‘क्लिन तिलोत्तमा, ग्रिन तिलोत्तमा’ भन्ने नाराका साथ सरसफाई अभियान थालेको तिलोत्तमा नगरपालिकाले कुलो तथा नहरमा बग्ने फोहरसमेत रोक्न थालेको छ।
जनप्रतिनिधि नेतृत्वमा आएयता वृक्षारोपण र सरसफाई अभियानलाई तिब्रता दिएको तिलोत्तमा नगरपालिकाले बुटवल नगरपालिकाहुँदै नहरमा बगेर जाने फोहरसमेत जाली लगाएर रोकेको छ ।
किसानहरूले सिंचाईका लागि लाने तिनाउ नदिको पानी बग्ने नहर छेउछाउका बासिन्दाले घरको ढलसँगै शौंचालयको निकाससमेत नहरमा मिसाउने गरेको पाईएपछि नगरपालिकाले उक्त उपाए निकालेको हो।
तिलोत्तमा नगरपालिकाले किसानहरुको आग्रहमा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमामा पर्ने योगिकुटीमा फलामे जाली लगाएको छ।
उक्त जालीका कारण अहिले उक्त नहरमा बुटवलबाट आउने फोहर संकलन हुन थालेको छ। संकलित फोहर उठाउन ढिला हुने हो भने त्यस क्षेत्रमा महामारी फैलिनसक्ने खतरो छ।
स्थानियका अनुसार जाली राखेयता अहिलेसम्म कसैले फोहर उठाएको छैन।
बुटवल उपमहानगरपालिकाको वडा नं ३,को पुल्चोक कन्नेढुंगाहुँदै वडा नं ५,७,९ र ११ भएर २ वटा ठूला नहर तिलोत्तमा नगरपालिकाका किसानहरुकोमा सिंचाईका लागि पानि लाने गरिएको छ। सोह्र र छत्तिस मौजा सिँचाई प्रणाली नामका ती दुई नहरबाट तिलोत्तामाको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाई हुँदै आएको छ ।
‘हामीले पटक पटक बुटवल उपमहानगरपालिकासँग समन्वय गर्ने प्रयत्न गर्यौं, तर हाम्रो कुरा बुटवलले सुनेन त्यसैकारण जाली राख्न बाध्य भयौं’, छत्तिस सिँचाई समितिका अध्यक्ष यज्ञ गैरेले सेतोपाटीसँग भने।
‘बुटवल उपमहानगरपालिकाका बासिन्दाले फाल्ने फोहर र प्लाष्टिकका कारण हाम्रो खेतीयोग्य जमिन जर्जर भएको छ, हाम्रो उत्पादनमा ह्रास आएको छ पटक पटक फोहर नफाल्न आग्रह गर्यौं तर सुनुवाई भएन त्यसैले जाली राखेर फोहर रोक्ने प्रयास गरिएको हो यसबाट हामी अत्यन्त खुसी छौं,’ गैरेले भने ।
नहर आसपासका ब्यापारी तथा बासिन्दाले नहरमा फाल्ने प्लाष्टिकका झोला तथा बोत्तल, थर्मकोल, कपडा, अस्पतालजन्य फोहरका कारण किसानहरुको खेत छपक्कै ढाकिने गरेको थियो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले नहर आसपासका बासिन्दाले फोहर फाल्ने गरेका कारण समस्या भएको बताउँदै तिलोत्तमा नगरपालिका मातहत रहेका बासिन्दाबाट फोहर फाल्ने काम बन्द भएको र बुटवलका बासिन्दालाई रोक्ने दायित्व बुटवल उपमहानगर पालिकाको रहेको बताए।
‘आफ्नो फोहर ब्यवस्थापन गर्ने दायित्व सम्वन्धित नगरपनालिकाको हो अब त्यहाँ संकलन भएको फोहर समेत बुटवलले ब्यवस्थापन गर्नुपर्छ हाम्रोतर्फ हामी ब्यवस्थापन गछौं, तर अरुको फोहर ब्यवस्थापन गर्न सकिदैन,’ नगर प्रमुख घिमिरेले भने।
तिलोत्तमा नगरपालिकाले गत वर्षदेखि ‘ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा’ भन्ने नारासहित साप्ताहिक सरसफाई अभियान सन्चालन गर्दै आएको छ। नगरपनालिकाको संयोजन र स्थानीय संघ संस्था तथा युवा क्लवहरुको अगुवाईमा ३६५ दिने सरसफाई महाअभियान सञ्चालन गरिरहेको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जाली राखेको बारे आफूलाई जानकारी नभएको प्रतिकृया दिए। ‘जाली राख्ने विषयमा हामीसँग समन्वय भएको छैन त्यहाँ जम्मा भएको फोहरका कारण उतै समस्या होला,’ उनले सेतोपाटीसँग भने ।