कोटेश्वर चोकमा यात्रुको भिडभाड थियो। भक्तपुरतिरबाट एउटा मिनिबस हुइँकिदै आयो। यात्रुहरू गुडिरहेको गाडी छोप्न गुटुटु कुदे। त्यही बेला एक जना विद्यार्थी गुड्दा गुड्दैको गाडीबाट झ्याम्म ओर्ले। हतारमा खुट्टा चिप्लियो। उनी त्यही बसको चक्कामुनि परे।
एकाबिहानै एउटा जीवन अन्त्य भयो।
यो घटना तीन वर्षअघिको हो। डरलाग्दो कुरा के भने, राजधानीको अत्यन्त व्यस्त र बढी सवारी जाम हुने कोटेश्वरमा यस्ता दुर्घटना नियमित हुने गरेका छन्।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वर अत्यधिक दुर्घटना हुने सूचीको पहिलो नम्बरमा आउँछ। २०७२ देखि २०७५ सम्म यहाँ झन्डै १ हजार ५ सय सवारी दुर्घटना भए।
चार वर्षभन्दा बढी समय कोटेश्वर ट्राफिक प्रमुख रहेका सीताराम हाछेथू बढ्दो दुर्घटनाको एउटा कारण अव्यवस्थित बस बिसौनीलाई मान्छन्।
यहाँको बिसौनीमा १२ वटा मात्र बस अट्ने ठाउँ छ। ट्राफिक बत्ती हरियो बलेर बाटो खुल्दा औसत २८ वटासम्म बस/मिनिबस एकैचोटि आउँछन्। यसमा माइक्रोको संख्या जोडिएको छैन।
यात्रुको भिडभाड र क्षमताले धान्नेभन्दा बढी गाडी ओइरिँदा सबैलाई हतार हुन्छ। अलिबेर मात्र गाडी रोक्दा पनि सम्हाल्नै नसक्ने गरी लश्कर लाग्छ। अनि त, धेरैले राम्ररी रोक्दै नरोकी हतार-हतार यात्रु ओराल्छन्, चढाउँछन्।
'यही हतपतले धेरै दुर्घटना हुन्छ,' हाछेथूले भने, 'त्यस दिन ती विद्यार्थीलाई पनि यस्तै भएको थियो।'
बढी दुर्घटना हुने सूचीको दोस्रो गौशालामा पनि साँघुरो र अव्यवस्थित बस बिसौनी नै बढी जिम्मेवार रहेको हाछेथू बताउँछन्। यहाँ तीन वर्षयता १ हजार ३९ वटा दुर्घटना भए।
विगत तीन वर्षमा उपत्यकामा भएका सवारी दुर्घटनामा ५ सय ४२ जनाको ज्यान गएको छ। रिङरोड क्षेत्रमा मात्र १ सय ४६ जनाले ज्यान गुमाए। भर्खरै निर्माण पूरा भएको कोटेश्वर-कलंकी आठलेन रिङरोडमै पछिल्लो छ महिनामा १२ जनाको मृत्यु भइसकेको छ। यी दुर्घटनामा प्राय: पैदलयात्रु, दुईपाङ्ग्रे चालक र सार्वजनिक सवारीका यात्रु पर्ने गरेका छन्।
भयवाह रूपमा बढ्दो दुर्घटनाको कारण अव्यवस्थित र साँघुरो बस बिसौनी मात्र होइन।
कोटेश्वरकै उदाहरण लिउँ।
यो चोक दिनैभरि सवारी र मान्छेको भिडले अस्तव्यस्त रहन्छ। सडक साँघुरो पनि छैन। एकातिर जापानी सहयोगमा बनेको छलेन राजमार्ग, अर्कातिर चिनियाँ सहयोगमा बनेको आठलेन रिङरोड। यसका बाबजुद कोटेश्वरमा बढी दुर्घटना हुन्छ, र ती दुर्घटना बस बिसौनीमा मात्र हुँदैनन्। छलेन र आठलेनका फराकिला सडकमै बेसी हुन्छन्।
यसको कारण के भने, यहाँ पैदलयात्रुको चाप धेरै छ। कोटेश्वरले पछिल्लो समय नयाँ बसपार्ककै रूप लिएको छ। टिकट काउन्टर प्रशस्तै खुलेका छन्। त्यहाँ ओहोरदोहोर बढ्दो छ। फुटपाथ ढाकेर व्यवसाय गर्ने प्रवृत्ति बढेको छ। ठाउँ सानो, चहलपहल धेरै। यसले फुटपाथमा समेत पैदलयात्रुलाई हिँड्ने ठाउँ छैन।
ट्राफिक रेकर्डअनुसार चोकको मुख्य जेब्रा क्रसिङबाट एक मिनेटमै १ सय १० जना यात्रुले बाटो काट्छन्। पर्याप्त जेब्रा क्रसिङ नहुँदा आसपासबाट बाटो काट्नेको संख्या त कति कति!
