बाग्मती सरसफाइको तीन सय हप्ता पुगेको अवसरमा शनिवार शंखमुलमा सहरी विकास मन्त्रालयले कार्यक्रम गर्यो।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वनमन्त्री शक्ति बस्नेत, सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, खानेपानी तथा सरसफाइमन्त्री विना मगर तथा अभियन्ताहरु सहभागी रहे।
परराष्ट्रमन्त्री ज्ञवालीले बाग्मतीको पानी पिउन मिल्ने बनाउन सके मात्रै यस्ता अभियानले सार्थकता पाउने बताए। फोहोर भएको बाग्मतीको पानीलाई पुरानै अवस्थामा फर्काएर स्वच्छ वाग्मती बनाउनुपर्नेमा उनले जोड दिए।
साथै ज्ञवालीले 'स्वच्छता मेरो पहिचान: सफाइ मेरो योगदान' अभियान अन्तर्गत बाग्मती नदी करिडोरमा बनेका चार सय ४० सोलार बत्तीको उद्घाटन गरेका छन्।
बाग्मती सरसफाइ अभियानबाट अहिलेसम्म १८ हजार मेक्ट्रिक टन फोहोर उठाइसकिएको छ भने सफाइ अभियानमा एक हजार संस्था क्रियाशील छन्।