कर्णाली प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको ‘कारागारलाई किताब अभियान’का लागि हालसम्म करिब ५ हजार किताब संकलन भएका छन्।
कर्णाली प्रदेशका प्रत्येक कारागारमा एक/एक वटा पुस्तकालय स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत हालसम्म विभिन्न ठाउँबाट किताब संलग्न भैरहेका कार्यालयले जनाएको छ।
अभियान सञ्चालनका लागि समिति बनाइएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा बनेको १३ सदस्यीय मूल समितिले अहिले किताब संकलनको काम गरिरहेको छ।
यससँगै पुस्तकालय स्थापनाका लागि आवश्यक पर्ने फर्निचर, थप किताब किन्नका लागि आवश्यक रकमको व्यवस्थापनका लागि समेत समिति सक्रिय रहेको छ।
कर्णाली प्रदेशका १० जिल्लामा एक/एक वटा कारागार छन्। ती कारागारहरूमा यसअघि पुस्तकालय स्थापनाका लागि अनुगमन गरिसकिएको अभियानका संयोजक तथा कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी शाहले बताए।
अभियान सफल पार्न अनुगमनका क्रममा प्रत्येक जिल्लाहरूमा प्रहरी प्रमुखको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको उनले जानकारी दिए।
कारागारका लागि अहिले विभिन्न गैरसरकारी संघ/संस्थासँगै व्यक्तिगत रूपमा समितिलाई किताब उपलब्ध भैरहेको मूल समितिका उपसंयोगक सुशीला श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार अञ्जु पन्त फाउन्डेसन काठमाडौं, सांग्रिला बुक हाउस काठमाडौं, फाइन प्रिन्ट काठमाडौं किताब पव्लिसर्स काठमाडौं र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सुर्खेतबाट संस्थागत रूपमा किताब उपलब्ध भएका छन्।
अन्य लेखक तथा सर्जक, पत्रकारलगायतबाट व्यक्तिगत रूपमा किताब संकलन भएको उनले जानकारी दिइन्।
श्रेष्ठका अनुसार सुर्खेतबाट मात्र ३ हजार किताब संकलन भएका छन् भने सुर्खेत बाहिरबाट करिब २ हजार किताबहरू संकलन भएका छन्। बैंक तथा वित्तीय संस्थाहरूबाट पनि किताब संकलन तथा अन्य व्यवस्थापनका लागि नगद रकम उपलब्ध भैरहेको उनले जानकारी दिइन्।
सुर्खेत तथा कर्णाली प्रदेशका अन्य जिल्लाहरूका स्थानीय तहहरूले पनि कारागारमा पुस्तकालय स्थापनाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको समितिकी उपसंयोजक श्रेष्ठले बताइन्। अभियानअन्तर्गत समितिले हाल किताबहरू संकलन गर्ने, पुस्तकालय स्थापनाका लागि आवश्यक सहयोग जुटाउने लगायतका कामहरू गरिरहेको उनले जानकारी दिइन्।
सहयोगका रूपमा प्राप्त हुने किताबले मात्र पुस्तकालय स्थापना गर्न नपुग्ने भएकाले किताबहरू किन्नका लागि वित्तीय संस्थालगायतका सरोकारवालाहरूसँग सहयोग माग गरिएको समितिका संयोजक डिआइजाी शाहले बताएका छन्।
उनका अनुसार चैत २ गते प्रदेशका सबै कारागारहरूमा पुस्तकालय स्थापना गरिने छ।
