सुन चोर्ने नेपालीलाई खोज्दै भारतीय प्रहरी सुर्खेत आइपुगेको छ। नेपाल प्रहरीको सहयोगमा चोरी गर्ने व्यक्ति फेला परेपछि भारतको कर्नाटक राज्यस्थित बैंगलोरबाट प्रहरी सुर्खेत आईपुगेको हो।
प्रहरी इन्स्पेक्टर मेलविन फ्रान्सीसको नेतृत्वमा कर्नाटन प्रहरीको पाँच सदस्यीय टोली सुर्खेत आएको हो। सोही उद्देश्यसहित आएको उत्तर प्रदेश प्रहरीको अर्को टोली नेपाल–भारत सिमाना रुपैडियामा रहेको सुर्खेत पुगेको प्रहरी टोलीले बताएको छ ।
यही पुस १९ गते (डिसेम्बर २६) मा बैंगलोरका रियलस्टेट व्यवसायी प्रवीन कुमारको घरमा काम गर्ने नेपाली कामदारले हिरा, सुन, चाँदीलगायतका सामाग्री चोरी गरेको सुर्खेत आएको भारतीय प्रहरी टोलीले बताएको प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख महेशविक्रम शाहले जानकारी दिए ।
शाहीका अनुसार उनीहरुले २ किलो ३३५ ग्राम सुन र हिरा तथा ५०० ग्राम चाँदी बराबद गरेको छन्।
उनका अनुसार चोरीमा चार जना संलग्न थिए। ती मध्ये कालिकोटको नरहरीनाथ गाउँपालिका–९ लालुका मंगल शाही र उनकी श्रीमति सौभाग्य शाहीलाई कर्णाली प्रदेश प्रहरीको अनुसन्धान व्युरोले पक्राउ गरेको हो ।
२२ गते राति मंगल शाहीको घरमा चुलोमुनि चोरी गरेका सामाग्री लुकाएको अवस्थामा फेला पारिएको हो। श्रीमानलाई घरबाटै फक्राउ गरिएको र श्रीमति सौभाग्यलाई सुर्खेतको पिपीराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शाहका अनुसार सुनको मूल्य भारु १ करोड रहेको छ।
घर मालिक मृतक आफन्तको घरमा भेट्न गएको मौका पारी दिउँसो उनीहरुले सुनलगायतका सम्पत्ति चारेको सुर्खेत पुगेको भारतीय प्रहरी टोलीले बताएको छ। फरार रहेका दुई जनाको खोजी भैरहेको डिआइजी शाहले बताए।
सुन चोरीमा शाही दम्पत्तिका साथै उनका छोरा र भान्जा संलग्न रहेको भारतीय प्रहरीको आरोप रहेको शाहले जानकारी दिए।