जर्मनीका वास्तुशिल्पी वुल्फ ग्याङ कोर्नले सन् १९७० दशकमा काठमाडौं आउँदा काष्ठमण्डपको रेखाचित्र बनाएका थिए।
उनले काष्ठमण्डपमाथि चढेर एक-एक इन्च नाप्दै बनाएको आर्किटेक्चरल नक्साको मूलकपी अहिले कहाँ होला?
सन् १९६८ मा डेनमार्कबाट आएका आठ जना प्राविधिक टोलीले बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको प्रत्येक संरचना खुल्ने विस्तृत नक्सा बनाएको थियो।
त्यो दस्तावेज पनि अहिले कहाँ होला?
काठमाडौं सम्पदासँग जोडिएका यी दुवै चित्र सुरक्षित छन्, तारागाउँ संग्रहालयमा।
संग्रहालय भन्नेबित्तिकै राजा-रजौटाका पोसाक, लडाइँमा प्रयोग भएका हातहतियार, पुराना मूर्ति लगायत ऐतिहासिक सामग्री संग्रह गर्ने ठाउँ बुझिन्छ। बौद्ध, हायात होटल परिसरको तारागाउँ संग्रहालय भने फरक छ। झट्ट हेर्दा 'आर्ट ग्यालरी' को झझल्को दिने यो संग्रहालयमा काठमाडौं सम्पदाका पुराना रेखाचित्र, मनै लोभ्याउने गाउँठाउँका तस्बिर, मनाङ-मुस्ताङका पहाडी दृश्य र थुप्रै पुराना स्केच छन्।
यो एक मात्र यस्तो संग्रहालय हो, जहाँ विदेशीहरूले नेपाल आएर कोरेका महत्वपूर्ण सम्पदाका चित्र संकलित छन्।
हिजोआज नेपाल आउने पर्यटकले यहाँका तस्बिर खिचेर लैजान्छन्। कुनै दिन तिनै तस्बिरले आजको नेपालको झलक दिनेछ। विगतमा क्यामरा नभएका बेला कूटनीतिक नियोगका प्रतिनिधिदेखि नेपाल घुम्न आएका विदेशी पर्यटकले यहाँ आएर हाम्रा सम्पदाका चित्र कोरे। सिसाकलम र पानीरङबाट बनाइएका तत्कालीन नेपालका चित्रले हामीलाई हाम्रो सम्पदाको वास्तविक स्वरूप बुझ्न सघाउँछ।
नेपाल सम्पदा चिनाउने र बुझाउने ती ऐतिहासिक दस्तावेज तारागाउँमा सुरक्षित रहेको संग्रहालयका निर्देशक रोशन मिश्रले बताए।
'२०७२ को भुइँचालोमा क्षतिग्रस्त काष्ठमण्डपको एक मात्र ‘स्केल ड्रइङ’ हामीकहाँ छ। यसले काष्ठमण्डपको सिँढी, झ्याल र प्रत्येक खम्बाको मिहिन रेखांकन गरेको छ,' उनले भने, 'पुनर्निर्माणमा त्यो चित्रले मद्दत गर्ला भनेर हामीले सुरूमै बुझाउन लगेका थियौं। पहिले कसैले वास्ता गरेनन्, पछि त्यसैको खोजी भयो।'
तारागाउँ संग्रहालयको स्थापना सन् २०१४ अप्रिल २ मा भयो। सुरूआतमा यहाँ डेढ सय चित्र र स्केच प्रदर्शनीमा राखिएका थिए। अधिकांश चित्र सन् १९५० दशकपछि नेपाल आएका विदेशीले बनाएका हुन्। ती कोही कामका सिलसिलामा आएका थिए, कोही यहाँको संस्कृति बुझ्न। तिनले नेपालसम्बन्धी अध्ययन, अनुसन्धान गरे र अभिलेखहरू राखे। यी चित्र अभिलेखकै हिस्सा हुन्।
