तपस्वीको भेस धारण गरेका रामबहादुर बमजनले आफ्ना आश्रममा बस्ने आनी र चेलाहरूमाथि बलात्कार, हत्या र हिंसाको दुष्चक्र चलाएको सार्वजनिक भएपछि पनि किन उनलाई पक्राउ नगरिएको भन्ने प्रश्न सर्वत्र उठिरहेको छ।
प्रहरीले भने यसमा अनुसन्धान भइरहेको भन्ने सामान्य जवाफ दिँदै आएको छ।
उनको आश्रममा चलेको बलात्कार, हत्या र हिंसाको दुष्चक्रबारे महिना दिनअघि सेतोपाटीले शृंखलाबद्ध समाचार छापेको थियो। आश्रमबाट बेपत्ता आनी र चेलाका परिवारले त्यसलगत्तै प्रहरीमा जाहेरी दिएका थिए।
उनीहरूको जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको बताउँदै आएको छ। प्रहरीको एउटै जवाफ छ, ‘अनुसन्धान भइरहेको छ। हामी प्रमाण जुटाउँदै छौं।’
यसबीच प्रहरीले कस्ता-कस्ता प्रमाण जुटायो? क-कसको बयान लियो? अनि के-के गर्यो?
बमजनमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को एक टोलीले काम गरिरहेको छ। उजुरी परेका चार जिल्ला नुवाकोट, मकवानपुर, बारा र सर्लाहीसहित सिन्धुपाल्चोक र सिन्धुली जिल्ला प्रहरी कार्यालयलाई उक्त टोलीले समन्वय गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक उमा चतुर्वेदीले जानकारी दिए।
‘हामीले उजुरी परेका जिल्ला, आनी बेपत्ता भएको भनिएको आश्रम र बमजन बसिरहेको आश्रम पर्ने जिल्लाका प्रहरी कार्यालयसँग मिलेर अनुसन्धान गरिरहेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘खानतलासी, बयान र सूचना संकलनका साथै भेटिएका तथ्यप्रमाण विश्लेषण गरिरहेका छौं।’
मकवानपुरका महिन्द्र वाइवाले आफ्ना बाबु सञ्चलाल सिन्धुपाल्चोक आश्रमबाट हराएको भन्दै खोजिदिन प्रहरीमा जाहेरी दिएका थिए। आश्रमकै एक पूर्वचेलाले सञ्चलालको हत्या भएको बताएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।
सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले पुस २० गते बमजनको बडेगाउँस्थित टोड्केभीर आश्रम खानतलासी गरेको थियो।
ती प्रत्यक्षदर्शी चेलाले बताएअनुसार, २०७१ चैतमा बमजनले कुट्दाकुट्दै सञ्चलालको ज्यान गएको थियो। त्यसपछि आश्रमभन्दा माथिको डाँडामा खाल्डो खनेर गाडिएको थियो। उनको शवमाथि नुनका पोका खन्याइएको पनि उनले बताएका थिए।
उनले देखाएकै ठाउँमा गएर प्रहरीले उत्खनन् गर्दा नुनका पोका बीचबाट च्यातिएको अवस्थामा फेला परे। कंकाल भने फेला परेन। नुनका पोकाले नगलाएपछि बमजनले सञ्चलालको शव झिकेर डढाएको हुन सक्ने प्रहरीको अनुमान छ। थप प्रमाण फेला नपरेकाले अहिल्यै केही भन्न नसकिने सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले बताए।
‘शंकास्पद ठाउँमा अझै पनि प्रहरीले उत्खनन् गरिरहेको छ,’ उनले भने, ‘हामी मुद्दा बलियो हुने गरी ठोस प्रमाण जुटाउन तिर लागेका छौं।’
