यो स्वस्थानी व्रतकथा वाचन गर्ने समय हो।
स्वस्थानी भन्नेबित्तिकै हामी सबैलाई साँखुको शाली नदीको सम्झना आउँछ। धेरै व्रतालुहरू यो महिनाभरि शाली नदी गएर स्वस्थानी पूजा-आराधना गर्छन्। तर, के तपाईंलाई थाहा छ, स्वस्थानीको सबभन्दा पुरानो मन्दिर कहाँ छ?
धेरैलाई शाली नदीकै मन्दिर पुरानो हो भन्ने लाग्न सक्छ। कतिले त अर्को ठाउँमा पनि स्वस्थानी मन्दिर छ र भन्ने प्रश्न गर्छन्।
स्वस्थानीको अहिलेसम्म भेटिएको सबभन्दा पुरानो मन्दिर वसन्तपुर दरबार क्षेत्रस्थित तानाबहालमा छ, जुन करिब चार सय वर्ष पुरानो हो।
तपाईं इन्द्रचोकबाट आकाशभैरवलाई दाहिने पारेर मखनतिर जाँदा जब सुरज आर्केड नाघेर वसन्तपुर दरबार क्षेत्र प्रवेश गर्नुहुन्छ, त्यहीँ देब्रेपट्टि जुद्ध सडक निस्कने सानो गल्ली छ। मरमसलाका थुप्रै पसलहरू भएको त्यो गल्लीको सुरूमै तानाबहाल देख्नुहुनेछ। बहालको मूलढोकाभित्र छिर्नेबित्तिकै सिमेन्टले बनेका तीनवटा खोपामा तीनवटा भगवानका मूर्ति लश्करै छन्- देब्रेतिर मच्छेनारायण, दाहिनेतिर लक्ष्मीनारायण र बीचमा स्वस्थानी।
दायाँ हातमा खड्ग र बायाँ हातमा ढाल लिएर बसेकी स्वस्थानी यहाँ भगवान शिवका साथमा छिन्, जसले दायाँ हातमा अक्षयमाला र बायाँ हातमा त्रिशुलयुक्त ध्वजा बोकेका छन्।
यो मूर्ति सन् १६७४ सालमा राजा प्रताप मल्लको समयमा प्रतिस्थापन गरिएको शिलालेखमा उल्लेख छ। मध्य काठमाडौंमै यति पुरानो स्वस्थानी मन्दिरबारे धेरैलाई ज्ञान नभएरै होला, यहाँ गत वर्षसम्म पनि स्वस्थानी व्रतकथा वाचन हुँदैनथ्यो। यस वर्षबाट भने हिन्दु एकता परिषद्को सक्रियतामा हरेक दिन दिउँसो ३ बजेबाट स्वस्थानी व्रतकथा वाचन गरिन थालेको छ।
सुरूका दिनमा चार-पाँच जना मात्र श्रोता हुन्थे। अहिले दिनहुँ २५-३० जनासम्म आउने गरेको तानादेवी संरक्षण समितिका सदस्य दुर्गाप्रसाद श्रेष्ठ बताउँछन्।
स्वस्थानी कथाकी अमेरिकी अध्येता जेसिका भेन्तिन बिर्केनहोल्जले हालै प्रकाशित आफ्नो किताब ‘रिसाइटिङ द गडेसः न्यारेटिभ्स अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइज्म इन नेपाल’ मा तानाबहालको यो स्वस्थानी मूर्ति सबैभन्दा पुरानो भएको उल्लेख गरेकी छन्।
उनका अनुसार स्वस्थानीको मूर्ति विरलै बनेका छन्। मन्दिर त पछि मात्रै बन्न थालेको हो।
‘यो मूर्ति बन्नु पाँच वर्षअघि मोतीराज भन्ने एक ब्राह्मणले पाटनको बख्खुबहालमा स्वस्थानीको मूर्ति बनाएका थिए। त्यो मूर्ति अहिले छैन,’ जेसिकाले किताबमा लेखेकी छन्, ‘तानाबहालको मूर्ति नै अहिलेसम्म भेटिएको स्वस्थानी कथाको एक मात्र उपलब्ध मूर्ति हो। यसलाई कसैले उमा त कसैले पार्वती भन्ने गरेको पनि पाइयो।’
