हर्नामाडीस्थित रामधुनी चोक।
लस्करै पुराना घर। इँटा–माटो अनि काठले बनेका। नजिकै चौतारी।
त्यो चोकमा अचेल डोजर र ट्रक बढी ओहोरदोहोर गर्न थालेका छन्।
बनेपाका कलाकार दिपेन्द्र बनेपाली गत शनिबार त्यही चोकलाई ‘वाटर कलर’ पेन्टिङमा उतार्दै थिए।
‘म यो चोक होइन, इतिहास कैद गर्दै छु,’ चित्र बनाउँदै उनले भने, ‘केही महिनापछि यी घर हुने छैनन्। चौतारा पनि भत्काइनेछ। अनि यो चित्रले स्थानीयलाई चोक यस्तो थियो भनेर सम्झना गराउला।’
स्थानीय दिपेन्द्र आचार्यका अनुसार यो चोक लगायत यहाँका अन्य संरचना भत्काएर बाटो विस्तार हुँदैछ। हाल १५ मिटरको बाटो विस्तार गरेर २६ मिटरको बनाउने योजना छ। त्यसपछि यो बाटो सोझै धरानमा जोडिनेछ।
बनेपालीले चित्र बनाइरहेका बेला स्थानीयले गोलो घेरा बनाएर आफ्नो चोकलाई क्यानभासमा हेर्दै थिए। अर्का एक स्थानीय इन्द्रजित बमजन पनि आफ्नो घरको चित्र बनिरहेको सुनेर दंग पर्दै हेर्न आए।
‘ओहो! तपाईं त मेरै घर बनाइरहनु भएको रहेछ। मलाई भने अत्तोपत्तो थिएन,’ उनले भने, ‘मेरो घर कस्तो राम्रो बनाइदिनुभएको।’
‘यस्तो राम्रो घर केही समयपछि भत्किने भएछ है?’
उनले हाम्रो प्रश्नको उत्तर दिन नपाउँदै अन्य स्थानीयले जवाफ फर्काए, ‘उहाँलाई के को पीर? एक ठाउँमा मात्रै घर भए पो! यो भत्किए अर्कोमा बस्नुहुन्छ।’
उनी पनि निश्चिन्त देखिए।
त्यहाँका धेरै स्थानीयको अनुहारमा घर भत्किने पीरभन्दा बाटो फराक हुने र मुआब्जाबाट नयाँ घर बनाउन पाइने निश्चिन्तता बढी देखिन्थ्यो।त्यसैमध्ये एक थिए, रामबहादुर घलाङ।
‘पछाडि बाँकी जग्गा छ नि। त्यहीँ नयाँ घर बनाउँछु,’ उनले भने।
बनेपालीले रामधोनी चोक बनाइरहँदा अरू कलाकार एवं काठमाडौंस्थित सिर्जना कलेज अफ फाइन आर्टसका विधार्थी गाउँका अन्य घर एवं खोलाका ल्यान्डस्केप बनाउँदै थिए।
रामधोनी चोकभन्दा करिब पाँच सय मिटर पर ‘वाटर कलर सोसाइटी’ का अध्यक्ष एनबी गुरुङ र उपाध्यक्ष डिलीराम पालपाली भेटिए। उनीहरूले खेतबीचमा रहेको तीन घरलाई चित्रमा उतार्न थाले। परम्परागत दुई र एउटा निर्माणाधीन आधुनिक घर।
‘परिवर्तनलाई चाहेर पनि रोक्न सकिन्न, त्यो भएरै छाड्छ,’ आधुनिक घरलाई संकेत गर्दै उनीहरूले भने, ‘केही पछि कंक्रिटका घर बढी र परम्परागत घर कम देखिन थाल्नेछन्। हामी कलाकारलाई भने परम्परागत घर नै धेरै बनोस् भन्ने हुन्छ।’
सिर्जना कलेजका सोनाम छोम्फेललाई हर्नामाडीको वातावरण काठमाडौंको भन्दा सुन्दर लागेछ। त्यहाँका घर देख्दा उनले आफ्नो जन्मथलो डोल्पा सम्झिए, जहाँ ढुंगा र माटोका घर बढी भेटिन्छन्। डोल्पामा ५ कक्षासम्म मात्रै पढाइ हुने भएकाले काठमाडौं झर्नुपरेको उनले बताए।
