रूपन्देहीमा शनिबार राति प्रहरीसँगको मुठभेडमा मारिएका व्यक्ति प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका केदार साहनी रहेको प्रहरीले जनाएको छ।
शनिबार राति १२ बजे गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीको प्रहरी टोलीसँग सिद्धार्थनगर नगरपालिका वडा नं. १० शंकरपुरमा दोहोरो फायरिङ हुँदा उनको मृत्यु भएको थियो।
सिद्धार्थनगर –६ का साहानी प्रहरीको मोस्ट वान्टेड सूचिमा थिए। रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले गस्तीमा गएको सादा पोशाकका प्रहरी टोलीसँगको जम्काभेटमा साहनीले प्रहरी टोलीमाथी फायर गरेका थिए। प्रतिरक्षाको लागि प्रहरीले गरेको जवाफी फायरिङमा साहनीको मृत्यु भएको थियो।
भारतीय सीमाक्षेत्रबाट युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनामध्ये एक जना फरार छन्। प्रहरीले चेकजाँचको लागि मोटरसाईकल रोकेपछि पछाडि बसेका व्यक्ति फरार भए पनि साहनीले प्रहरीमाथि नै फायर गरेका थिए।
साहनीले हानेको गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन्। उनको बायाँ हात गोलीको छर्रा लागेको छ।
साहनीको साथबाट एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको ३ थान गोली बरामद गरेको छ। साहनीको साथबाट पहिचान खुल्ने कुनै कागजात तथा वस्तु फेला नपरेपछि तत्काल पहिचान नखुले पनि प्रहरीले आईतबार दिउँसो मात्र पहिचान गरेको हो।
साहनीले २०७१ साल असोज ६ गते भैरहवाका आकाश गुरूङलाई अपहरण गरी गोली हानी हत्या गरेका थिए। साहानी विगतमा जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भूमिगत समूह) मा प्रवेश गरी सीमाक्षेत्रमा चन्दा आतंकमा सक्रिय थिए ।
साहनी २०६५ असारमा पेस्तोलसहित पक्राउ परेपछि हातहतियार खरखजना मुद्दामा जिल्ला कारागार चलान भएका थिए। तर, २०६६ साल माघमा कपिलवस्तु कारागारबाट सुरूङ खनेर उनी भागेका थिए।
यस्तै भारतमा बसेर विभिन्न व्यवसायीहरुलाई धम्काई चन्दा असुली समेत गर्दै आएका उनी नेपाल प्रहरीको वर्षौदेखि मोस्ट वान्टेड सूचीमा थिए।