आर्थिक वर्ष २०७५/०७६ लाई शैक्षिक सुधार वर्षको रुपमा घोषणा गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विभिन्न नयाँ अभ्यासहरु शुरुवात गर्दै आएको छ ।
नगरप्रमुखको तलब भत्ताबाट छात्रवृत्ति वितरण, विद्यार्थीलाई खाजा कार्यक्रम सञ्चालन तथा नगरका सामुदायिक र संस्थागत सबै विद्यालयका भवनहरुमा एउटै रङ लगाउने निर्णय गरेको नगरपालिकाले पछिल्लो पटक विद्युतिय हाजिरी जडान गरी सामुदायिक विद्यालयहरुमा शुसासन कायम गर्ने प्रयास थालेको हो ।
तिलोत्तमा नगरपालिका भित्र हाल २० वटा माध्यमिक र २४ वटा आधारभूत तह गरी ४४ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये पहिलो चरणमा चालु आर्थिक वर्षको भदौदेखि २० वटा माध्यमिक र एउटा आधारभुत गरी २१ वटा विद्यालयमा नगरपालिका आफैंले विद्युतीय हाजिरी जडान गरिदिएको छ ।
विद्यालयमा जडान गरेको विद्युतीय हाजिरीमा शिक्षकहरुको उपस्थिति तथ्यांक नगरपालिकामा रहेको प्रविधि शाखा मार्फत निगरानी गरिन्छ। नगरपालिकाले विद्यालय सञ्चालन हुने प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म विद्युतिय हाजिरी जडान भएका विद्यालयहरुमा शिक्षकहरुको उपस्थिति निगरानी गर्न एक जनालाई जिम्मेवारी दिएको छ।
नगरपालिकाले विद्युतीय हाजिरी जडान गरिएका विद्यालयको निगरानी कार्यालयमा राखिएको कम्प्युटरबाटै गर्छ भने समय समयमा छ्ड्के अनुगमन समेत जाने गर्छ ।
नगरपालिकाका शिक्षा उपसमितिका प्रमुख हरिप्रसाद ज्ञवालीले विद्युतीय हाजिरी जडान गरी निगरानी गर्न थालेपछि विद्यालयमा शुसासन कायम हुनुको साथै शिक्षक र विद्यार्थीलाई विद्यालयमा समयमै उपस्थित हुने र अवधीभर विद्यालयमा बस्नुपर्ने बानिको विकास भएको बताउँछन्।
नगरपालिकाको यो कार्यले पठनपाठनमा समेत सुधार आउने अपेक्षा गरिएको उनले बताए । प्रमुख ज्ञवालीले पहिलो चरणमा २१ वटा मात्र विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएकोमा अरू विद्यालयबाट समेत माग गरिएको बताए।
‘पहिले शिक्षकले केही बन्धन जस्तो अनुभूति गरे पनि विद्यालयमा समयमा उपस्थित हुने बानीको विकास भएको छ,’ उनले भने, ‘विद्युतीय हाजिरी जडान नभएका विद्यालयमा समेत जडान गरिदिन माग हुने गरेको छ।’
विद्युतीय हाजिरी जडानपछि कहिलेकाँही ढिलो आउने शिक्षकहरु पनि समयमै आउन थालेको विद्यालयहरु बताउँछन्।
पशुपति मावि कोटिहवाका प्रधानाध्यापक वेद नारायण भट्टराईले शुरुवात दिनमा शिक्षकहरुले अलिकति बन्धन भएजस्तो अनुभव गरेपनि समयको पालनामा सचेत बनाएको बताए ।
उनले ढिलो विद्यालय पुग्ने र हाजिरी गरेर आफ्नो काममा हिड्ने शिक्षकहरुलाई विद्यालय समयभरी बस्नैपर्ने बाध्यता भएपछि पठनपाठनमा समेत सुधार आएको बताए।
१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा रहेका ४४ वटा सामुदायिक विद्यालयमा १२ हजार १ सय ५४ विद्यार्थी बालविकास देखि माध्यमिक तहसम्म अध्ययनरत रहेका छन् ।
संख्याको हिसाबले सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयको संख्या झण्डै हाराहारी रहेपनि (संस्थागत ४२) विद्यार्थीहरुको संख्यामा भने दोब्बर अन्तर रहेको छ । ४२ वटा संस्थागत विद्यालयमा बालविकास देखि माध्यमिक तहसम्म २३ हजार ४ सय ९० विद्यार्थी अध्ययनरत रहेका छन्।