चार वर्षअघि कालिमाटीदेखि बल्खु हुँदै त्रिभुवन विश्वविद्यालय जाने बाटो फराक पारियो। विस्तार क्रममा बाटो छेउका घरमाथि रातारात डोजर चलाइए। घरधनीले मुआब्जा निम्ति संघर्ष गर्नुपर्यो।
तै स्थानीयले चित्त बुझाए। बाटो फराकिलो भयो, दुवैतिर फुटपाथ बन्यो। गाडी र पैदलयात्रु दुवैलाई सहज।
यो अवस्था धेरै दिन टिकेन। नयाँ बाटो फेरि साँघुरियो। सडकले ओगटेको क्षेत्रफल त ठूलो थियो, तर गाडीका टायर अटाउने ठाउँ साँघुरो।
यसका दुई कारण थिए।
पहिलो, सडकसँग जोडिएका पसल सडकतिरै फैलिए। चिया पसलका कुर्सी फुटपाथमा तेर्सिए। मोटरसाइकल वर्कसपको बजार सजियो। निर्माण सामग्रीहरू फुटपाथदेखि सडकसम्मै चाङ लागे।
दोस्रो, सडकका दुवै किनारमा गाडी लस्करै रोकिन थाले। फराक बाटो मोटरसाइकल, कार, ट्रक र ट्रयाक्टरको पार्किङ बन्यो। पसलधनीहरूका लागि दिनभरि सवारी थन्क्याउने ठाउँ भयो।
परिणाम- न गाडी सुइँसुइँती कुद्न पाए, न पैदलयात्री ठम्ठम्ती हिँड्न।
'बाटो फराकिलो भए हिँडडुल गर्न सजिलो होला भनेको, कहाँ पाएर हुनु? सडक छेउछाउ गाडी रोकेर झनै अप्ठ्यारो,' मोटरसाइकलमा दैनिकजसो यही बाटो आउजाउ गर्ने बल्खुका सुरेश ताम्राकारले भने।
'साँघुरो हुँदा बरू सिधा जान सकिन्थ्यो। पार्किङ गरेका गाडीले डिस्टर्ब गर्थेन। अहिले त छेउछेउ सर्रर गयो, बीचमा गाडी तेर्सिएको हुन्छ। मोडिनै पर्यो। स्वाट्ट मोडिँदा पछाडिबाट हुँइकिएर आएको गाडीले ठक्कर देला भन्ने डर। यसरी नै मोडिँदा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन्।'
ऐनले सार्वजनिक सडकमा गाडी रोकेर वा व्यापारिक मालसामान राखेर अवरोध गर्न रोक लगाएको छ। यस्तो गरेको भेटे कारबाही हुने भनेको छ।
कारबाही त परको कुरा, सम्बन्धित निकायको आँखा पनि पुगेको छैन। उल्टो त्यस्ता निकायले नै प्रश्रय दिएका कयौं उदाहरण छन्।
सडकका यस्ता गतिविधि नियन्त्रण गर्ने काम महानगरपालिका र ट्राफिक कार्यालयको हो। काठमाडौं महानगरले काठमाडौंका मुख्य पाँच सडकमा पार्किङ सुविधा दिएको छ। कालिमाटी-बल्खु-त्रिवि सडक त्यसैमध्ये एक हो।
दरबारमार्ग, केएमसी अस्पताल, बागबजारको पद्मकन्या क्याम्पसअगाडि र सोह्रखुट्टेतर्फ खोलाको बाटोमा पनि सवारी पार्किङ गर्न छुट छ। यी क्षेत्रमा एउटा सवारी दुई घन्टासम्म राख्न पाइन्छ। तोकिएभन्दा बढी राख्ने दुईपाङ्ग्रेलाई दुई सय र चारपाङ्ग्रेलाई हजार रूपैयाँ जरिवाना लाग्ने महानगरीय ट्राफिक प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए।
'पार्किङको उचित बन्दोबस्त नहुञ्जेल महानगरले यस्तो व्यवस्था गरेको हो,' उनले भने।
यो व्यवस्थाले ल्याएको बिजोग पद्मकन्या क्याम्पस र केएमसी अस्पतालअगाडि देखिन्छ। यहाँ मान्छे हिँड्ने फुटपाथदेखि सडकको एक लेनसम्म सवारीले ढाकिएको हुन्छ।
सडकमै पार्किङ छुट किन दिएको भन्ने प्रश्नमा पन्तले जवाफ दिए, 'नियमले त सडकमा पार्किङ सुविधा दिनै हुन्न। सडक भनेको गाडी कुदाउन हो। तर, हाल व्यवस्थित ठाउँ नभएको र यी सडकमा गाडी चाप खासै हुँदैन भनेर पार्किङ गर्न दिइएको हो।'
