विभिन्न शीर्षकमा कानुनविपरीत विद्यार्थीसँग शुल्क माग्दै ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजले एमबिबिएस/बिडिएस पहिलो वर्षको पढाइ रोकेको छ।
कक्षा सुरू भएको २० दिनमै उक्त मेडिकल कलेजले एमबिबिएसमा प्रतिविद्यार्थी एक लाख र बिडिएसमा ९७ हजार ९०४ रूपैयाँ अतिरिक्त शुल्क मागेको हो।
पैसा नतिरेका विद्यार्थीलाई आइतबार कक्षाबाट निकालिएको एक विद्यार्थीले सेतोपाटीलाई बताए।
कानुनविपरीत शुल्क मागेको भन्दै विद्यार्थीले आइतबार कलेजबाहिर प्रदर्शनसमेत गरेका थिए।
‘मागेको पैसा नतिरे कक्षा सञ्चालन गर्न सकिँदैन भनी आइतबारदेखि कलेजले कक्षा बन्द गरेको छ,’ ती विद्यार्थीले सेतोपाटीसँग भने, ‘ अब कहिले सुरू हुने हो पनि भनेको छैन।’
किस्ट कलेजले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को छात्रवृत्ति सिटमा भर्ना भएका विद्यार्थीलाई पनि जनहीँ चार लाख रूपैयाँ मागेको विद्यार्थीहरूले बताएका छन्।
किस्टमा पुस १ गतेदेखि एमबिबिएस/बिडिएसको पहिलो वर्षको पढाइ सुरू भएको थियो। कक्षा सुरू हुनेबित्तिकै अतिरिक्त रकम मागेपछि अभिभावकहरू आश्चर्यमा परेका छन्।
केही समयअघि विभिन्न शीर्षकहरूमा शुल्क बुझाउन भन्दै विद्यार्थीमार्फत् अभिभावकलाई बिल पठाइएको थियो।
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आइओएम, बोर्ड एक्जाम शुल्क, स्वास्थ्य बीमा, नेपाल मेडिकल काउन्सिल शुल्कलगायत शीर्षकमा कलेजले पैसा मागेको हो।
आइओएमले कात्तिक ६ गते एक सूचना प्रकाशित गरी शैक्षिक कार्यक्रममा लिइने शुल्कबारे स्पष्ट जानकारी गराएको छ। त्यसमा त्रिवि रजिस्ट्रेशन शुल्क पाँच सय र आइओएममा परीक्षा शुल्क २५०० रूपैयाँ लिनुपर्ने उल्लेख छ। त्यसबाहेक खाना र छात्रावास शुल्कमात्र लिन पाइन्छ।
किस्टले टियू शुल्क भन्दै दुबै कार्यक्रममा १२ हजार, आइओएम शुल्क भनी एमबिबिएसमा ३७ हजार र बिडिएसमा ३४ हजार ९०४ रुपैयाँ मागेको छ। यसरी तोकिएभन्दा अत्याधिक बढी शुल्क माग्नु कानुनविपरीत भएको आइओएमका डिन जेपी अग्रवालले बताए।
‘भर्ना भएका विद्यार्थीबाट बाँकी किस्ताका अतिरिक्त त्रिवि रजिस्ट्रेशन, आइओएम परीक्षा शुल्क, मेडिकल काउन्सिल दर्ता, खाना र छात्रावास शुल्कबाहेक अन्य शुल्क मागे सिधै जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी गरे हुन्छ,’ अग्रवालले भने।
आइओएमले तोकेभन्दा एक रूपैयाँ पनि बढी मागिए त्यो गैरकानुनी हुने र त्यस्तो कलेजलाई कारबाही हुने अग्रवालले बताए।
‘मेडिकल कलेजले गैरकानुनी तरिकाले रकम मागे सिडिओमा उजुरी गरे कारबाही हुन्छ,’ उनले भने। अग्रवालले प्रमुख जिल्ला अधिकारीको सिफारिसअनुसार त्यस्ता कलेजलाई एकेडेमिक कारबाही पनि हुने बताए।
किस्ट मेडिकल कलेजले विद्यार्थीसँग शुल्क मागेको स्वीकारेको छ। तर, ती कानुनविपरित नभएको उसको दाबी छ। बीमा, परीक्षा शुल्क, रजिष्ट्रेशन शुल्कलगायतमा पैसा मागिएको किस्टका एकेडेमिक कोअर्डिनेटर किशोरसिंह बस्नेतले बताए।
‘कतिपय शुल्कहरू हामीले लिनुपर्ने हुन्छ, त्यो शैक्षिक क्यालेन्डरमा हुँदैन,’ उनले भने।
बस्नेतले केही दिनको लागि कक्षा छुट्टी गरेको पनि बताए। भर्नाको औपचारिकता पूरा गर्न र अभिभावकसँग सम्झौता गर्नेलगायतका केही काम बाँकी रहेकाले विद्यार्थीलाई ‘भ्याकेसन’ दिएको उनले बताए। तर, भर्ना भइसकेपछि अभिभावकसँग पुनः कस्तो सम्झौता गर्न लागिएको भन्नेबारे खुलाउन मानेनन्।
बस्नेतले एमबिबिएस दोस्रो वर्षको परीक्षा चलिरहेकाले असजिलो भएका कारण पनि एक साता छुट्टी दिएको दाबी गरे।
‘शुक्रबारदेखि पढाइ सुरू हुन्छ, जाडो बिदा दिइएको मात्र हो, कक्षा रोकिएको होइन,’ उनले भने।
पचास जनाजति विद्यार्थीले कलेजले मागेको अतिरिक्त शुल्क बुझाइसकेको पनि उनले बताए।
किस्टमा यसपालि एमबिबिएसमा ९० जनाको सिट संख्या छ। यसमध्ये ९ जना छात्रवृत्ति सिटमा भर्ना भएका छन्। बिडिएस कार्यक्रममा ४० जनाको सिट किस्टमा छ।
एमबिबिएसतर्फ काठमाडौं उपत्यकाभित्रका मेडिकल कलेजका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकिएको छ। बिडिएसतर्फ १९ लाख ३२ हजार शुल्क छ।
उक्त शुल्कमध्ये भर्ना भएको वर्ष पचास प्रतिशत, दोस्रो र तेस्रो वर्ष २५ प्रतिशत तिर्नुपर्ने नियम छ। एमबिबिएस/बिडिएस कार्यक्रममा यी सबै शुल्क समेटेर तीन किस्तामा भुक्तानी गर्ने व्यवस्था छ।
त्यसबाहेक मेडिकल कलेजले शुल्क मागे वा लिए कानुनविपरीत हुने चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले जनाएको छ।