रूपन्देहीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित तीन जना काठ चोरी गर्दैगर्दा पक्राउ परेका छन्।
गत पुस ३० गते राति वन कार्यालयको गस्ती टोलीले काठ चोरी गरी लैजाँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
रुपन्देहीको कन्चन गाउँपालिका वडा न ५ फायरलाईनबाट १ सय ४४ क्यूफिट सालको काठसहित जिल्ला बन कार्यालय रुपन्देही अन्तर्गत सेक्टर बन कार्यालय रुद्रपुरको बन रक्षकहरुको टोलिले नियन्त्रणमा लिएको थियो।
जिल्ला बन कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा कन्चन गाउँपालिका पिपरीचापाका चाम बहादुर थापा, चन्द्र बहादुर परियार र छबिलाल झाँक्रि छन्।
पक्राउ परेका मध्ये चाम बहादुर थापा कन्चन गाउँपालिका वडा नं.५ पिरीचापामा रहेको ज्ञानोदय आधारभूत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुन्।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीबाट ५ दिनका लागि म्याद थप गरी जिल्ला बन कार्यालयको नियन्त्रणमा राखिएको बन अधिकृत कृष्ण सुवेदीले जानकारी दिए।
उनीहरुले ट्याक्टरमा लोड गर्दै गरेको सालको गुलिया र ट्याक्टर वन कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकाहरुलाई बन ऐन अन्तर्गत कारवाही हुने सेक्टर बन कार्यालय रुद्रपुरका जमदार राम निवास चौधरीले बताए। रूपन्देहीको रुद्रपुर, सालझण्डी, फायरलाईन, देवदहलगायतका वनक्षेत्रबाट दैनिक जसो काठ चोरी हुने गरेका छन् ।