जेसिकाका अनुसार स्वस्थानी व्रतकथाको इतिहास करिब ५ सय वर्ष पुरानो छ। जयन्तदेवले ताडपत्रमा सारेको स्वस्थानी कथा अहिलेसम्मै भेटिएको सबभन्दा पुरानो हो। १६ औं शताब्दितिरको यो स्वस्थानी कथा ८ पानाको छ। यसमा गोमायाजु, चन्द्रावती र नवराजको कथा भेटिन्छ।
‘यो पाँच सय वर्ष अवधिमा स्वस्थानीमा संस्कृत पुराणका कथाहरू जोडिए। आठ पृष्ठको स्वस्थानी ३१ अध्यायसहित करिब ४०० पृष्ठको भयो। भगवान शिव, पार्वती र विष्णुलाई केन्द्रमा राखियो,’ उनले लेखेकी छन्, ‘करिब ६ सय ग्रन्थ त राष्ट्रिय अभिलेखालयमै छन्। त्यसैगरी आशा सफूमा करिब ८० र केशर पुस्तकालयमा स्वस्थानीका दुइटा पाण्डुलिपी छन्। यी संस्कृत, नेवार र नेपाली भाषामा लेखिएका छन्।’
‘म आफैंले पनि साँखुमा करिब २० निजी पाण्डुलिपी खिच्ने मौका पाएँ। ती सन् १७६४ देखि १९९० का थिए,’ उनले भनेकी छन्।
उनका अनुसार अहिलेसम्म फेला परेको स्वस्थानी कथाको पुरानो अभिलेख सन् १५७३ को हो। यसमा संस्कृत र नेवार भाषा मिश्रित छ। नेवार भाषामा मात्र पहिलोपटक स्वस्थानी कथा सन् १६०३ मा लेखियो। उनका अनुसार करिब दुई शताब्दीसम्म नेवार भाषामा मात्र स्वस्थानी कथाको प्रचारप्रसार गरिन्थ्यो। नेपाली भाषाको पहिलो स्वस्थानी कथा सन् १८१० मा मात्र लेखिएको पाइएको छ।
स्वस्थानी कथाबारे गहिराइमा कलम चलाउनेमा काशीनाथ तमोट, ऐश्वर्यश्वर शर्मा, चन्द्रबहादुर कायस्थ लगायत छन्। जेसिकाले उनीहरूको अध्ययनको जगमा टेकेर आफ्नो अध्ययन फराक पारेकी हुन्। ऐश्वर्यश्वर तिनै अनुसन्धाता हुन्, जसले तानाबहालस्थित स्वस्थानी मूर्ति प्रचारमा ल्याए।
काशीनाथ तमोटका अनुसार स्वस्थानी किताबमा उल्लिखित अन्तिम वाक्यांश ‘इती श्री स्कन्दपुराणे केदारखण्डे माघ माहात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथा’ बाट यो स्कन्दपुराण अन्तर्गतको कथा हो भन्ने देखिन्छ।
यसबाहेक लिंगपुराण, पद्मपुराण र शिवपुराण पनि जोडिएका छन्। सत्रौं शताब्दीतिर नेवार भाषामा अनुवाद भएपछि यो पण्डित स्तरबाट जनस्तरमा ओर्लिएको काशीनाथ बताउँछन्।
'मध्यकालीन सामन्ती युगमा राजनीतिक चेतना, आर्थिक अधिकार र सामाजिक प्रतिष्ठाको कामनातिर सर्वसाधारणको ध्यान जान नपाओस् भनेर उनीहरूलाई सबै समस्याको समाधान पूजापाठजस्ता धार्मिक उपायबाट मात्र सम्भव छ भनी असम्भव काल्पनिक भुलभुलैयामा पार्न स्वस्थानी व्रतकथा लेखिएको हुनसक्छ,' तमोट भन्छन्।
उनका अनुसार स्वस्थानीको पाँच सय वर्ष इतिहासमा यसका कथामा धेरै परिवर्तन आएका छन्। उदाहरण लागि, कथामा रहेको महादेव-सतीदेवी प्रसंग प्राचीन स्वस्थानीमा छैन। तेस्रो कथा–शृंखला शिवपार्वतीको प्रसंग पनि छैन।