सवारी चाप कम भएका ठाउँमा मात्र पार्किङ गर्न दिएको तर्क मान्ने हो भने त्यस्ता ठाउँमा जनताका घर भत्काएर सडक किन विस्तार गरियो भन्ने प्रश्न पनि उठ्छ। कुनै पनि सडक बढाउनुअघि कति गाडी कुद्छन्, कति फराकिलो चाहिन्छ भन्ने अध्ययन गरिनुपर्ने हो। खासै चाप नहुने ठाउँमा सडक फराक पारेर पार्किङ गर्न दिनुलाई स्थानीयले सहज रूपमा स्वीकार्न सकेका छैनन्।
समस्या मुख्य सडकको मात्र होइन। बस्तीबीचका सहायक बाटोको ताल उही छ।
बल्खुबाट पुल्चोक निस्कन सानेपा, साँचल मार्ग रिङरोडको वैकल्पिक बाटो हो। यहाँ गाडी चाप धेर हुन्न। आवासीय क्षेत्रको यो बाटो गत वर्ष फुटपाथधरि मासेर फराक पारिएको थियो। दुइटा साना गाडी सहजै आरपार हुन सक्छन्, भलै पैदलयात्रुलाई हिँड्न सकस किन नहोस्।
अहिले यही बाटो फेरि साँघुरो लाग्न थालेको छ। गाडीको चाप ह्वात्तै बढेर होइन। फुटपाथ मासेर चौडा पारिएको सडककिनार जथाभाबी गाडी पार्क गरिएका हुन्छन्। कति गाडी त दिनैभरि राखिने स्थानीय बताउँछन्।
'हामी हिँड्ने फुटपाथ मासेर फराक पारेको बाटो गाडी तेर्स्याउन काम लागेको छ,' एक स्थानीयले गुनासो गरे।
यहाँबाट सानेपा चोकतिर उकालो लागौं। सडक दायाँ-बायाँ नै पार्किङ देखिन्छ। अझ अगाडि पार्टी प्यालेसबाहिर साँझपख दिनहुँजसो गाडी लस्कर लागेको हुन्छ। एक लेन ढ्याम्मै। सडक जतिसुकै फराकिलो होस्, सवारी कुद्ने त्यही बीचको सानो बाटो।
बस्तीबीच घरका पर्खाल र फुटपाथ मासेर फराक पारिएका अधिकांश सडक यसैगरी पार्किङ थलो बनेको हामीले देखेका छौं। उपत्यकाका सहायक सडकहरू फराकिलो पार्ने क्रम जति तीव्र छ, सडकमै गाडी पार्किङ गर्ने क्रम पनि बढेको छ।
पार्किङको समस्या महानगरले तोकेका सडकमा मात्र होइन, त्यसबाहेकका मुख्य सडक पनि पार्किङको समस्याबाट बचेका छैनन्।
ट्राफिक प्रहरीको आँखा नपर्ने ठाउँमा मोटरसाइकल र गाडी तेर्सिएकै हुन्छन्। भर्खरै बनेको आठलेनको रिङरोडमै यो देखिन्छ। झन् आक्कलझुक्कल मात्र ट्राफिक प्रहरी पुग्ने सहायक सडकको हालत के होला? चाहे अनामनगर, हनुमानथानबाट न्यूप्लाजा निस्कने बाटो होस् वा अलि माथि कालिकास्थान, चाहे टेकु होस् वा सानेपा- जुनसुकै भित्री सडकको एकतिहाइभन्दा बढी हिस्सा सवारी पार्किङले ढाकेको हुन्छ।
कार्यालय समयमा सहायक बाटो हिँड्नु झनै सकसपूर्ण छ। मुख्य बाटोमा चाप हुन्छ भनेर सहायक बाटो समात्नेहरू धेरै हुन्छन्। बाटामा तेर्सिएका गाडीले आवागमनमा अवरोध ल्याउँछ। अवरोध फुकाउन ट्राफिक प्रहरी नआइपुग्ने हुँदा यात्रुहरूले लामै समय कष्ट झेल्नुपर्छ।
'यताबाट आउनेलाई नि हतारो, उताबाट आउनेलाई नि,' मैतीदेवीका अनुप निरौलाले भने, 'बीचमा गाडी रोकेको हुन्छ। सबै फस्छन्। कहिलेकाहीँ त कुनै उपाय लाग्दैन। आधा घन्टासम्म अड्किएर बस्नुपर्छ।'
सडक विस्तार र पार्किङ प्रवृत्ति हेर्दा सरोकारवाला निकायको प्राथमिकता गाडी मात्र हो कि भन्ने भान पर्छ। यहाँ 'कालोपत्रे विकास' का नाममा फुटपाथ मासिएका छन्। नयाँ बन्ने सडकमा ढल छोप्ने स्ल्याबलाई फुटपाथको नाम दिइएको छ। साइकलनिम्ति लेन बनाउन आवाज उठ्दा 'ठाउँ पुग्दैन' भनिन्छ। अनि जब सडक साँघुरो भयो भनेर फराकिलो पारिन्छ, त्यही ठाउँमा दुई/तीन मिटर ओगट्ने गरी गाडी पार्किङ गर्न छुट दिइन्छ।
के काठमाडौंमा जनताको घर भत्काएर सडक विस्तार गरेको गाडी पार्किङ गराउन हो?
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी