उनी तिब्बतको ल्हासाबाट नेपाल आएका थिए। कारणवश फर्कन पाएनन्। यतै बस्नुपर्यो। त्यसैले, सधैं टाउको निहुराएर झोक्राइरहेका हुन्छन्।
हामी कुरा गर्दैछौं, भक्तपुरको प्रसन्नशील महाविहारमा रहेको दिपांकर बुद्धको।
तिब्बती बौद्ध धर्मावलम्बीहरू दिपांकर बुद्ध ल्हासाबाट भक्तपुर आएर घर फर्कन नपाएको विश्वास गर्छन्। वर्षभरि विहारमा झोक्राएर बस्ने यी बुद्धलाई मंगलबार माघे संक्रान्तिको दिन बाहिर निकालिएको थियो, सम्यक महादानको अवसर पारेर।
यस दिन काठमाडौं उपत्यकाका अन्य ठाउँमा संक्रान्ति मनाइँदा भक्तपुरका बौद्ध धर्मावलम्बीहरू भने सम्यक दान गर्छन्।
यही अवसरमा भक्तपुरका अन्य चार विहारका दिपांकर बुद्ध पनि नःपुखुस्थित जयक्रिति महाविहारको आँगनमा भेला गरिएका थिए। यसमा गोलमडीको झरबही, दूधपाटीको थथुबही र कटुबही तथा साकोथाकाे चतुब्रम्ह महाविहारका बुद्धहरू थिए। सबै बुद्धको अनुहार रातो थियो। मुद्रा भने फरक।
‘यी दिपांकर बुद्ध रत्नसम्भव, अक्ष्यभय, बौलोचन, अमृतामभव र अमोद्धसिद्धि हुन्। सम्यक दानमा यी बुद्धलाई राखेर बौद्ध धर्मावलम्बीहरूले संक्रान्तिको घ्यू–चाकु दिन्छन्। सियोदेखि उत्पादन भएका अन्य कुराहरू दान गर्ने चलन छ,’ देवताका नाइके सानुभाइ बज्राचार्यले भने, ‘यो दिन दानका लागि राम्रो मानिन्छ। पञ्चदानको समयमा पनि यसरी नै बुद्धहरू राखेर दान गर्ने चलन छ।’
संस्कृतिविद् ओम धौभडेलका अनुसार यसै दिनबाट कर्कट राशिमा रहेको सूर्य मकर राशिमा प्रवेश गर्छ। मकर राशिमा प्रवेश गर्दा सूर्यको तेज बढ्छ। त्यो भनेको हिजोको चिसोबाट बाँच्ने आशा पलाएको दिन हो। यसैको खुसियालीमा उत्सव मनाउने र दान गर्ने परम्परा संक्रान्तिमा छ।
मल्लकालीन राजा रणजीतको समयमा थथुबहीमा जयक्रिति बज्राचार्य भन्ने व्यक्तिले ३६० रोपनी जग्गा दान गरेर सम्यक दानको परम्परा सुरु गरेको धौभडेल बताउँछन्।
'सम्यक दानको परम्परा काठमाडौं र पाटनमा पनि छ,' उनले भने, 'काठमाडौंमा १२ वर्षमा एकपटक मात्र मनाइन्छ भने पाटनमा ५ वर्षमा हुन्छ।'
बौद्ध धर्मावलम्बीहरूले दिपांकर भनेर मान्ने यी पाँच बुद्धलाई हिन्दुहरूले पाँच पाण्डव भनेर सम्बोधन गर्छन्। बौद्ध धर्मावलम्बीहरूको यसमा आपत्ति छ।
‘पाचँवटा हुँदैमा र उस्तै रंगको हुँदैमा कहाँ पाण्डव हुनु?’ बुद्धमार्गी प्रदीपरत्न शाक्यले भने, ‘के पाण्डवहरू बुद्धले जस्तो विभिन्न मुद्रा बनाएर बस्छन् र?’
