दाङ घोराही १० तेघराकी पार्वती वली र उनका श्रीमान मोहन कुमार वली हरेक साता दुईपटक बुटवल आउजाउ गर्छन्। सातामा ३ दिनमात्र घरमा बस्ने वली दम्पत्ती बुटवल आउने कुनै रोजगारी वा आर्थिक उपार्जनको लागि भने होईन।
४२ वर्षिय मोहन कुमारले रोजगारीको लागि तीन वर्ष मलेसियामा बिताए। निर्माण मजदुरको रुपमा कार्यरत मोहन स्वदेश फर्किएर केहि महिना काठमाडौंमा घर निर्माण मजदुरकै रुपमा काम गरे।
२०७५ सालको शुरुमै एक्कासी थलिएका मोहनले काठमाण्डौमै अस्पतालमा परिक्षण गर्दा दुवै मृगौला फेल भएको थाहा पाए। दाङमा दुई तीन कट्ठा जग्गा भएका मोहनले दैनिक ज्यालामजदुरी गरी दुई छोरा र श्रीमती सहित चार जना परिवारको पालनपोषण गर्दै आएका थिए।
मोहन थलिएपछि उनको औषधीमुलो, स्याहार सुसार र दुई छोराको पालनपोषण र पठनपाठनको जिम्मेवारीपनि पार्वतीको कांधमा आयो। काठमाण्डौंमै विरामी भएको थाहा पाएपनि त्यहि रहेर उपचार गर्ने उनको आर्थिक अवस्था थिएन।
दाङको घोराही अस्पतालमा पुगेर परीक्षण गराए। नियमित मृगौला डायलाईसिस गराउनुपर्ने भयो। त्यहाँ सिमित संख्यामा डायलाईसिस मेशिन रहेको कारण मोहनले पालो पाउन सकेनन्। मुटुसँगै मृगौलाको समेत उपचार हुने थाहा पाएका वली दम्पत्ती बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आए। नौं महिना भयो वली दम्पत्ती मृगौला डायलाईसिसको लागि हरेक हप्ताको दुईपटक दाङबाट बुटवल आउँछन्।
सरकारले मृगौलाका विरामीको निःशुल्क डायलाईसिसको लागि मुटु अस्पताललाई सूचिकृत गरेसँगै डायलाईसिस निःशुल्क हुँदै आएको छ। तर नजिक डायलाईसिस सेवा नहुँदा र भएका अस्पतालमा समेत प्रयाप्त मेशिन नहुँदा वली दम्पत्तीले सातामा ४ हजार गाडी भाडा तिरेर दाङदेखि बुटवल आउनुपर्ने बाध्यता छ।
पायकपर्ने स्थानमा सेवा नहुँदा र भएका अस्पतालमा पनि प्रयाप्त मेशिन नहुँदा सरकारले उपलब्ध गराएको निःशुल्क डायलाईसिस सेवाले उनीहरुलाई छुन सकेको छैन।
सरकारले निःशुल्क डायलाईसिसको लागि सूचिकृत गरेका अस्पताललाई एकपटक डायलाईसिस गराए वापत २ हजार ५ सय रूपैया अनुदान दिने गरेको छ। तर मोहन कुमारलाई भने त्यही सेवा प्राप्त गर्न २ हजार रुपैया गाडी भाडा मात्रै लाग्ने गर्छ। ‘भाडा मात्रै कहाँ हो र ? एकपटक डायलाईसिस गर्न आउँदा दुई दिन बित्छ, दुई दिन होटलमा खाना खाजा खाँदा उत्ति पैसा खर्च हुन्छ,’ मोहनले भने।
बिहान ७ बजे घरदेखि हिंडेका उनिहरु सांझ बुटवल आईपुग्छन्, रातभरी डायलाईसिस गराएर भोलिपल्ट बिहानै फर्किन्छन्। ‘पर्सिपल्ट घरमा बसेपछि फेरि डायलाईसिसको लागि हिड्ने दिन आईहाल्छ,’ पार्वतीले भनिन्।
मोहन थलिएपछि पार्वतीले पनि कुनै काम गर्न पाएकी छैनन्। नजिकै डायलाईसिस गराउन पाए अरु दिन त मेला मजदुरी गर्न पाईन्थ्यो, उनले भनिन्, ‘घोराहीमा सेवा पाए बुटवल आएर निशुल्क लिनुभन्दा उतै पैसा तिरेर डायलाईसिस गर्न सस्तो पर्छ।’
अर्घाखाँचीका रमेश केशीले श्रीमतीको मृगौला डायलाईसिस गराउँदै आएको आठ वर्ष भयो। अर्घाखाँची घर भएका रमेश खेतीपाती तथा व्यवसाय सञ्चालनको कारण उतै बस्छन्। विरामी श्रीमती भने डायलाईसिसको लागि नियमित बुटवल ल्याईरहनुपर्ने बाध्यताले उनी बुटवल ढवाहमा बस्दै आएकी छन्।
विरामी श्रीमतीलाई बुटवल छोडेपनि डायलाईसिसको लागि हरेक हप्ताको तिनदिन उनी अर्घाखाँची–बुटवल ओहोरदोहोर गर्छन्। बिरामी श्रीमती र साना छोराछोरीको रेखदेख संगै आर्थिक व्यवस्थापन गर्दा निकै समस्या झेल्नुपरेको उनको अनुभव छ।
शुरुका वर्षमा वीर अस्पताल र मृगौला उपचार केन्द्रमा उपचार गराएका रमेशले मुटु अस्पतालमा डायलाईसिस सेवा शुरु भएपछि बुटवलमै उपचार गराउँदै आएका छन्।
गुल्मीका दधिराम परियारले पनि डायलाईसिस गराउन थालेको २ वर्ष भयो। १० वर्षदेखि मधुमेह र उच्च रक्तचापका विरामी परियारले मृगौला फेल भएको थाहा पाएपछि भारतमा पुगेर समेत उपचार गरे।
मृगौलामा समस्या देखिएको धेरै पछिमात्र रोग लागेको पत्तो पाएका उनको भारतमा उपचार गर्दा सबै पैसा सकिएपछि बुटवल फर्किए। अहिले उनी रातभरी लुम्बिनी ट्याक्सी तथा भ्यान व्यवसायी समितीमा चौकिदारको काम गर्छन्।
५० वर्षिय दधिरामकी श्रीमती क्षेत्रकुमारी परियारको पनि पाठेघरको अप्रेसन गरिएको कारण काम गर्न सक्ने अवस्थाकी छैनन्। चाौकिदार गरेवापत ट्याक्सी समितीले दिने मासिक ६ हजार रुपैयाबाट उनले आफ्नो र श्रीमतीको औषधीमूलो र खानपानको व्यवस्था गर्दै आएका छन्।
सरकारले सूचिकृत भएका अस्पतालमा डायलाईसिस सेवा निशुल्क गरेपनि समयसमयमा चाहिने रगत, रगत परिक्षण, औषधी तथा अस्पतालसम्म आउने गाडीभाडामै मासिक हज्जारौं रकम खर्च हुँदा विरामी परिवारमा आर्थिक व्यवस्थापन सबैभन्दा कष्टपूर्ण बन्ने गरेको छ।
सरकारले सूचिकृत गरेका अस्पतालहरुले पनि दुईवटा मात्र मेसिनबाट सेवा दिंदै आएका छन्।
प्रदेस पांचका सरकारी तथा निजी गरी ९ वटा अस्पताललाई सरकारले निःशुल्क मृगौला डायलाईसिस सेवाको लागि सूचिकृत गरेको छ। यी अस्पतालमा रहेका करिब ५० वटा मेसिन मार्फत पांच सय बढि विरामीले निशुल्क डायलाईसिस सेवा लिएका छन्।
यी मध्ये गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मात्रै २० वटा मेसिन मार्फत २ सय ७० जना विरामीको नियमित डायलाईसिस गर्दै आएको छ। त्यो संगै आर्थिक अवस्था राम्रै भएपनि नियमित अस्पताल आउनुपर्ने बाध्यताको कारण सिंगो परिवारले नै आर्थिक समस्या झेल्नुपर्ने अवस्थालाई मध्यनजर गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले भने नियमित गर्नुपर्ने रगत परिक्षण समेत निशुल्क गर्दै आएको छ।
अस्पतालका अध्यक्ष एजाज आलम सबै जिल्लाहरुमा डायलाईसिस सेवा विस्तार नहुंदा सम्म सरकारले डायलाईसिस सेवा मात्र निशुल्क गरेर विरामीहरुलाई राहत नमिल्ने बताउंछन्।
रुपन्देहीका भैरहवा मेडिकल कलेजले ८ वटा मेसिनमार्फत ८० जनालाई सेवा दिएको छ भने सिद्धार्थ सिटी अस्पताल भैरहवा र क्रिमसन अस्पताल मणिग्रामले ४/४ वटा मेसिन मार्फत ८० जना बढिलाई सेवा दिएका छन्।
निजी तथा सामुदायिक अस्पतालले ५ सिफ्टसम्म मेसिन संचालन गरेपनि सरकारी अस्पतालहरुले भने एक सिफ्ट मार्फत सेवा दिंदा विरामीहरु टाढा जान बाध्य छन्।
डायलाईसिस सेवा सुरु भएका भेरि अञ्चल अस्पताल नेपालगञ्ज, राप्ती अञ्चल अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्ग र बर्दिया जिल्ला अस्पतालले जम्मा २-२ वटा मेसिन मार्फत ६-६ जनालाई मात्र सेवा प्रदान गर्दै आएका छन्। नेपालगञ्ज मेडिकल कलेजले ५ वटा मेसिनमार्फत ५४ जनालाई सेवा दिंदै आएको छ।
अव्यवस्थीत जिवनशैली तथा विभिन्न विषादीयुक्त खानेकुराको कारण पछिल्लो समय मृगौलाका विरामीहरुको संख्या बढिरहेका छन्। तर राजधानी भन्दा बाहिर सिमित स्थानमा मात्र मृगौलाको उपचार र डायलाईसिस सेवा उपलब्ध हुँदा विरामीहरुले लामो समय भाडामै बसेर वा चर्को गाडी भाड तिरेर उपचार गराउन बाध्य छन्। एउटा विरामीलाई एकपटक डायलाईसिस गराउंदा कम्तिमा ४ घण्टा समय लाग्ने गर्छ।
मुटु अस्पतालका मृगौला रोग विशेषज्ञ डा. रजत कायस्थ नेपालमा १० प्रतिशत व्यक्तिमा मृगौलाको कुनै न कुनै समस्या भएको बताउंछन्। ‘दिनप्रतिदिन मृगौलाका विरामीहरु बढिरहेका छन्, सरकारले सिमित स्थानमा डायलाईसिस सेवा निशुल्क गरेर मात्र हुँदैन, उनले भने–‘कम्तिमा सबै जिल्लामा एकएक वटा अस्पतालमा यो सेवा बिस्तार नहुँदा सम्म निशुल्क सेवाबाट विरामीले लाभ लिन सक्दैनन्।’