स्कुले अभिभावकको बिहानी समय हतारमै बित्छ।
अफिस जान त बरु ठूलो कुरा भएन। त्योभन्दा हतार, नानीबाबुलाई तयार गराएर स्कुल पठाउन।
धेरै निजी स्कुल बिहान ८ बजे सुरु हुन्छन्। आठ बजेको स्कुल भ्याउन ढिलोमा ७ बजे निस्कनुपर्यो। सात बजे निस्कन ढिलोमा ६ बजे उठिसक्नुपर्यो।
अनि त, निद्रामै झाङलझुङल पारेर उठायो। पाक्कपुक्क खुवायो। स्वाँटसुट ड्रेस लगाइदियो। झोलाको भारी टम्म भिरायो। गुटुटु कुदायो।
सिपाहीहरू ब्यारेकबाट परेड खेल्न निस्कने बेला केटाकेटीलाई स्कुल दौडाएर स्तरीय शिक्षा सुनिश्चित हुने हो र?
निद्रा बिथोलिएर कक्षामा निहुरीमुन्टी विद्यार्थीले पढाएको के बुझ्लान्? कसरी सिक्लान्?
यस्तो प्रवृत्ति फैलिनुका दुई कारण छन्।
एउटा हो स्कुल आफैं, जो आफ्नो सुविधाका लागि विद्यार्थीलाई ८ बजे नै बोलाउँछन्। नौ–दस बजेको ‘अफिस टाइम’ मा सडक जाम छिचोलिनसक्नु हुन्छ। त्यही जाम छल्न धेरै स्कुल एकाबिहानै पहिलो घन्टी बजाउँछन्।
अर्को हो अभिभावक, जो ठूलो ब्रान्डको पछाडि लागेर सहरको वल्लो छेउबाट पल्लो छेउ पढ्न पठाउँछन्। घरबाट धेरै टाढाको स्कुल जाने केटाकेटीको बिहान एक–डेढ घन्टा र बेलुकीको एक–डेढ घन्टा सडकमै बित्छ। बेफ्वाँक समय खर्च।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले यी दुवै समस्याको हल खोज्दै ‘स्कुल क्षेत्र निर्धारण गर्न’ सुझाएको छ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २५ सदस्यीय आयोगले अघिल्लो महिना सरकारलाई हस्तान्तरण गरेको प्रतिवेदनमा पहिलोपटक यस्तो अवधारणा अघि सारेको हो।
अब प्रश्न उठ्छ, स्कुल क्षेत्र निर्धारण भनेको के हो?
हामीले यसबारे आयोगका सदस्य प्राध्यापक विद्यानाथ कोइरालासँग कुरा गर्यौं।
उनका अनुसार क्षेत्र निर्धारण गर्दा कुन ठाउँमा कतिवटा स्कुल सञ्चालन गर्ने भनी नक्सांकन गरिन्छ। यसमा निजी तथा सामुदायिक स्कुल दुवै पर्छन्।
‘स्थानीय सरकारसँग मिलेर नक्सांकन गरी क्षेत्र तोकिन्छ,’ कोइरालाले सेतोपाटीसँग भने, ‘सबै स्कुलको गुणस्तर, सुविधा र क्षमता एकनास बनाइन्छ। जहाँ पढे पनि शैक्षिक स्तर बराबर हो भनी सुनिश्चित गरिन्छ। यसले स्तरीय स्कुलको खोजीमा केटाकेटीलाई टाढा–टाढा पठाउने प्रवृत्ति स्वतः कम हुन्छ।’
उनका अनुसार कुनै अभिभावकले आफ्नो क्षेत्रको स्कुल मन नपरेर बाहिर पढाउन पाउँछ। यसको निम्ति अतिरिक्त लगानीको जिम्मा र यसबाट पर्ने असुविधाको भार अभिभावककै हुन्छ। स्कुललाई भने आफ्नो क्षेत्रबाहेकका विद्यार्थी भर्ना नलिने सुविधा हुनेछ।
‘कुन क्षेत्रमा कति विद्यार्थी छन् र तिनलाई कतिवटा स्कुल चाहिन्छ भनी यकिन गरेर वैज्ञानिक रूपले नक्सांकन गरिन्छ। त्यसैले, स्कुलहरू आफ्नो क्षेत्रबाहिरका विद्यार्थी भर्ना लिन बाध्य हुने छैनन्,’ उनले भने।
अमेरिका, चीन लगायत अधिकांश युरोपेली मुलुकले स्कुले शिक्षामा यस्तै अवधारणा लागू गर्दै आएको उनले उदाहरण दिए। उनका अनुसार क्षेत्रगत रूपमा स्कुल छुट्टयाएपछि शैक्षिक स्तर राम्रो भएन भने अभिभावकहरूले नै सामूहिक दबाब दिने ती देशको अनुभवले देखाएको छ।