आठलेन रिङरोडको कुरा गर्ने हो भने कोटेश्वर चोकपछि जेब्रा क्रसिङ खोज्न दुई किलोमिटर परको ग्वार्को पुग्नुपर्छ। हजारौं पैदलयात्रु हिँड्ने व्यस्त चोकमा एउटा आकासे पुल छैन। त्यसमाथि ट्राफिक सचेतनाको कमी छँदैछ। हरियो बत्ती बलेपछि मात्र पैदलयात्रु हिँड्नुपर्नेमा रातो बल्दाबल्दै कुद्छन्। यस्तो बेला अर्कोपट्टिबाट भर्खरै सडक खुलेर हुइँकिदै आएका गाडीसँग ठोक्किने सम्भावना बढी हुन्छ।
'आजको समय कोटेश्वर भनेको गाउँ-गाउँबाट आएका मान्छे भेला हुने ठाउँ बनेको छ। बाहिरबाट आएका धेरैलाई ट्राफिक नियम थाहा हुन्न। कहाँबाट कुनबेला बाटो काट्नुपर्ने हो, कहाँ जोखिम छ भन्ने जानकारी हुँदैन। त्यस्ता मान्छे धेरै दुर्घटनामा पर्छन्,' हाछेथूले भने।
भाडाका सवारीले लेन नियम नमान्नुले पनि दुर्घटना जोखिम बढाएको छ।
खासगरी भक्तपुरतिरबाट आएका वा उता जाने गाडीले लेन नियम पटक्कै नमान्ने हाछेथूको अनुभव छ। उनीहरू सडकछेउ उभिएका यात्रु टिप्न पछाडि हेर्दै नहेरी स्वाँट्टै दायाँबायाँ मोडिन्छन्। मान्छे टिप्छन्। फेरि बीचमा आउँछन्। यसरी नागबेली गर्दा पछाडिबाट आइरहेका सवारी झुक्किन्छन्। अगाडिकालाई पनि ठक्कर दिने सम्भावना हुन्छ।
'भाडाका सवारीको यो बानी जहीँतहीँ छ, तर कोटेश्वरको व्यस्त सडकमा पनि घरि किनारतिर जाने घरि बीचमा आउने गर्दा दुर्घटना बढेको हो,' उनले भने।
दुर्घटनाको अर्को कारण सवारीको तीव्र गति हो। घन्टौं जाम हुने ठाउँमा कसरी तीव्र गति? यसको जवाफ ट्राफिक रेकर्डले नै दिन्छ।
सामान्यतया यहाँ सवारीसाधन १० देखि १५ मिनेट जाममा पर्छन्। जाम खुल्नेबित्तिकै बाँध फुटेजसरी उर्लिएर आउँछन्। कुन बेला रातो बत्ती पार गरूँ जसरी हुइँकिन्छन्। यसको निम्ति घरि दायाँ च्याप्छन्, घरि बायाँ। न ठूला गाडीले सानाको होस पुर्याउँछन्, न सानाले ठूलासँग डर मान्छन्।
एकअर्कालाई चेप्दै अगाडि बढ्ने होडमा दुईपाङ्ग्रेहरू ठूला सवारीको बीचबीचमा घुसेका हुन्छन्। कतिलाई आफू अट्ने ठाउँ मात्र भए पुग्छ। यस्तोमा दायाँबायाँका ठूला गाडी छिसिक्क मोडियो भने दुईपाङ्ग्रेहरू बीचमै चेपिन्छन्।
कोटेश्वरको भौगोलिक अवस्था आफैंमा दुर्घटना जोखिमयुक्त छ।
यो चोक अग्लो ठाउँमा छ। तीनकुने, जडिबुटी र बालकुमारी तीनतिरै भिरालो बाटो छ। भिरालो बाटोमा ठूल्ठूला गाडी जाममा परेका हुन्छन्। पछाडि साना सवारी र दुईपाङ्ग्रे लपक्कै टाँसिएर बस्छन्। भिरालो सडक भएकाले गाडी उक्लिनुअघि अलिकति पछाडि सर्छ। पछाडिका गाडीलाई ठक्कर लाग्न सक्छ। दुईपाङ्ग्रेलाई त झनै जोखिम। ठीक यही अवस्थामा कहिलेकाहीँ पैदलयात्रु पर्छन्।
तथ्यांकअनुसार कोटेश्वर हुँदै भक्तपुरतर्फ दैनिक हजारभन्दा बढी स्थानीय बस-मिनिबस ओहोरदोहोर गर्छन्। कोटेश्वर चोक भएर एक मिनेटमा १ सय ६५ वटा मोटरसाइकल चल्छन् भने ठूला/साना गाडी ५९ वटासम्म चल्छन्। त्यस्तै, एक मिनेटमा १ सय ५० जनाले बाटो काट्छन्।
यति धेरै सवारी चल्ने भएकाले नियम मिच्ने सबैलाई कारबाही गर्न नसकेको हाछेथूको भनाइ छ।
