,’ अलकाले भनिन्, ‘अझै पढ्ने मन छ, तर समय मिलाउन सकेकी छैन।
पढाइ र करिअरपछि घरमा अब बिहेबारीको कुरा पनि चल्न थालेको छ। सोमबार गोल्ड मेडल लिन जानुअघि आमाले भनेकी थिइन्, ‘छेउछाउमा बस्ने गोल्ड मेडलतिर पनि आँखा डुलाएर आइज है।’
‘घरबाट धुमधामले बिहे गर्न केटा खोज्न थालेका छन्,’ अलकाले भनिन्, ‘धनी र राम्रो देखिनेभन्दा पढेको केटा चाहिन्छ भन्ने आमाबाबुलाई परेको छ। पढेको मान्छेले पछि जे पनि गर्न सक्छ।‘
'अनि कोही भेट्नुभयो त?'
‘मेरो उमेरको कोही थिएन,' २७ वर्षीया अलकाले हाँस्दै भनिन्।
उनलाई भने बिहेभन्दा छुटेको पढाइलाई निरन्तरता कसरी दिने भन्ने ध्याउन्न छ। बीचमा एकचोटि पढाइ छुटे निरन्तरता दिन कठिन रहेछ भन्ने उनले अनुभव गरेकी छन्।
‘२०७२ मा एमबिए सकेको, २०७५ सालमा बल्ल मेडल पाइयो। अब एमफिल र त्यसपछि पिएचडी गर्ने इच्छा छ,‘ उनले भनिन्।