सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले उपत्यकाभित्र नयाँ कित्ताकाट गर्न रोक लगाएको छ।
नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले नगरपालिकाको क्षेत्रभित्र पर्ने उपत्यकामा कित्ताकाट गर्न नदिने निर्णय गरेको हो। बैठकले उपत्यकामा अब घर नक्सापास गर्ने कार्य पनि बन्द गरेको छ।
मनपरी रूपमा गरिएको कित्ताकाटले कृषियोग्य जमिन खण्डिकरण हुँदै गएकोले यसलाई रोक्न सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। नगरको गुरूयोजना नबनेसम्म नयाँ कित्ताकाट र घरको नक्सापास रोकिएको नगरपालिकाले जनाएको छ।
निर्णय अनुसार रत्न राजमार्गदेखि दक्षिणतर्फ वडा नम्बर २, ३, ९, १० र ११ मा जग्गा कित्ताकाट र घर नक्सापास गर्न पाइने छैन। लगत कट्टा भैसकेका क्षेत्रमा भने घर निर्माण कार्य प्रक्रियाबमोजिम खुला गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले जानकारी दिए।
संघीय सरकारको परिपत्र अनुसार नै गुरूयोजना तयार नभएसम्मका लागि कित्ताकाट र घर निर्माणका लागि दिइने नक्सा पास रोकिएको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए।
‘संघीय सरकारको निर्णय र परिपत्र अनुसार रोक्न पर्ने नै हो,’ सुवेदीले भने, ‘तर स्थानीय सरकारलाई भूमिलाई व्यवस्थित गर्न सक्ने प्राविधिक कमिटीका रूपमा अधिकार दिइएकोले त्यसमा टेकेर सरोकारवालाहरूसँगको छलफलका आधारमा यो निर्णय गरेका हौं।’
उनका अनुसार कृषियोग्य भूमिको संरक्षणका लागि एक हप्ता अगाडि समिति गठन गरिएको थियो। उक्त समितिले बुझाएको प्रतिवेदनका आधारमा नगरपालिकाले निर्णय गरेको सुवेदीले जानकारी दिए ।
वीरेन्द्रनगरको गुरूयोजना निर्माण कार्य फागुनको मसान्तबाट सुरू गरिने र गुरूयोजना तयार नभएसम्मका लागि यस्तो व्यवस्था गरिएको मेयर सुवेदीले बताए।
‘समग्र गुरूयोजनाको प्रक्रिया चलिरहेको छ। त्यो गुरूयोजना नबन्ने बेलासम्म घर निर्माण र कित्ताकाटलाई रोकिएको हो,’ उनले भने, ‘अहिले घरलाई स्वीकृति दिँदा भोलि गुरूयोजनापछि भत्काउनुपरेमा क्षति हुन्छ। त्यो हिसाबले अहिले रोकिएको हो।’
मेयर सुवेदीका अनुसार गुरूयोजना निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको छ।
गुरूयोजना निर्माणका लागि कन्सल्टेन्सी अबको केही समयमा नै छान्ने उनले बताए।
वीरेन्द्रनगरको गुरूयोजनाका लागि सहरी विकास मन्त्रालयबाट ८५ लाखको टेण्डर आह्वान भएको उनले जानकारी दिए ।
गुरूयोजना निर्माणको कार्य तीन महिनामै टुंग्याउने लक्ष्य लिइएको उनले बताए।
यसअघि वीरेन्द्रनगर उपत्यकाको गुरूयोजना योजनाविद् माधवभक्त माथेमाले २०२९ सालमा गरेका थिए। यहाँको गुरूयोजना निर्माणका लागि पूर्वराजा वीरेन्द्र विरविक्रम शाहले माथेमालाई ल्याएका थिए ।