चालु आर्थिक वर्षको हालसम्म जिल्ला अदालत सुर्खेतमा ५८ जना पुरूषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका छन्। नयाँ मुलुकी संहितामा पुरूषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै ५८ पुरूषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका छन्।
जिल्ला अदालत सुर्खेतका अनुसार चालु आर्थिक वर्षको साउनमा २, भदौमा १७, असोजमा १०, कात्तिकमा ११, मंसिरमा १२ र पुस महिनाको १७ गतेसम्म ६ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका छन् ।
उक्त अवधिमा १४८ जना महिलाहरुले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका छन् । अदालतका अनुसार साउनमा ३२, भदौमा २२, असोजमा २१, कात्तिकमा २८, मंसिरमा २६ र पुस महिनाको १७ गतेसम्म १९ जना महिलाले सम्बन्ध विच्छेदका लागिग मुद्दा दर्ता गराएका छन ।
यसअघिको कानुनमा पुरुषका तर्फबाट सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था थिएन । भदौ १ गतेबाट लागु भएको मुलुकी संहितामा पुरुषले चाहेमा पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरिएको हो ।
महिला र पुरुषबाट सम्बन्ध विच्छेदका लागि आउने मुद्दाका कारणहरु भने एकै किसिमका हुने गरेको जिल्ला अदालत सुर्खेतका न्यायाधिष धु्रबकुमार शाहले बताए । अधिकांस सम्बन्ध विच्छेदका मुद्दाहरुमा कारण भने घरायसी उल्लेख हुने गरेको उनले बताए।
‘पुरुष वा महिलाबाट आउने सम्बन्ध विच्छेदका मुद्दाहरुमा लगभग एकैखालका कारणहरु हुने गर्छन । श्रीमान, श्रीमतिबीचको अविश्वास, घरायसी झमेलालगायतका कारण सम्बन्ध विच्छेदका लागि मुद्दा परेको देखिन्छ ।’ जिल्ला न्यायाधिष शाहले भने ।