‘डोल्पाका प्रायः घर दुईतले हुन्छन्, चारपाटे,’ उनले भने, ‘छानामा हिँड्दा तलसम्म सुनिन्थ्यो। कहिले त भत्किन्छ कि जस्तो पो लाग्थ्यो।’
परम्परागत घर देख्दा राम्रो भए पनि सिमेन्ट र इँटाले बनेको घर बलियो लाग्ने उनले बताए।
केही पर अन्य विधार्थी स्थानीय लक्ष्मी मालबुलेको घर बनाउँदै थिए। आफ्नै आगँनअघि आफ्नै घर चित्रमा देख्दा उनी दंग थिइन्। भनिन्, ‘यो घरलाई श्रीमानले करिब २० वर्षअघि बनाउनुभएको। भुइँचालोमा एउटा गारो भत्कियो। मर्मत गरेर बसेका छौं। पछि पैसा भयो भने भत्काएर ब्लकको घर बनाउने मन छ।’
लक्ष्मीको घर तल बरेली खोला रहेछ। त्यहाँ अन्य केही विधार्थी चित्र बनाइरहेका थिए।
‘हाम्रो गाउँमा पानीको दुःख छ। भुलभुलेसम्म खानेपानी लिन जानुपर्छ। लुगा धुने, भाँडा माझ्ने पानी भने बरेली खोलाको प्रयोग गर्छौ,’ उनले भनिन्।
बिहानै गुम्बा डाँडा पुग्दाको घटना सम्झिएँ। त्यहाँ एउटा ठूलो पानीको ट्यांकी थियो। अर्को ट्यांकी बनाउने तयारी भइरहेको थियो। अध्यक्ष हर्क रम्तेलले भुलभुलेमा बोरिङ गरेर निकालिएको पानीलाई पाइप बिछ्याएर ट्यांकी भर्ने तयारी भइरहेको जानकारी दिएका थिए। उनका अनुसार त्यही पानी स्थानीयको घरघरमा पुर्याइनेछ।
हेटौंडामा जसरी आधुनिकता भित्रिरहेको छ, त्यो बरेली खोलामा पनि देखिन्छ। तर, काठमाडौंका खोलामा भन्दा केही कम। त्यहीँ बसेर सिर्जना कलेजका सुमन थापा र रोजन श्रेष्ठ झोलुंगे पुलसहितको खोला बनाइरहेका थिए।
‘काठमाडौंका खोलामा घरहरू हुन्छन्। त्यहाँ यही चित्र बनायो भने सिटिस्केप हुन्छ। यहाँ धन्न पहाड देखिन्छन्। वरिपरि रूख छन्,’ सुमनले भने, ‘पानी भने अलिअलि धमिलो हुन थालेछ।’
हर्नामाडीको भुलभुले नजिकैको इलुस्ट्रेसनमा काम गर्ने कृष्णगोपाल श्रेष्ठ एक परम्परागत घरको चित्र बनाइरहेका थिए। परम्परा एवं संस्कृतिमा रुचीि भएका उनलाई घरको मौलिकताले आकर्षित गरेको रहेछ। यो मौलिकता केही समयपछि लोप हुनसक्ने उनलाई पनि लागेको छ। यो गाउँको मौलिकता गुम्दैछ भन्ने उनले गुम्बा डाँडा पुग्दा भेटिने बाटाहरूमा पनि अनुभव गरेछन्।
‘भित्री बाटामा पनि ढलानका स्ल्याब थिए। मौलिक घरबीचमा त्यस्तो स्ल्याब कत्ति पनि नसुहाउने,’ उनले भने, ‘यस्तै हो भने यो ठाउँ पनि केही समयमा काठमाडौंझैं प्रदूषित बन्नेछ।’
कलाकार दिपेन्द्र बनेपाली जलरङलाई ‘मास्टर कलर’ का रूपमा लिन्छन्। यो जानेमा सबै चित्र बनाइन सकिने उनको तर्क छ।
अर्का कलाकार एनबी गुरुङका अनुसार जलरङमा ‘फास्ट टेक्निक’ मा काम हुन्छ। छिनछिनमा परिवर्तन हुने किरण पनि समेट्न सकिन्छ।
हर्नामडीमा पनि ‘वाटर कलर’ मा हुने ‘फास्ट टेक्निक’ झैं द्रुत गतिमा आधुनिकीकरण भइरहेको छ।