‘स्थानीय सरकार मातहत वडा कार्यालयहरू हुन्छन्। स्कुलले दिने शिक्षासँग वडाको प्रतिष्ठा जोडिएको हुन्छ। कुनै पनि वडा आफ्नो क्षेत्रको स्कुल नराम्रो भएको हेर्न चाहँदैन। वडा प्रतिनिधिका आफ्नै केटाकेटी पढ्ने हुँदा उनीहरू बढ्ता चनाखो हुन्छन्,’ उनले भने।
आयोगले यो अवधारणा लागू गर्न आवासीय सुविधासहितका ठूला स्कुलहरू बनाउन सुझाएको छ। क्षेत्रगत रूपमा केही स्कुलको तह घटाउन र केहीको बढाउन पनि सिफारिस गरिएको छ।
यसको नेतृत्व स्थानीय तहका सरकारले लिनेछन्। नगर तथा गाउँपालिकाहरूले स्कुल क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्यालाई आधार मान्नेछन्।
पहिलो चरणमा चालू स्कुलहरूलाई क्षेत्रगत वर्गीकरण गरिनेछ। त्यसपछि नयाँ खुल्नेलाई पनि वर्गीकरणभन्दा बाहिर जान दिइने छैन। क्षेत्र निर्धारण गर्दा कुनै ठाउँमा स्कुल बढी भए गाभ्ने जिम्मा स्थानीय सरकारकै हुनेछ।
आयोगले सुरूमा स्कुल पुग्ने अधिकतम समय पनि तोकेको थियो। छलफल निम्ति प्रस्तावित मस्यौदामा १५ मिनेटभन्दा टाढाका स्कुलमा विद्यार्थी भर्ना गर्न नपाउने नीति सिफारिस गरिएको कोइरालाले बताए।
‘यो बुँदामा छलफल हुँदा सबै जना असहमत हुनुभयो। त्यही भएर अन्तिम प्रतिवेदनमा हामीले हटायौं,’ उनले भने, ‘क्षेत्र निर्धारणलाई प्रभावकारी बनाउने हो भने स्कुलको दुरी तय गर्नु अनिवार्य छ।’
अन्तर्राष्ट्रिय रूपमा स्कुलको दुरी र खुल्ने समयलाई विद्यार्थीको मानसिक तथा शारीरिक स्वास्थ्यसँग जोडेर हेरिन्छ।
बालरोगसम्बन्धी अमेरिकी एकेडेमीले सन् २०१४ मा एउटा सिफारिस गरेको थियो, जसमा निम्नमाध्यमिक तथा माध्यमिक तहको पढाइ साढे ८ बजेभन्दा अगाडि सुरु नगर्न भनिएको छ। यो प्रस्ताव अमेरिकन मेडिकल एसोसिएसन तथा अन्य स्वास्थ्य संगठनहरूले स्वीकार गरेका छन्।
घरदेखि स्कुलको दुरी छोट्टिए र ढिला पढाइ सुरु हुन थाले विद्यार्थीले धेरै समय सुत्न पाउँछन् भन्ने एकेडेमीको तर्क हो।
‘यसले विद्यार्थीको निद्रा पुग्छ। उनीहरू फुर्तिलो भएर स्कुल जान्छन्। हाजिरी बढ्छ। विद्यार्थीको एकाग्रता बढ्छ। पढाइ सुध्रिन्छ। जाँचको नतिजा राम्रो हुन्छ,’ एकेडेमीले भनेको छ, ‘सबभन्दा महत्वपूर्ण, निद्रा नपुगेर कक्षामै झप्प निदाउने समस्या सुल्झन्छ। यसले समग्रमा शैक्षिक उपलब्धि बढ्छ।’
एकेडेमी लगायत अन्य अध्ययन संस्थाहरूले दिएको यस्तै तर्कका आधारमा सन् २०१४ यता अमेरिकाका थुप्रै राज्यले स्कुल खुल्ने समय संशोधन गर्दै कानुन पारित गरेका छन्।
उता, बेलायतमा पनि स्कुले केटाकेटीको निद्रा बिथोलिएकोबारे संसदमै बहस भएको थियो।
बेलायतका चिकित्सकले निद्रा कचमचिएर स्कुले विद्यार्थीमा देखिएको स्वास्थ्य समस्याबारे एक तथ्यांक सार्वजनिक गरेका थिए। जसअनुसार १४ वर्षमुनिका विद्यार्थीको अस्पताल भर्ना दर सन् २००५ मा करिब ३ हजार थियो। सन् २०१६ मा बढेर ८ हजार पुगेको छ।
अस्पताल भर्ना भएका अधिकांशमा निद्रा पूरा नहुनुले विभिन्न शारीरिक तथा मानसिक समस्या देखिएका छन्।
बेलायतका बालबालिका तथा परिवार मन्त्री एड्वार्ड टिम्पसनले यसबारे संसदलाई जवाफ दिँदै भनेका थिए, ‘हाम्रा केटाकेटीले निद्रा पुग्ने गरी सुत्न पाएका छैनन्। यसले उनीहरू कुनै पनि काममा एकाग्र हुन सकेका छैनन्।’
यो समस्या हल गर्न स्कुल खुल्ने समय पछाडि सार्न सिफारिस गरिएको छ।
अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पल केलीले ८ देखि १० वर्षका केटाकेटीको स्कुल साढे ८ बजे, १६ वर्षका केटाकेटीलाई १० र १८ वर्षभन्दा बढीका लागि ११ बजेको समय सिफारिस गरेका छन्। उमेर बढ्दै गएपछि ढिला सुत्न थाल्ने हुँदा स्कुल खुल्ने समय ढिला हुनुपर्ने उनको भनाइ छ।
हामीकहाँ केटाकेटीको सुताइबारे कुनै अध्ययन भएको छैन। अमेरिका र बेलायतकै अध्ययनलाई आधार मान्दा यहाँको अवस्था पनि खास फरक छैन।
त्यहाँका अनुसन्धानकर्ताले निद्रा बिथोलिनुका दुई कारण औंल्याएका छन्– बिहान स्कुल छिटो लाग्नु र राति ढिला सुत्नु। ढिला सुत्नुको कारण मोबाइल, ट्याबजस्ता अत्याधुनिक ‘ग्याजेट’ को बढ्दो प्रयोग भनिएको छ। यसमा नेपाली केटाकेटी पनि कम छैनन्।
यसको समाधान भनेको केटाकेटीलाई मोबाइल वा अन्य ग्याजेट कम प्रयोग गर्नु दिनु मात्र होइन। उनीहरूको बदलिँदो व्यवहारअनुसार स्कुलको समय र दुरी समायोजन गर्नु पनि हो। उनीहरूको सुताइसँग स्कुलको तालिका मिलाउनु पनि हो।
यसका लागि जसरी अमेरिका र बेलायतमा स्कुल ढिला सुरु गर्ने अभियान चलेको छ, यहाँ पनि स्कुल क्षेत्र निर्धारणले त्यो समस्या सम्बोधन गर्ने प्राध्यापक कोइराला बताउँछन्।
‘यसले घर र स्कुलको दुरी छोट्टिन्छ। स्कुलले बिहान ८ बजे नै पढाइ सुरु गर्नुपर्दैन,’ उनले भने, ‘केटाकेटी सबेरै आँखा मिच्दै स्कुल कुद्नुपर्दैन। घर वरिपरि पढ्न पाउने भएपछि न ट्राफिक जामको चिन्ता, न निद्रा बिथोलियो भन्ने पिर।’
हामीले यसै विषयमा अर्का शिक्षाविद् मनप्रसाद वाग्लेसँग पनि कुरा गर्यौं।
स्कुल क्षेत्र निर्धारणको अवधारणामा उनको सहमति छ।
स्तरीय शिक्षाका नाममा घरबाट टाढा पढाउने प्रवृत्तिले केटाकेटीमाथि मानसिक र शारीरिक भार थपेको उनी बताउँछन्। स्कुललाई पनि टाढाटाढाका विद्यार्थी ओसार्नुपर्ने हुँदा जतिसक्दो छिटो गाडी पठाउनुपर्ने बाध्यता रहेको उनले औंल्याए।
‘एउटा त त्यसै पनि छिटो स्कुल खोल्ने प्रवृत्ति छ। अर्को, टाढाका विद्यार्थीलाई समयमै ल्याइपुर्याउन एकाबिहानै गाडी पठाउनुपर्छ,’ वाग्लेले भने, ‘महाराजगन्जको विद्यार्थी ललितपुरमा पढ्न आउँछ भने उसको स्कुल ९ बजे नै किन नखुलोस्, ऊ ७ बजे बसस्टप नपुगी हुन्न। स्कुलले बाटोको म्याद राखेर छिटोभन्दा छिटो गाडी पढाउनमै सजिलो ठान्छ।’
क्षेत्र निर्धारण गरेर शैक्षिक स्तर समान बनाउन सके अभिभावकहरू घरनजिककै स्कुलमा पढाउन प्रोत्साहित हुने उनले बताए।
‘यसो गर्दा साना नानीहरूको कम्तीमा दिनको तीन घन्टा समय उब्रिन्छ। त्यो समय उनीहरूले खेल्न पाउँछन्, आमाबाबुसँग बिताउन पाउँछन्,’ उनले भने, ‘यसले केटाकेटीको विकासमा स्कुलजत्तिकै महत्व राख्छ।’
यसलाई राम्ररी कार्यान्वयन गर्न निजी तथा सामुदायिक स्कुलको शैक्षिक स्तर समान छ भनी सुनिश्चित गरेर अभिभावकको विश्वास जित्नुपर्नेमा उनले जोड दिए।
अहिलेजस्तै आनका तान फरक पर्ने हो भने क्षेत्र निर्धारणले मात्र केही हुँदैन। केटाकेटीको भविष्य हेरेर टाढाको स्तरीय स्कुल नै अभिभावकको रोजाइमा पर्छ।
अनि समस्या उही- निद्रामै झाङलझुङल पारेर उठायो। पाक्कपुक्क खुवायो। स्वाँटसुट ड्रेस लगाइदियो। झोलाको भारी टम्म भिरायो। गुटुटु कुदायो।