रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बेलहियामा बनाउन लागेको प्रवेशद्वारको शिलान्यास गरिएको छ।
नगरपालिकाले नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक पर्यटकीयद्वार बनाउन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ।
प्रवेशद्वारको प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले शिलान्यास गरेका हुन्। प्रवेशद्वारको शिलान्यास गर्दै भुसालले लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको विकास गर्नुपर्ने बताए। भुसालले पर्यटन क्षेत्रको विकासमा सो द्वार कोशेढुंगा सावित हुने बताए।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले नगरमा न्यून बजेट हुँदाहुँदै पनि विभिन्न माध्यमबाट स्रोत जुटाई पर्यटन प्रवर्द्धन गर्न लागिएको बताए। उनले नगरभित्र बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रवेशद्वारले सहयोग पुग्ने दाबी गरे।
चार करोड ७५ लाखमा निर्माण हुने द्वार दुई वर्षभित्र सक्नेगरी प्रकृति निर्माण सेवा प्रालि भैरहवाले निर्माण गर्ने जिम्मा पाएको छ।
आर्थिक तथा पर्यटकीय क्षेत्रमा फड्को मारिरहेको नगरभित्र बुद्ध चिनारीसहित पर्यटकीय द्वार बन्न लागेपछि भैरहवा क्षेत्रका व्यवसायीहरू उत्साहित भएका छन्।
संस्कृतिविद् डा. गितु गिरी र नाट्टा प्रदेश पाँचका अध्यक्ष विष्णु प्रसाद शर्माले रुपन्देहीमा पर्यटकको आकर्षण बढाउन द्वारले महत्वपूर्ण भूमिका खेल्ने भएकाले समयावधि भित्रै निर्माण सम्पन्न गर्न आग्रह गरे।
यसअघि नेपाल भारत सीमाक्षेत्र बेलहियामै निर्माण गर्ने भनिएको उक्त गेट अहिले भने सीमा नाकादेखि एक किलोमिटर वर डण्डा नदीको छेउमा बनाउन लागिएको हो।
भारतीय नाका हुँदै आउने पर्यटकहरूलाई नेपाल र बुद्धभूमि आइपुगियो भन्ने सन्देश दिन कलात्मकद्वार निर्माण गर्न लागिएको हो। तर बेलहिया वाशी भने सीमा क्षेत्रमा निर्माण हुनुपर्ने प्रवेशद्वार एक किलोमिटर पर लगेर निर्माण गर्न लागेकोमा रूष्ट छन्।
गृहलक्ष्मी समूह बेलहियाका अध्यक्ष देवी न्यौपाने दशगजा पार गर्ने वित्तिकै निर्माण गर्नुपर्ने प्रवेशद्वार एक किलोमिटर टाढा लगेर नगरपालिकाले बेलहियावासीको अपमान गरेको बताइन्। उनले नाकाबन्दी, मधेश आन्दोलन र सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधिविरूद्ध लड्दै आएका बेलहियावासीलाई सिद्धार्थनगर पालिकाले बाहिर राखेको बताइन्।
प्रवेशद्वार निर्माण गर्न लागिएको डण्डा खोलामा नगरपालिकाले फोहोर थुपार्ने गरेका कारण दुर्गन्धित रहेको उनले बताइन्।
भारतले सीमा अतिक्रमण गर्दै आइरहेको अवस्थामा बेलहियालाई बाहिर पारेर प्रवेशद्वार निर्माण गर्दा भोलि बेलहिया नेपालको नरहला कि भन्नेमा बेलहियावासी चिन्तित छन्।
प्रवेशद्वार ५० मिटर लम्बाइ, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो हुनेगरी डिजाइन गरिएको छ। द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोक स्तूप, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा र बुद्ध झण्डाले सिंगारी नेपालकै नमूना गेट बनाइने नगरपालिकाको दाबी छ।
नगरपालिकाले आकर्षक प्रवेशद्वार निर्माणसँगै डण्डा नदीमा बोटिङ सञ्चालन गर्ने र आकर्षक पार्क बनाउने गरी डण्डा करिडोरको अवधारणा अघि सारेको छ।
सिद्धार्थनगर भएर बग्ने १५ किलोमिटर डण्डा नदीबाट रुपन्देहीको ओमसतिया, रोहिणी र सिद्धार्थनगर नगरपालिकाको केही मात्र क्षेत्र सिञ्चित हुने गरेको छ भने अधिकांश पानी भारतले सिँचाइको लागि लगेको छ।
नगरपालिकाले नगरक्षेत्रभित्र बग्ने १५ किलोमिटरलाई कृषियोग्य भूमि, रिक्रियसन सेन्टर र शैक्षिक तथा अनुसन्धान क्षेत्रको रूपमा गरी तीन भागमा बाँडेर विकास गर्ने योजना बनाएको छ ।