विश्वास जे भए पनि मंगलबार जब जयक्रिति महाविहारको आँगनमा यी बुद्धहरू भेट भए, उनीहरू छुट्टिएका दाजुभाइ वर्षौंपछि भेटिएजस्ता देखिन्थे। एकअर्कालाई अभिनन्दन गर्दै हिँडेका।
विहानै महादान निम्ति प्रत्येक विहारमा तयारी चल्दै थियो। सुरुमा बुद्धलाई सधैंको स्थानबाट निकालियो। उनीहरूले लगाइरहेको लुगा र गहना फेरियो। बुद्धको शरीरभित्र पालो परेका बौद्धमार्गी प्रवेश गरे। त्यसपछि बाजागाजासहित सहर घुमाउँदै अन्तिममा सबै थथुबही पुगे।
सुरुमा प्रसन्नशील महाविहारका बुद्धलाई बाजागाजाको टोली लिन गए। गोलमडी पुगेपछि उनको भेट अर्का दिपांकर बुद्धसँग भयो। उनीहरूको साक्षात्कार युधिष्ठिर र भीमसेनको जस्तै देखिन्थ्यो।
गोलमडीका बुद्ध प्रसन्नशीलका बुद्धका पछि लामबद्ध भए। त्यसैगरी, साकोटा, कुटुबही र थथुबहीका बुद्ध लामबद्ध हुँदै जयक्रिति महाविहारको आगँनमा लस्करै बसे। बौद्धमार्गीले पाण्डव नमाने पनि प्रसन्नशीलका बुद्ध जेठो र कटुबहीका बुद्ध कान्छो भन्ने चलन रहेछ। त्यहाँ अन्य चार सुनौला बुद्ध पहिल्यै थिए, जुन सहायक बुद्धहरू भएको प्रदीपरत्नले बताए।
जयक्रिति महाविहार पुग्दा भजन चल्दै थियो। त्यो ज्ञानमाला भजनमा बुद्धको सन्देश मात्र नभई सामाजिक सुधारका सन्देश पनि रहेको शाक्यले जानकारी दिए।
जयक्रिति महाविहार छिर्नुअघि पाँच दिपांकर बुद्धले नैबेद्य पानी खाए। त्यसपछि खिर। बुद्धले खाने खिर पहिले नःपुखुको पानीले बनाइने देवताका नाइके सानुभाइ बताउँछन्। समयक्रममा पोखरी फोहोर भयो। त्यसैले अचेल पानी छर्किने मात्र गरिन्छ।
सानुभाइले नःपुखु र दिपांकर बुद्धको किम्बदन्ती सुनाए।
थथुबहीस्थित जयक्रिति महाविहार र कटुबहीस्थित बौद्ध संक्रित विहारमा दाजुभाइ बस्दा रहेछन्। जयक्रितिमा रहेका दाजुले सम्पत्ति सबै अरूलाई दिन थालेछन्। त्यो पनि अर्को जुनीमा तिर्ने हिसाबले। कटुबहीका भाइले त्यो कुरा चाल पाएछन्। उनी आफैं दाजुकहाँ ऋण माग्न गएछन्। त्यो पैसाले उनले नःपुखु बनाए।
त्यही नःपुखुको पानीले हुक्का भरेर दाजुले खान थालेछन्। पछि ऋण तिर्ने कुरा आउँदा भाइले पोखरीको पानीले हुक्का तानेकाले दाजुको ऋण तिरिसकेको बताएछन्। सम्पत्ति नपाएपछि दाजुले पोखरी आफ्नो बनाए। त्यसको पानीले पञ्चदेवतालाई खिर बनाएर खुवाउन थाले।
‘त्यही बेलादेखि यो पोखरीको पानीले खिर बनाएर देवतालाई खुवाउने चलन सुरू भएको विश्वास छ। अचेल फोहोर भएकाले सम्भव छैन्,’ सानुभाइले भने।
करिब ३५० वर्षदेखि चल्दै आएको सम्यक महादान गर्ने जयक्रिति महाविहारको जग्गा पछिल्लो समय अतिक्रमणमा पर्दै आएको छ। सरकारी निकायले गुठीको जग्गा भन्दै उपभोग गर्दा परम्परामा क्षति पुग्न सक्ने सानुभाइ बताउँछन्।
एसियाली मुलुकका बौद्ध धर्मावलम्बीहरू दिपांकर बुद्धलाई तारा लगायतका नामले पुकार्छन्। तिब्बतीहरूले प्रसन्नशील महाविहारको जुन दिपांकर बुद्धलाई ल्हासा फर्कन नपाएर झोक्राएको विश्वास गर्छन्, त्यसबारे सानुभाइको धारणा फरक छ।
‘प्रसन्नशीलको दिपांकरलाई रत्नसम्भव बुद्ध पनि भनिन्छ। उनी बाटामा हिँड्दा कुनै पनि कीरा नमरोस् र पाप नलागोस् भनेर भुइँमा निहुरिएर हिँडेका हुन्,’ उनले भने।
संस्कृतिविद धौभडेलका अनुसार करिब ७ सय वर्षअघि मदनसिंह रामवर्दन नामका व्यक्तिले भक्तपुरमा दिपांकर बुद्ध स्थापना गरेका थिए।
सबै तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी