सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ बनाउने गुरुयोजना निर्माण गर्न थालिसकेको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्र मानिन्छ। यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक किलोमिटर तिनसय मिटर क्षेत्रमा स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणको लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) थालिएको हो।
यो सडकखण्डलाई पहिरोबाट सुरक्षित बनाउने बारे यसअघि विभिन्न अध्ययन तथा प्रयोगहरु गरिएपनि सफल नभएपछि अहिले ड्रिलिप नेपालले सुरुङ मार्गका लागि गुरुयोजनाको काम गर्नुपूर्व भौगर्भिक अध्ययन थालेको हो।
ड्रिलिप नेपालले आगामी वैशाखसम्म गुरूयोजना निर्माण गर्नेछ । गुरुयोजनाका लागि सडकको चट्टान परीक्षणको काम भइरहेको छ। चट्टान परीक्षण गर्न प्लानेट नेपालले काम गरिरहेको प्लानेट टेष्ट प्रालिका भौगर्भिक ईञ्जिनियर दिवाकर खड्काले बताए।
भौगर्मिक अध्ययनको लागि स्वीस डेभलेपमेन्ट कोअपरेसनले ५० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ। जुन सहयोगबाट भूगर्भशास्त्री र इन्जिनियरहरुले उक्त क्षेत्रको जमीन, माटो, ढुंगा, चट्टान, पानी आदिको बनावट र अवस्थाबारे अध्ययन शुरु गरेका छन् ।
ईञ्जिनियर खड्काले अहिलेसम्म टनेलको आउटलेट र ईनलेट दुई ठाउँमा ड्रिलिङ गर्ने काम भईरहेको बताए। ‘अहिले हामिले टनेलको ईनलेटमा ६० मिटरको होरिजेन्टल ड्रिलिङको काम सकिसकेका छौं, आउटलेटमा पनि १ सय १० मिटरको होरिजेन्टल ड्रिलिङमध्ये ९५ मिटर ड्रिलिङको काम सकिएको छ, ईनलेटको भर्टिकल ड्रिलिङ पनि १५ मिटरमध्ये आठ मिटर सकिएको र आउटलेटको काम पनि अरु हुँदैछ,’ उनले भने।
खड्काले बाँकी दुई ठाउँमा रकसेट डिजाईनको काम पनि सकिएको र पहिलो चरणको भौगर्भिक सर्भेको ८५ प्रतिशत काम सकिएको बताए ।
प्रारम्भिक अध्ययन नतिजामा सो क्षेत्रमा स्यानस्टोन र मडस्टोन खालको चट्टान भेटिएको छ। यसअघि भएको प्रारम्भिक अध्ययनमा सुरुङसहित रकनेट, रकसेट, हाफ टनेल, बेन्च कट सहितका ६ वटा विकल्प दिईएको थियो।
त्यसमध्ये संघीय सरकारले सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर गुरुयोजना थालेको हो ।
स्वीस सरकारले सुरुङमार्गको अध्ययन र गुरुयोजना निर्माणमा सहयोग गरेको छ। चट्टान परीक्षणका लागि सिद्धवावा क्षेत्रका पाँच स्थानमा ९० मिटरसम्मको प्वाल खोलेर चट्टान बाहिर निकालिएको छ । तीन किलोमिटरमा सुरुङ मार्ग बनाइने भएकाले त्यही क्षेत्रको चट्टान परीक्षण गरिएको हो ।
शुक्रबारदेखि चट्टानमा भइब्रेसन लगाएर परीक्षणको काम शुरु गरिएको ड्रिलिप नेपालका वातावरणीय ईञ्जिनियर आशिष ढकालले सेतोपाटीलाई जानकारी दिए।
ढकालले यहाँको अध्ययनको लागि रिपोर्ट स्वीजरल्याण्ड नै पठाउने भएकोले यसको डिपीआर बन्न केही समय लाग्ने बताए। यहाँबाट पठाईएको प्रतिवेदनका आधारमा स्वीस सरकार अन्तर्गतको स्वीस डेभलेपमेन्ट कोअपरेसनले सुरुङ मार्गको डिजाइन गरी बल्ल नेपाल सरकारलाई बुझाउने छ ।
पहिलो चरणमा सुरुङमार्ग कति मिटर लामो हुने र कस्तो बनाउने भन्ने मात्र अध्ययन शुरु गरिएकोले उनले बताए ।
यहाँको भौगर्भिक सर्भेपछि सुरुङमार्ग बन्न सक्ने अवस्था देखिए तल्लो सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरुङमार्ग सुरु हुनेछ।
चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुगेर बाहिर निस्किने छ ।
सुरुङमार्गको प्रवेशद्वारमा करिव २० मिटर सिधा प्वाल पारेर चट्टान निकालिएको छ । दोभान नजिकै रामापिथेकस पार्कको उत्तरतर्फ ९० मिटरको ६० डिग्री कोणमा प्वाल पारिएको छ । चट्टानको चुचुरो र सडकको बीचभागमा समेत प्वाल पारेर चट्टान निकालिएको छ । संघीय सरकारले सिद्धबाबाको सडक व्यवस्थित गर्नका लागि ५० लाख बजेट बिनियोजन गरेको छ ।
यो वर्ष गुरुयोजना तयार गरी आगामी आर्थिक वर्षमा सुरुङमार्ग निर्माणकै काम थाल्ने सरकारको योजना छ । गुरुयोजना निर्माणपछि यस क्षेत्रमा सुरुङ मार्ग निर्माण भए पहिरोको कारण बर्षेनी दर्जनौको संख्यामा हुने अकाल मृत्यु रोकिने अपेक्षा गरिएको छ ।
बुटवल दोभान सडक खण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोमा परि पछिल्लो १० वर्षमा करिब ७० जनाले ज्यान गुमाएका छन् ।