आर्थिक वर्ष २०७५/०७६ लाई शैक्षिक सुधार वर्षको रूपमा घोषणा गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयहरूमा विभिन्न नयाँ अभ्यासहरू सुरूआत गर्दै आएको छ।
नगरप्रमुखको तलबभत्ताबाट छात्रवृत्ति वितरण, विद्यार्थीलाई खाजा कार्यक्रम सञ्चालन तथा नगरका सामुदायिक र संस्थागत सबै विद्यालयका भवनहरूमा एउटै रङ लगाउने निर्णय गरेको नगरपालिकाले पछिल्लो पटक विद्युतीय हाजिरी जडान गरी सामुदायिक विद्यालयहरूमा सुशासन कायम गर्ने प्रयास थालेको हो।
तिलोत्तमा नगरपालिकाभित्र हाल २० वटा माध्यमिक र २४ वटा आधारभूत तह गरी ४४ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये पहिलो चरणमा चालू आर्थिक वर्षको भदौदेखि २० वटा माध्यमिक र एउटा आधारभूत गरी २१ वटा विद्यालयमा नगरपालिका आफैंले विद्युतीय हाजिरी जडान गरिदिएको छ।
विद्यालयमा जडान गरेको विद्युतीय हाजिरीमा शिक्षकहरूको उपस्थिति तथ्यांक नगरपालिकामा रहेको प्रविधि शाखामार्फत् निगरानी गरिन्छ।
नगरपालिकाले विद्यालय सञ्चालन हुने प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म विद्युतीय हाजिरी जडान भएका विद्यालयहरूमा शिक्षकहरूको उपस्थिति निगरानी गर्न एक जनालाई जिम्मेवारी दिएको छ।
नगरपालिकाले विद्युतीय हाजिरी जडान गरिएका विद्यालयहरूको निगरानी कार्यालयमा राखिएको कम्प्युटरबाटै गर्छ भने समय-समयमा छ्ड्के अनुगमन समेत जाने गर्छ।
नगरपालिकाका शिक्षा उपसमितिका प्रमुख हरी प्रसाद ज्ञवालीले विद्युतीय हाजिरी जडान गरी निगरानी गर्न थालेपछि विद्यालयमा सुशासन कायम हुनुको साथै शिक्षक र विद्यार्थीलाई विद्यालयमा समयमै उपस्थित हुने र अवधिभर विद्यालयमा बस्नुपर्ने बानीको विकास भएको बताउँछन्।
नगरपालिकाको यो कार्यले पठनपाठनमा समेत सुधार आउने अपेक्षा गरिएको उनले बताए।
प्रमुख ज्ञवालीले पहिलो चरणमा २१ वटामात्र विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएकोमा अरु विद्यालयबाट समेत माग गरिएको बताए।
‘पहिले शिक्षकहरूले केही बन्धनजस्तो अनुभूति गरे पनि विद्यालयमा समयमा उपस्थित हुने बानीको विकास भएको छ’, उनले भने, ‘विद्युतीय हाजिरी जडान नभएका विद्यालयमा समेत जडान गरिदिन माग हुने गरेको छ।’
विद्युतीय हाजिरी जडानपछि कहिलेकाहीँ ढिलो आउने शिक्षकहरू पनि समयमै आउन थालेको विद्यालयहरू बताउँछन्।
पशुपति मावि कोटिहवाका प्रधानाध्यापक वेद नारायण भट्टराईले सुरूआत दिनमा शिक्षकहरूले अलिकति बन्धन भएजस्तो अनुभव गरे पनि समयको पालनामा सचेत बनाएको बताए।
उनले ढिलो विद्यालय पुग्ने र हाजिरी गरेर आफ्नो काममा हिँड्ने शिक्षकहरूलाई विद्यालय समयभरी बस्नैपर्ने बाध्यता भएपछि पठनपाठनमा समेत सुधार आएको बताए।
१७ वटा रहेको तिलोत्तमा नगरपालिकामा रहेका ४४ वटा सामुदायिक विद्यालयमा १२ हजार १ सय ५४ विद्यार्थी बाल विकासदेखि माध्यमिक तहसम्म अध्ययनरत रहेका छन्।
संख्याको हिसाबले सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयको संख्या झण्डै हाराहारी रहे पनि (संस्थागत ४२) विद्यार्थीहरूको संख्यामा भने दोब्बर अन्तर रहेको छ।
४२ वटा संस्थागत विद्यालयमा बाल विकासदेखि माध्यमिक तहसम्म २३ हजार ४ सय ९० विद्यार्थी अध्ययनरत रहेका छन्।