यसअघि फागुन १२ गते शिक्षा दिवसका अवसरमा पुस्तकालय स्थापना गरिने योजना बनाइए पनि प्राविधिक कारणले मिति सार्नुपरेको शाहले जानकारी दिए।
उनका अनुसार पुस्तकालय स्थापनाका क्रममा प्रत्येक कारागारमा २/२ जना लेखकहरूलाई उपस्थित गराइने छ।
कारागारका लागि उपलब्ध गराइने पुस्तकले कैदीहरूलाई सुधार्न सघाउ पुर्याउने कर्णाली प्रदेशका प्रहरी प्रमुख शाहले बताए। ‘कारागारमा भएका कतिपय कैदीहरू त्यसअघि पनि सजाय भोगिसकेकाहरू छन्,’ उनले भने, ‘त्यस्ता व्यक्तिहरूलाई यसपछि यस्ता आपराधिक क्रियाकलाप गर्नुहुँदैन भन्ने मानसिकताको विकास गर्न ती किताबहरूले सहयोग गर्न सक्दछन्।’
सुर्खेत कारागारमा संरचना बनाइँदै
सुर्खेतस्थित कारागारमा पुस्तकालय स्थापनाका लागि संरचना बनाउन लागिएको छ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी शाहसहितको टोली मंगलबार कारागारमा पुगेर पुस्तकालयका लागि बनाउन लागिएको कोठाको अवलोकन गरेको छ।
पुस्तकालयका लागि कोठा, दराज, पढ्नका लागि टेबुल, कुर्सीको व्यवस्थापन गर्ने कार्य भैरहेको अभियान मूल समितिले जनाएको छ।
समितिका अनुसार पुस्तकालयमा दुइटा बेडको पनि व्यवस्था गरिने छ। ती बेडमा कैदीहरू समय मिलाएर रातको समयमा किताब पढ्न सक्ने छन्।
पुस्तकालयमा उपलब्ध बाहेक कैदीहरुले माग गरेमा अन्य विषयका पुस्तकहरु पनि उपलब्ध गराउने व्यवस्था गरिने समितिले जनाएको छ।
कैदीहरूले नाइकेमार्फत् आफूले पढ्न चाहेको किताबको बारेमा जेलरलाई जानकारी गराउने र त्यसपछि सम्बन्धित निकायले किताब खरिद गरिदिने व्यवस्था मिलाइने जनाइएको छ।
कारागारहरूमा पुस्तकालय स्थापनापछि ‘बुक क्लब’का रूपमा कैदीहरूको समूह बनाइने डिआइजी शाहले जानकारी दिए।
कैदी खुसी
कारागारहरूमा पुस्तकालय स्थापना हुने भएपछि सुर्खेत कारागारमा रहेका कैदीहरू खुसी भएका छन्।
पुस्तकहरू उपलब्ध भएपछि आफूलाई समय बिताउन सहज हुनुका साथै अतिरिक्त ज्ञान आर्जन हुने भन्दै कैदीहरूले खुसी व्यक्त गरेका हुन्।
सुर्खेत कारागारमा रहेका विजय गालुङले पुस्तकालय स्थापना अभियानले आफूलाई हर्षित बनाएको बताए।
‘प्रहरीले हाम्रा लागि जुन पुस्तकालय स्थापनाको पहल गरेको छ त्यसमा एकदमै खुसी छु,’ उनले भने, ‘पुस्तकहरू धेरै उपलब्ध भएपछि छानेर पढ्न पाइन्छ।’
यस्तै, अर्का कैदी धर्म विकले पुस्तकालय स्थापना गर्ने प्रदेश प्रहरीको पहलको लागि धन्यवाद व्यक्त गरे।
पुस्तकालय स्थापनाको उद्देश्य पूरा गर्न उपलब्ध पुस्तकहरू नियमित अध्ययन गर्ने उनले बताए ।
‘कारागारमा रहने हामीजस्ता कैदीहरूलाई समाजमा घुलमिल हुन सहज होस् र आगामी दिनहरूमा यस्तो कार्य नगरोस् भनेर जुन पहल गरिएको छ, यसको लागि खुसी छौं,’ उनले भने, ‘प्रहरीको यो उद्देश्य प्राप्तिका लागि हामी सम्पूर्ण कैदीहरू पुस्तक अध्ययन गर्नेछौं।’