आफ्नो ठाउँको शान्ति सुरक्षाका लागि सुरक्षा बजेट छुट्याउन कर्णाली प्रदेश प्रहरी कार्यालयले स्थानीय तहलाई आग्रह गरेको छ।
शुक्रबार प्रदेश प्रहरी कार्यालयमा सुर्खेतस्थित स्थानीय तहका प्रमुख/उपप्रमुखसँग भेट गर्दै कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले शान्ति, सुरक्षा कायम गर्न आवश्यक बजेट छुट्याउन आग्रह गरे।
शान्ति, सुरक्षाका विषयमा प्रहरीले गर्ने साझेदारी मात्रले नपुग्ने भन्दै स्थानीय सरकारको तर्फबाट सुरक्षासँग सम्बन्धित कार्यका लागि बजेटको व्यवस्था गरिनुपर्ने उनले बताए।
‘हामीसँग संगठन र संगठनमा आवद्ध कर्मचारीका लागि आवश्यक पर्ने सीमित बजेट मात्र हुन्छ, यसले जनसमुदायमा प्रहरी परिचालन गर्न सकिँदैन,’ उनले भने, ‘अपराध न्यूनीकरणका लागि जनसमुदायमा पुगेर गरिने सचेतनामूलक कार्यक्रमसँगै प्रहरी परिचालनका लागि केही बजेट स्थानीय तहले पनि छुट्याउनुहोस्।’
डिआइजी शाहले जोड कर्णाली प्रदेशका अन्य जिल्लाहरूको तुलनामा सुर्खेत जिल्लामा धेरै आपराधिक क्रियाकलाप हुने गरेकाले अपराध न्यूनीकरणका लागि जनप्रतिनिधि पनि लाग्नुपर्नेमा दिए।
‘विभिन्न खाले हुने अपराधका घटनाहरूमध्ये यो प्रदेशमा सुर्खेत पहिलो छ। यो डरलाग्दो अवस्था रहन नदिन तपाईंहरूको पनि कर्तव्य हो। सहकार्यका साथ काम गरौं,’ जनप्रतिनिधिहरूलाई शाहले भने।
प्रदेशको राजधानी हुनुले सुर्खेत जिल्ला प्रदेशको महत्त्वपूर्ण भए पनि यहाँ अपराधका गतिविधि बढ्दो क्रममा रहेकोले संवेदनशील रूपमा हेरिनुपर्ने उनले बताए।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले शान्ति, सुरक्षा कायम गर्नु स्थानीय सरकारको पनि जिम्मेवारी भएकाले त्यसका लागि लाग्न आग्रह गरे।
‘पहिले गाविस भन्दा विकासका रूपमा हेरिन्थ्यो, सरकार नै भनिसकेपछि शान्ति–सुरक्षा पनि जिम्मेवारीमा पर्छ,’ उनले भने, ‘पहिले केन्द्र सरकारको भर परेपछि अब सुरक्षाका क्षेत्रमा स्थानीय र प्रदेश सरकारले पनि बजेटको व्यवस्था गर्नु अनिवार्य छ।’
सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले शान्ति, सुरक्षाका लागि बजेटको व्यवस्था गर्ने बताए ।
‘हामी निर्वाचित भएर आएको करिब २ वर्ष पुग्न लाग्यो, अहिलेसम्म जति विकासे काम गरे पनि जनताको आँखामा भने पर्न सकेनौं,’ उनले भने, ‘अब यि विकासका कामसँगै शान्ति–सुरक्षाका लागि आवश्यक पर्ने सहयोग तथा निर्णय पनि हामी गर्छौं।’
चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले स्थानीय सरकारका तर्फबाट शान्ति–सुरक्षाका क्षेत्रमा शीर्षक बनाएर बजेट विनियोजन गर्ने बताए।
वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले यस विषमा बजेट विनियोजनलाई महत्वपूर्ण रूपमा हेरिएको बताइन्।
‘स्थानीय तहमा न्यायिक समिति छन्। ती न्यायिक समितिलाई विभिन्न विषयमा काम गर्न अधिकार छुट्याइएको छ,’ उनले भनिन्, ‘यस हिसाबले विवाद समाधान गर्ने क्रममा जनप्रतिनिधि नै असुरक्षित छौं। हामीले पनि यस शान्ति–सुरक्षाका क्षेत्रमा बजेट विनियोजन महत्वपूर्ण रूपमा लिएका छौं।’
घरेलु हिंसाका घटना धेरै
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार कर्णाली प्रदेशमा घरेलु हिंसाका घटना धेरै हुने गरेका छन्। आर्थिक वर्ष ०७१/०७२ देखि ०७४/०७५ सम्मको त्रिवर्षीय तथ्यांकलाई हेर्दा कर्णाली प्रदेशमा ३ हजार ८५८ घरेलु हिंसाका घटना भएका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेशका अन्य जिल्लाहरूमध्ये सुर्खेतमा नै धेरै घरेलु हिंसाका घटना हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। ०७१/०७२ देखि ०७४/०७५ सम्मको त्रिवर्षीय तथ्यांक अनुसार सुर्खेतमा मात्र १ हजार ८४६ घरेलु हिंसासम्बन्धी घटना भएका छन्।
यस्तै, प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा मात्र उक्त अवधिमा ८६१ घरेलु हिंसाका घटना भएको तथ्याङ्कले जनाएको छ।
सुर्खेतमा तीन वर्षयता जबर्जस्ती करणीका १२५ घटना भएका छन् भने करणी उद्योगका ५१ घटना भएका छन्।
कारागारलाई किताब अभियान जारी
कारागारहरूमा पुस्ताकालय स्थापना गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको ‘कारागारलाई किताब अभियान’ अहिले पनि चलिरहेको छ।
हाल किताबहरू संकलन गर्ने, पुस्तकालय स्थापनाका लागि आवश्यक सहयोग जुटाउने लगायतका कामहरू भैरहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म काठमाडौं र सुर्खेतमा गरी करिब २५ सयको हाराहारीमा किताबहरू संकलन भएका छन्। सहयोगका रूपमा प्राप्त हुने किताबले मात्र नपुग्ने भएकाले किताबहरू किन्नका लागि वित्तीय संस्थालगायतका सरोकारवालाहरूसँग सहयोग माग गर्ने काम भैरहेको डिआइजाी शाहले जानकारी दिए।
फागुन १२ गते पर्ने शिक्षा दिवसको अवसरका पारेर प्रदेशका सबै कारागारहरूमा पुस्तकालय स्थापना गरिने उनले बताए।
उनका अनुसार पुस्तकालय स्थापनाका क्रममा प्रत्येक जिल्लामा २/२ जना लेखकहरूलाई पुर्याइने व्यवस्था गर्न लागिएको छ।
सुर्खेतस्थित कारागारमा स्थापना गरिने पुस्तकालयका लागि भने वीरेन्द्रनगर नगरपालिकाले फर्निचर बनाउन सहयोग गरिदिने मेयर देवकुमार सुवेदीले प्रतिवद्धता जनाएका छन्।
कारागारका लागि उपलब्ध गराइने पुस्तकले कैदीहरूलाई सुधार्न सघाउ पुर्याउने कर्णाली प्रदेशका प्रहरी प्रमुख शाहले बताए।
‘कारागारमा भएका कतिपय कैदीहरू त्यसअघि पनि सजाय भोगिसकेकाहरू छन्,’ उनले भने, ‘त्यस्ता व्यक्तिहरूलाई यसपछि यस्ता आपराधिक क्रियाकलाप गर्नुहुँदैन भन्ने मानसिकताको विकास गर्न ती किताबहरूले सहयोग गर्न सक्दछन् ।’
कारागारलाई सुधार गृहका रूपमा विकास गर्नुपर्ने राष्ट्रिय नीति भएकाले तयसका लागि पनि यो अभियान महत्वपूर्ण हुने शाहले विश्वास व्यक्त गरे ।