'विदेशीहरूले अभिलेख राखिदिएकै इतिहासमा हामी आफ्नो पहिचान खोजिरहेका छौं,' उनले भने, 'उनीहरूले जानी-नजानी हाम्रो इतिहासमा महत्वपूर्ण योगदान गरेका छन्। यी चित्र फेरि बन्नेवाला छैनन्। यी हाम्रा ऐतिहासिक दस्तावेज हुन्। त्यति बेला नेपाल घुम्न आएका विदेशीले जति दुःख गरेर यी चित्र बनाए, हामीले त्यसको कदर गर्नैपर्छ।'
यही सोचेर विदेशी अन्वेषकहरूसँग सम्पर्क गरी उनीहरूले बनाएका नेपालसम्बन्धी चित्र र स्केच मगाएको मिश्र बताउँछन्।
'पहिले हामी खोजी खोजी माग्न जान्थ्यौं,' उनले भने, 'अचेल उनीहरू आफैं सम्पर्क गरेर आफूले गरेका काम जिम्मा दिन आउँछन्।'
डेढ सयबाट सुरू संग्रहालयमा अहिले ५० हजारभन्दा बढी सामग्री छन्। यसमा पाण्डुलिपि, डिजिटल फोटो, भिडियो, चित्र लगायत छन्। यी सामग्री संकलनमा जर्मनीका नील्स गुत्सवले सहयोग गरेको मिश्र बताउँछन्।
गुत्सव आफैं नेपालका अध्येता हुन्। यस संग्रहालयका संरक्षक पनि।
'उहाँले २० वटा किताब जर्मन इतिहासबारे लेख्नुभयो होला। नेपालको इतिहासबारे त्योभन्दा बढी,' मिश्रले भने, 'हामीलाई उहाँले नै नेपालबारे अध्ययन गरेका आफ्ना समकालीन र अरू व्यक्तिसँग सम्पर्क गर्न मद्दत गर्नुभयो।'
यहाँ संग्रहित सामग्री इञ्जिनियरिङ, कला वा संस्कृतिका विद्यार्थी निम्ति स्रोतसामग्री बन्न सक्ने उनको भनाइ छ। नेपालका अरू कुनै पनि संग्रहालयले यस्ता सामग्री संकलन नगरेको पनि उनले बताए।
'पाटन वा छाउनी संग्रहालय जानुहोस्, त्यहाँ तपाईं विभिन्न पुरातात्विक सामानहरू पाउनुहुनेछ। योभन्दा अलग संग्रहालय स्थापनातर्फ हामीले कहिल्यै ध्यान दिएनौं,' उनले भने, 'बल्लबल्ल 'एभिएसन संग्रहालय' खुलेको छ। यसले उड्ययन क्षेत्रको इतिहास बुझाउँछ। तारागाउँलाई पनि नेपालको कला-संस्कृति बुझाउने 'आर्किटेक्चर म्युजियम' बनाउने हाम्रो उद्देश्य हो।'
संग्रहालयमा रहेका अभिलेखको महत्व भुइँचालोपछि झनै बढेको छ। भत्किएका सम्पदा पुनर्निर्माणका लागि त्यसको वास्तविक स्वरूप पत्ता लगाउन यी अभिलेख उपयोगी हुने मिश्र बताउँछन्।
उनले बुंगमतीको रातो मच्छिन्द्रनाथको उदाहरण दिए। डेनमार्कका प्राविधिकले आधा शताब्दीअघि नै बनाएर गएका बुंगमतीको नक्सा रातो मच्छिन्द्रनाथ पुनर्निर्माणमा काम लाग्न सक्छ। अहिले कम्प्युटरमा उतारिनेजस्ता बहुआयामिक दृश्य देखाउने ती नक्सा मात्र होइन, तारागाउँ संग्रहालयमा बुंगमतीका विभिन्न रेखाचित्रले भरिएको एउटा ठूलो टिनको बाकसै छ।
तारागाउँ संग्रहालय मात्र होइन, यहाँ पुस्तकालय छ। आर्किटेक्चरका किताब छन्। अध्ययन-अनुसन्धानका लागि स्रोतसामग्री छन्। कसैलाई कुनै रेखाचित्र वा संकलनबारे अलमल भए यहाँ आएर बुझ्न सकिन्छ।
यहाँको सबभन्दा पुरानो संकलन सन् १८६३ को भक्तपुरको फोटो हो। बेलायतका हेनरी ओल्डफिल्ड र राजमान चित्रकारका चित्रका नक्कल कपी पनि यहाँ संकलित छन्। भक्तपुरका अधिकांश मन्दिर र पाटन दरबार क्षेत्रका संरचना झल्किने चित्र छन्।
तीमध्ये क्लारेन्स कम्न टेलरले सन् १८६३ मा बनाएको भैरव मन्दिर, सन् १९७२ मा एर्विन स्नेडियरले खिचेको भक्तपुर र पाटनको एरियल फोटोका साथै राजमान चित्रकारले सन् १९४४ मा बनाएका चित्रका नक्कल प्रमुख छन्।
जोन ह्यारिसनले सन् १९९३ मा बनाएको मुस्ताङको चित्र, १९७१ मा कोन्सट्यान्टी गुत्सवले बनाइको दत्तात्रय मन्दिर, रोबर्ट पावेलले १९८२ मा बनाएको साँखु, क्लस कुन्जम्यानले १९८२ मै बनाएको काठमाडौंका साथै थोमस केलफ र लुइगी फिएनीले खिचेका फोटाहरू यहाँ प्रदर्शनीमा छन्।
'कुनै समय यी संरचना जिर्णोद्धार गर्नुपरे त्यसको वास्तविक स्वरूप थाहा पाउन हामीसँग अभिलेख छन्,' मिश्रले तारागाउँ संग्रहालयको महत्व दर्शाउँदै भने, 'सबै कुरा हामीले प्रदर्शनीमा राख्दैनौं। पुराना ओर्जिनल र बिग्रिन लागेका सामग्री आर्काइभ गरेका छौं। कुनै पुस्तकालयमा छन्।'
यति हुँदाहुँदै पुनर्निर्माण क्रममा ती दस्तावेज कसैले खोजी नगरेको उनले बताए।
तारागाउँ संग्रहालयमा भएका सबै सामग्री पहिचान भइसकेको छैन। धेरै सामान भण्डार भएकाले पहिचान गर्न समय लाग्ने उनी बताउँछन्।
तारागाउँ संग्रहालयको सञ्चालक 'तारागाउँ रिजेन्सी होटल्स' हो। मिश्रका अनुसार यसको आर्थिक जिम्मा सर्राफ फाउन्डेसन फर हिमालय ट्रेडिसन एन्ड कल्चरले सम्हालेको छ। निजी तवरमा सञ्चालित यो संग्रहालय घुम्न पैसा तिर्नुपर्दैन। स्कुलहरूले आफ्ना विद्यार्थीलाई नि:शुल्क भ्रमण गराउन सक्छ। संग्रहालय व्यवस्थापनसँग मद्दत लिएर चित्रहरूबारे जानकारी पनि लिन सक्छ।
तारागाउँ संग्रहालयअन्तर्गत 'नेपाल आर्किटेक्चर आर्काइभ (एनएए)' पनि छ। यसको अभियान विदेशीले नेपालबारे गरेका काम यहीँ फर्काउनु हो। ती सामग्री यहाँ अध्ययननिम्ति खुला हुने मिश्रले जानकारी दिए। कतिपय सामग्री संग्रहालयले किनेर पनि ल्याएको छ। अधिकांश यसै आएका छन्। यसरी दिइएकाको सर्वाधिकार उनीहरूसँगै छ।
यति हुँदाहुँदै स्थानीय र स्कुल-कलेजका विद्यार्थीलाई संग्रहालयसँग जोड्नु चुनौतीपूर्ण रहेको उनी बताउँछन्।
'हामीकहाँ संग्रहालय घुम्ने चलन खासै छैन। पाँच वर्षमा जम्मा १२-१५ स्कुल आएका छन्। बाटोकै छेउमा भए पनि धेरैजसो विदेशी र सम्पदा चित्रमा अध्ययन गर्नेहरू मात्र आउँछन्। आएका कति त 'के-के न होला भनेर हेर्न आएको, चित्र पो रहेछ' भनेर फर्कन्छन्। विदेशीहरू भने ४०-४५ मिनेट समय बिताउँछन्। पढ्छन्। हेर्छन्। दंग परेर जान्छन्,' उनले भने।
यही संस्कार नेपालीहरूमा फैलाउन सके बल्ल संग्रहालय प्रवर्द्धन हुने उनले बताए।
सबै तस्बिरः तारागाउँ संग्रहालय