तीव्र गतिमा गुड्ने टिपर र ट्रकले दुई पांग्रे सवारी चालक र पैदलयात्रीहरूको ठक्कर दिने क्रम बढेपछि यसको नियन्त्रणको लागि बुटवलमा टाइम कार्ड लागू गरिएको छ।
सडकमा हुने अनावश्यक भीड र बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले गन्तव्यमा पुग्ने समय अवधिसहितको टाइम कार्ड लागू गरेको हो।
अब टिपर/ ट्रकले तोकिएको निश्चित समय र गतिभन्दा बढी गति र कम समयमा गुडाउन पाइने छैन।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले टिपर र ट्रकलाई निश्चित समय र गतिमा सडकमा गुड्न दिने गरी टाइम कार्ड अनिवार्य गराइएको बताए ।
‘प्रहरीमा रहेको दुर्घटनाको तथ्यांकलाई हेर्ने हो भने टिपर र ट्रकबाट हुने दुर्घटना भनेको तीव्र गति नै हो’, उनले भने, ‘एक्कासी अगाडि पैदलयात्री र अर्को कुनै सवारी साधन आइहाल्यो भने तीव्र गतिमा लोड बोकेर गुडेको गाडीलाई तत्काल रोक्न खोज्दा रोकिँदैन स्पीड कम भएको गाडीलाई रोक्न सकिन्छ।’
दैनिक सयौंको संख्यामा टिपरहरू पाल्पा जिल्लाका विभिन्न खानीबाट सिमेन्ट तथा क्रसर उद्योगका लागि कच्चा पदार्थ बोकेर बुटवल हुँदै कुद्ने गर्छन्। खानीबाट जति धेरै ट्रिप कच्चा पदार्थ उद्योगसम्म पुर्याउन सक्यो त्यति धेरै आम्दानी हुने भएपछि चालकहरू तीव्र गतिमा गाडी हाक्छन्।
तर अब भने पाल्पाको सिद्धबाबा हुँदै आउने जाने टिपर र ट्रकले अनिवार्य रूपमा टाइम कार्ड लिनुपर्ने र टाइम कार्ड नभए कानुन अनुसार कारबाही गरिने प्रहरी नायब उपरिक्षक बुढाथोकीले बताए।
टाइम कार्ड अनुसार सडकमा गुड्ने टिपर र ट्रकले प्रतिघण्टा ३० किलोमिटर दूरीभन्दा बढीको गतिमा गुडाउन पाउने छैन। त्यस्तै, चालकले ट्राफिक प्रहरीले तोकेको स्थानमा अनिवार्य टाइम कार्ड देखाइ गाडीको नम्बर र समय टिपाउनुपर्ने छ।
ट्राफिक प्रहरीले गाडी र यात्रुहरुको भीडभाड हुने बजार क्षेत्र र मुख्य राजमार्गको जंगल क्षेत्रमा छुट्टाछुट्टै गति निर्धारण गरेको छ।
जसअनुसार बुटवलको व्यस्त बजार क्षेत्र रहेको सिद्धबाबादेखि महेन्द्र राजमार्गको बुटवल रामनगरस्थित धागो कारखानासम्मको ७ किलोमिटर दूरीको लागि प्रतिघण्टा ३० किलोमिटर दूरीको हिसाबले २१ मिनेट समय तोकिएको छ।
त्यस्तै, धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म २३ किलोमिटर दूरीको लागि ४६ मिनेटको समय तोकिएको छ भने सुनवलदेखि बर्दघाटसम्म १७ किलोमिटर दूरीको लागि ३४ मिनेट समय तोकिएको छ।
त्यसैगरी सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबादेखि मंगलापुरसम्म १५ किलोमिटर दूरीको लागि ३० मिनेट, मंगलापुरदेखि भैरहवा अञ्चलपुरसम्म ९ किलोमिटर दूरीको लागि १८ मिनेट समय तोकिएको छ।
उता कपिलवस्तुको गोरुसिङ्गेदेखि रुपन्देहीको मुर्गियासम्म ३२ किलोमिटरको दूरीका लागि १ घण्टा ४ मिनेट, मुर्गियादेखि धागो कारखानासम्म २० किलोमिटर दूरीको लागि ४० मिनेट र मुर्गियादेखि मंगलापुरसम्मको लागि ४८ मिनेट समय तोकिएको छ।
टाइम कार्ड लागू भएपछि चालकहरूले तीव्र गतिमा गाडी गुडाउन नपाउने भएपछि दुर्घटनामा कमी आउने व्यवसायीको अपेक्षा छ।