'यहाँ खटिने ट्राफिक जनशक्तिले यति धेरै गाडी अनुगमन गर्न भ्याउँदैन,' उनले भने, 'कोटेश्वर चोकको व्यवस्थापनमा एकपटकमा चार जना प्रहरी खटिन्छन्। यी चार जनाले हजारौं पैदलयात्रु र सवारी हेर्नुपर्छ। अहिलेकै अवस्थामा यो सम्भवै छैन।'
यी जोखिम कम गर्न उनी चार उपाय सुझाउँछन्।
पहिलो, प्रत्येक तीन मिनेट दूरीमा जेब्रा क्रसिङ बनाउने। आकासे पुलहरू बनाउने। फुटपाथमा पसल राख्न नदिने। र, मान्छेलाई फुटपाथबाटै हिँड्न प्रेरित गर्ने।
एक अन्तर्राष्ट्रिय अध्ययनअनुसार बाटो काट्नुपर्ने पैदलयात्रु तीन मिनेटभन्दा बढी दायाँ वा बायाँ हिँड्दैन। यसबीच जेब्रा क्रसिङ वा आकासे पुल फेला परेन भने उसको धैर्य सकिन्छ। ऊ जहाँबाट जसरी मिल्छ, त्यहाँबाट त्यसरी नै बाटो काट्छ।
पैदलयात्रुको यही मनस्थिति हेरेर कोटेश्वर लगायत व्यस्त सहरी सडकमा प्रत्येक दुई सय मिटरमा जेब्रा क्रसिङ हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्।
आठलेन रिङरोडमा पनि यही कुरा उठेको छ, जहाँ कोटेश्वरदेखि कलंकीसम्म साढे १० किलोमिटर दूरीमा कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खु गरी जम्मा पाँच ठाउँमा मात्र जेब्रा क्रसिङ छ।
भद्रकाली र पुरानो बसपार्कजस्तै कम लागतका फलामे आकासे पुल राखेर पनि पैदलयात्रुलाई सुविधा दिन सकिन्छ। यस्तो पुल दुई सातामै तयार हुन्छ। पैदलयात्रु आकासे पुलबाट ओहोरदोहोर गर्दा त्यही समय सडकमा गाडी आउजाउ गराउन सकिने हाछेथूको तर्क छ।
दोस्रो, कोटेश्वर आइपुग्नुअघि नै तीनकुने, बालकुमारी र जडिबुटीमा ठाउँठाउँ ट्राफिक बत्ती राखेर सवारी व्यवस्थापन गर्ने। यी तीन नाकाबाट अड्कलेर गाडी पठायो भने कोटेश्वरमा भीड कम हुन्छ। चोक पार गर्न हतारमा आउने गाडी नियन्त्रण हुँदा दुर्घटना जोखिम घट्छ।
तेस्रो उपाय बस बिसौनी व्यवस्थापन हो।
भक्तपुरतिरबाट आउने गाडीका लागि अहिलेको सार्वजनिक शौचालय हटाएर बस बिसौनी राख्न उनले सुझाए। बरू जाम नहुने ठाउँमा लगेर घुम्ती शौचालय राख्न सकिने हाछेथूको भनाइ छ।
'सातदोबाटोबाट आउने गाडीका लागि कोटेश्वरको प्रहरी प्रभाग नपुग्दै आकासे पुलमुनि बिसौनी बनाउन सकिन्छ। कोटेश्वर पार गरेपछि तीनकुनेमा कान्तिपुर भवनअगाडि र गैह्रीगाउँमा मात्र रोक्न पाउने व्यवस्था गर्न सकिन्छ,' उनले भने, 'तीनकुनेबाट सातदोबाटो जाने गाडी कोटेश्वरवारि रोक्न नपाउने र तिनका लागि कोटेश्वरपारि आकासे पुलनजिक बिसौनी बनाउन सकिन्छ।'
चौथो, कोटेश्वरको जाम कम गर्ने। यसको निम्ति कोटेश्वरबाट विभिन्न ठाउँमा जाने रूट फेर्न उनले सुझाए।
'चाबहिल जाने सवारीलाई पेप्सीकोला हुँदै एअरपोर्ट पछाडिबाट पठाउन सकिन्छ। भक्तपुरबाट सातदोबाटोतिर जानेलाई मनोहरा पुलबाट खोलैखोला बालकुमारी पुल निकाल्न सकिन्छ,' उनले भने, 'यस्ता थुप्रै नयाँ रूटमा हामी काम गर्न सक्छौं।'
सवारी चाप कम गरेर पैदलयात्रुलाई बाटो काट्ने सुविधा थप्नेबित्तिकै दुर्घटनाको धेरै समस्या हल हुने उनले बताए।