‘होयर डिड यू कम फ्रम?’ हार्वर्ड विश्वविद्यालयका संस्कृत प्राध्यापक माइकल विट्जेलले सोधे।
‘भक्तपुर,’ पाटनढोकास्थित यालामाया केन्द्रको एक कार्यक्रममा भेटिएका विट्जेल जवाफ सुनेर छक्क परे।
‘ओहो! त्यो त यहाँबाट धेरै टाढा हो। म कुनै समय बिजुली बस चढेर त्यहाँ जान्थेँ,’ ७५ वर्षीय विट्जेलले त्रिपुरेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म विद्युतीय (ट्रली) बस चल्दाका दिन सम्झिए, ‘त्यो बस किन बन्द भयो, मैले बुझ्न सकेको छैन।’
काठमाडौंको ट्रलीबस संस्मरण सुनाउने विट्जेलको नेपाल सम्बन्ध जान्न हामी साढे चार दशकअघि फर्किनुपर्छ। त्यतिबेला उनी पुराना हस्तलिखित ग्रन्थ अध्ययन गर्न नेपाल आएका थिए। अहिले भने ‘हिन्दुइजम् इन नेपाल’ शीर्षकको सम्मेलनमा भाग लिन काठमाडौं आएका हुन्।
हिन्दु धर्मका विभिन्न पक्षमा चर्चा भएको उक्त कार्यक्रम काठमाडौंको ‘अग्निशाला’ परम्परामा केन्द्रित थियो। विगतमा नेपालका विभिन्न ठाउँमा चौबीसै घन्टा आगो बालिने अग्निशाला थिए। अचेल पाटनको अग्निशालाले मात्र यो परम्परा धानेको छ।
अग्निशालाका लागि अग्निहोत्री र अग्निहोत्रिनी नियुक्त गरिन्छन्। उनीहरूले नै त्यहाँका नित्यकर्म गर्छन्। यी दुईमध्ये एकको निधन भए आगो बालिने अग्निमठ फुटाएर नयाँ बनाउने चलन थियो। पछिल्लो समय त्यसो गरिन्न। योसँगै अग्निशाला परम्परामा थुप्रै परिवर्तन आएका छन्।
सन् १९९२ देखि अग्निशालाको अध्ययन गर्दै आएका विट्जेल यसलाई प्राग–ऐतिहासिक परम्परा मान्छन्।
उनका अनुसार यो परम्परा त्यतिबेला सुरु भयो, जब चुह्लोमा आगो बाल्ने कुनै स्रोत थिएन। यस्तै अग्निशालाबाट आगो ल्याएर बाल्नुपर्थ्यो। पछि माइक्रोग्लास लगायतबाट घामका किरणले आगो बाल्न थालियो। सलाई र लाइटर आविष्कार भए। यस्ता आधुनिक विकासक्रमले यो प्राग–ऐतिहासिक परम्परा हराउँदै गयो।
आगोसँगको यस्तो सम्बन्ध हिन्दु धर्ममा मात्र नरहेको उनी बताउँछन्। ‘जापानमा पनि प्रत्येक नयाँ वर्षमा नयाँ आगो ल्याउने परम्परा छ,’ उनले भने, ‘म आफैं पनि त्यसमा सहभागी भएको छु।’
विट्जेलको नेपाल सम्बन्ध अग्निशालामा मात्र सीमित छैन। उनी सन् १९७२ मा पहिलोपटक नेपाल आएका थिए। जर्मन नागरिक उनी ‘नेपाल–जर्मनी म्यानुस्क्रिप्ट प्रोजेक्ट’ अन्तर्गत हस्तलिखित ग्रन्थहरू अध्ययन गर्थे। नेवारी, संस्कृत र तिब्बती भाषाका ती ग्रन्थ अध्ययन क्रममा उनले निकै रोचक तथ्य फेला पारे।
‘भारतको भन्दा पुरानो स्कन्दपुराण नेपालमा फेला परेको थियो। एघारौं शताब्दितिरको मनुस्मृति पनि नेपालमा छ। भविष्यपुराण भन्ने ग्रन्थमा क्वीन भिक्टोरिया छिन्। यसलाई संस्कृत नाम दिएर भक्तावति बनाइएको छ,’ उनले भने, ‘यसरी पुराणहरू समयअनुसार परिवर्तन पनि हुन्छन्।’
विट्जेलले राष्ट्रिय अभिलेखालयमा हुँदा ‘बाही’ भनेर लेखिएको ठाउँमा जयप्रकाश मल्लकालीन ग्रन्थ देखेका रहेछन्। त्यसमा भक्तपुरका २७ टोल र घरहरूका बारेमा उल्लेख भएको उनले बताए। ‘टेकुको पाँचालीको पनि ग्रन्थ छ,’ उनले भने, ‘यी सबै नेपाल बुझ्न महत्वपूर्ण ग्रन्थ हुन्, तर अध्ययन भएको छैन।’
हिन्दु धर्ममा चासो राख्ने विट्जेलले नेपालबाहेक अन्य एसियाली मुलुकको पनि अध्ययन गरेका छन्। करिब दुई दशक भारतको कश्मिरमा अध्ययन गरी ‘ब्राह्मणस् अफ कश्मिर’ नामक किताब निकाल्ने तयारीमा छन्।
कश्मिरमा करिब पाँच सय वर्ष मुगल राजाले शासन गरेका थिए। सन् १३२० देखि १३२३ सम्म शासन गरेका राजा सद्रुधिन शाहले बौद्ध धर्म छाडेर मुस्लिम धर्म अपनाए। त्यसपछि १७ औं शताब्दिसम्म त्यहाँ मुगल राजाको शासन चल्यो। पछि ब्रिटिसहरूले कश्मिर जम्मु राजालाई बेचे। त्यसपछि हिन्दु राज्य भयो।
यसबीच पाँच सय वर्षमा कश्मिरले धेरैथोक गुमायो। त्यसमध्ये चलिआएको परम्परामा पनि असर पुगेको विट्जेल बताउँछन्। उनका अनुसार त्यहाँ कुल जनसंख्याको पाँच प्रतिशत ब्राह्मण छन्। कश्मिर अध्ययन क्रममा विट्जेलले ८ हजार हाराहरीमा ग्रन्थ फेला पारे। तिनको जतन भने नभएको उनी बताउँछन्।
‘त्यहाँका ग्रन्थ र्यापिङ पेपरका रूपमा पनि प्रयोग भएको पाइयो,’ उनले भने, ‘एकपटक एक साथीले त्यस्तो फेला पारेर मलाई पत्रसमेत लेखेको थियो। ग्रन्थको महत्व नबुझेकाहरूले त्यसलाई बेच्छन् पनि।’
नेपालमा पनि उनले एक राजोपाध्यायको घरमा दराजभरी ग्रन्थ देखेका रहेछन्। पछि ती सबै राणाहरूले लगे। राणाहरूका हातमा यस्ता पवित्र ग्रन्थ पुग्ने डरले केहीले बागमती, विष्णुमती लगायत खोलामा समेत बगाएको उनी बताउँछन्।
‘वनारसमा मानिसको निधन हुँदा उनीसँग भएका ग्रन्थ गंगामा बगाइदिने चलन छ। सरस्वतीको समीपमा पुगोस् भनेर। नेपालमा पनि राणाहरूको हातमा नपरोस् भनेर त्यस्तै गरेको पाइयो,’ उनले भने।
हिन्दु धर्ममा चासो राख्ने विट्जेल पाँच दशकदेखि संस्कृत पढाउँदै आएका छन्। उनका अनुसार जर्मनीमा संस्कृतप्रति चासो व्यापक छ। चौधवटा विश्वविद्यालय संस्कृत पढाइ हुन्छ।
‘जब म पहिलोचोटि नेपाल आएँ, त्यो बेला विश्वविद्यालय माथि थियो, त्यसपछि व्यवसायको कुरा आउँथ्यो। अहिले ठ्याक्कै उल्टो। इतिहास–संस्कृत पढेर ज्ञान बढ्छ, पैसा हुन्न। यो पढेर रोजगारी पाउन गाह्रो भएकाले मानिसको रुचि घटेको छ। हामीलाई समेत गाह्रो छ,’ उनले भने, ‘यस्ता विषयमा नयाँ पुस्ताको चासो भने उत्साहजनक रूपमा बढिरहेको देख्छु।’
विट्जेलका अनुसार संस्कृत अन्य भाषाझैं पढ्न सकिन्छ। पहिले स्ट्यान्डर्ड व्याकरण सिकाइन्छ। त्यसपछि विस्तारै गीता, रामायण पढ्न सजिलो हुन्छ।
‘हामी जसरी अरू भाषा सिक्छौं, त्यसरी नै संस्कृत पनि सिक्न सक्छौं,’ उनले भने।
विट्जेलले विश्वका किम्बदन्तीहरू अध्ययन गरेर ‘द ओरिजिन्स अफ द वल्र्ड मिथोलोजी’ नामक पुस्तक लेखेका छन्। हाम्रो संस्कृतिमा पनि विभिन्न किम्बदन्ती जोडिएका छन्। के यी अन्य देशका किम्बदन्तीसँग मिल्दाजुल्दा छन्?