सञ्चलालसँगै कुटाइ खाएका अर्का चेला इन्द्रमान स्याङताङलाई सिन्धुली आश्रमबाट बोलाएर सोधपुछ गरिएको थियो। उनीबाट अहिलेसम्म सञ्चलालको हत्याबारे कुनै सूचना नपाएको प्रहरीले बताएको छ।
स्रोतका अनुसार, उनले आफूलाई केही थाहा नभएको बताए पनि पोलिग्राफ टेस्टमा उनले झुट बोलेको देखिएको छ।
सिन्धुपाल्चोक प्रहरीले सञ्चलालको हत्या भएको हो कि होइन भन्ने अनुसन्धान गर्नुका साथै बेपत्ता पारिएका आनी र चेलाबारे पनि खोजी गरिरहेको जनाएको छ।
‘सिन्धुपाल्चोकबाटै हराएको भन्ने जाहेरी भएकाले सिन्धुपाल्चोक प्रहरीलाई बढी जिम्मेवारी आएको छ,’ एसपी मरासिनीले भने, ‘हामीले जाहेरी दिने परिवारका सदस्यलाई बोलाएर सोधपुछ गरिरहेका छौं।’
बमजनको आश्रम गएका आफ्ना बुबा खोजिदिन भन्दै मकवानपुरका महिन्द्र वाइवा, छोरा खोजिदिन भन्दै बाराका हस्तबहादुर आलेमगर, दिदी खोजिदिन भन्दै मकवानपुरका विजय रूम्बा र बहिनी खोजिदिन भन्दै नुवाकोटकी गंगामाया तामाङले आ-आफ्ना जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। उनीहरू सबै सिन्धुपाल्चोक आश्रमबाटै हराएकाले ती सबै जिल्ला प्रहरीले सिन्धुपाल्चोकसँग समन्वय गरिरहेका छन्।
उता, सर्लाहीको बागमती नगरपालिकास्थित काजिराम टोलकी रिता बोट हराएको भन्दै उनकी आमा सुम्नी बोटले दिएको जाहेरीमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्लाहीका एसपी पोषराज पोखरेलले रिताका परिवार र आफन्तसँग सोधपुछ भइरहेको जानकारी दिए।
‘हामीले पाँच जनाको टोली गठन गरेका छौं,’ उनले भने,‘पुरानो केस भएकाले अलि जटिल भने छ।’
बमजनको बारास्थित हलखोरिया आश्रमबाट रिता हराएको भन्ने उजुरी परेकाले बारा प्रहरीलाई पनि सहयोग गर्न भन्दै पत्र काटेको उनले बताए।
सिआइबीले भने बेपत्ताहरूको अवस्थाबारे वास्तविकता पत्ता लगाउँदै गरेको जनाएको छ।
‘विभिन्न जिल्लामा परिवारका सदस्य बेपत्ता भएको पाँचवटा उजुरी परेका छन्,’ सिआइबी प्रवक्ता चतुर्वेदीले भने, ‘उनीहरू बमजनको आश्रममा गएदेखि हराएसम्मका गतिविधि र अन्य सूचना संकलनको काम भइरहेको छ। उनीहरू बाँचेको अवस्थामा छन् कि छैनन् भन्नेबारे वास्तविक तथ्य खोजिरहेका छौं।’
तीन आनी बेपत्ता र एक अनुयायीको हत्या लगायत बमजन आश्रममा हुने यौन शोषण, हत्या-हिंसाबारे सेतोपाटीमा सातवटा स्टोरी छापिएका थिए। पढ्नुहोस सबै स्टोरी :
पहिलो स्टोरी- बमजन आश्रममा यौन शोषण, हत्या-हिंसाको दुष्चक्र
दोस्रो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या
तेस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा
चौथो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्
पाँचौं स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?
छैठौं स्टोरी- बमजनको आश्रमबाट पाँचौं व्यक्ति पनि बेपत्ता
सातौं स्टोरी- बमजन आश्रमबाट बेपत्ता चार जनाका परिवारले दिए प्रहरीमा जाहेरी
बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीको छापा