विट्जेलका अनुसार देशअनुसार किम्बदन्ती फरक भए पनि सबैको संरचना उस्तै हुन्छ। मानव जीवनको उत्पत्ति कथा लगायत विषय एकअर्कासँग नजिक देखिन्छन्।
‘ग्रिक मिथोलोजीमा हर्कुलस् युवतीको पिछा गरिरहेको देख्छौं। त्यस्तै, वेदमा इन्द्र छन्,’ उनले भने, ‘भारतमा इन्द्रभन्दा कृष्ण प्रख्यात छन्। त्यसैले इन्द्रको चरित्र कृष्णमा पाउँछौं। ठाउँअनुसारका भगवान अनि कथाहरू। नियालेर हेर्ने हो भने मिथहरू एकबाट अर्कोमा रूपान्तरण भएको देखिन्छ।’
नयाँ किम्बदन्ती बन्ने क्रम पनि व्यापक भएको उनी बताउँछन्। उनका अनुसार सन् १९७३ मा सिंहदरबार जल्दा त्यस्ता थुप्रै किम्बदन्ती बनेका थिए। कोहीले जाडोमा चिया पकाउँदा जल्यो भने। एक राजोपाध्यायले अग्निशालाबाट अग्नि देवता निस्केर बलेको भनेछन्। कसैले भगवान शिव रिसाएर।
‘त्यो समय नेपालमा गाँजाचरेसको व्यापकता थियो। अमेरिकी सरकारले ५ करोड डलर खर्चेर त्यसमा रोक लगायो,’ उनले भने, ‘त्यही कारणले एक वर्षमै सिंहदरबार जल्नुको कथामा नयाँ मोड आयो। भगवान शिवले रिसाएर सिंहदरबार जलाएको भन्न थालियो। समयक्रममा यस्ता कुरा किम्बदन्ती बन्दै जान्छन्। यसमा धेरै त राजनीतिको पनि प्रभाव हुन्छ।’
विट्जेल पछिल्लो समय नेपालका खोलाहरूमा काम गर्न खोज्दैछन्। खोलाको नामबाटै देशको इतिहास थाहा पाउन सजिलो हुने उनी बताउँछन्। खोलासँगै उनी भाषाको पनि अध्ययन गर्न चाहन्छन्। उनका अनुसार नेवारीका केही शब्द तिब्बती, तामाङ लगायत भाषासँग मिल्दाजुल्दा छन्।
‘जस्तो कि पाचँ, माछा लगायत नेवार शब्द अन्यसँग मिल्छन्,’ उनले भने, ‘यस्ता कुरा भाषाविद्हरूले सूक्ष्म ढंगले अध्ययन गर्नुपर्ने हो।’
लामो समय हिन्दु धर्म र पूर्वीय सभ्यताको अध्ययनमा बिताएका विट्जेललाई एकपटक हिन्दु धर्ममाथि पक्षपात गरेको आरोप लागेको थियो। त्यसमा असहमति जनाउँदै उनले भनेका थिए, ‘म हिन्दु धर्मलाई घृणा गर्दिनँ। म ती मान्छेलाई घृणा गर्छु, जसले इतिहास बंग्याएर प्रस्तुत गर्छ।’
हामीले यही प्रसंग कोट्यायौं।
‘मैले आफ्नो जीवनको आधाभन्दा बढी उमेर हिन्दु धर्मको अध्ययनमा बिताएँ। म आफैं आधाआधी हिन्दु भइसकेँ,’ उनले हाँस्दै भने, ‘कसरी घृणा गर्न सक्छु?’
सबै तस्बिर: प्रशान्त श्रेष्ठ