‘स्वस्थानीको चौथो र अन्तिम श्रृंखला गोमा–नवराजको कथा भने यसको मौलिक हो,’ उनले भने।
तमोटका अनुसार मूल स्वस्थानीमा नांगै फूलमा खेलिरहेकी गोमा अहिले आमाबाका लागि अक्षता केलाइरहेकी छन्। प्राचीन कथाअनुसार घरमा आमा छँदै जोगी आउँछन्, जबकि अहिले आमालाई घरबाहिर पठाइएको छ। पहिले एक जना ऋषि गोमाकहाँ पुग्थे भने अहिले सप्तर्षि पुर्याइएको छ।
त्यस्तै, गोमाले पान किन्न जाँदा अहिले चामत्कारिक रूपमा रित्तो भाँडोबाट पान उत्पन्न भएको हामी पढ्छौं, सुन्छौं। नवराजकी बाहुनीको पहिले नाम थिएन, अहिले चन्द्रावती नाम छ। नवराजहरू बसेको देशको पनि नाम थिएन, अहिले लावण्यदेश भनिएको छ।
स्वस्थानी व्रतकथा वाचन गरिने पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म भीड लाग्ने शाली नदीका बारेमा समेत स्वस्थानीको मूलकथामा उल्लेख नभएको उनी बताउँछन्।
जेसिकाको किताबमा उल्लेख भएअनुसार स्वस्थानी कथामा शाली नदी जोडिएको दुई सय वर्ष मात्र भयो।
‘स्वस्थानीको कथा जनस्तरमा ओर्लेकाले जनधारणा र जनआकांक्षाअनुरूप थप्दै लगेको देखिन्छ। कथालाई प्रभावकारी बनाउन यसमा चातुर्यपूर्ण प्रसंगहरू जोडिँदै गए। समय-समयका धार्मिक–सांस्कृतिक मान्यता घुस्दै गए,’ अध्येता तमोट भन्छन्, ‘स्वस्थानीको एउटा रमाइलो पक्ष स्थानीयकरण हो। यो प्रक्रिया कहिलेदेखि सुरू भयो खोजी गर्न लायक छ।’
तमोटका अनुसार स्वस्थानीको लोकप्रियताका कारण बौद्ध धर्मावलम्बीले पनि बौद्ध स्वस्थानी बनाउने प्रयास गरेका छन्। बौद्ध स्वस्थानीमा केन्द्रीय चरित्र ‘शाक्यमुनि बुद्ध’ छन् र स्वस्थानी ‘महामाया’ लाई बनाइएको छ।
‘महामाया शैव स्वस्थानीमा शिवको आराध्यदेव महाकालीका रूपमा र बौद्ध स्वस्थानीमा बुद्धकी आमाका रूपमा चित्रित छन्। यो बिक्रम सम्वत् १८८७ को एक ग्रन्थमा पाइएको छ,’ तमोटले भने।
जेसिकाका अनुसार सुरूमा स्वस्थानी ग्रन्थमा मात्र सीमित थिइन्। उनको कुनै स्वरुप थिएन। न मूर्ति बन्थ्यो, न मन्दिर। शाली नदीमा भएको स्वस्थानीको मन्दिर बनेको पनि करिब १५ वर्ष मात्रै भएको उनले उल्लेख गरेकी छन्।
स्वस्थानी देवीको स्वरुपको चर्चा गर्दा अष्टमातृकाको उल्लेख भए पनि केही समययता मात्र बनाउन थालिएको हो। शाली नदीको मन्दिरको स्वस्थानी त्यसै रूपमा बनाइएको छ। सन् १६७४ मा प्रताप मल्लले स्थापना गरेको तानाबहालको मूर्ति सोही कथामा आधारित एक मात्र मूर्ति भएको जेसिका उल्लेख गर्छिन्।
उनका अनुसार स्वस्थानीको प्रस्तर मूर्ति मात्र होइन, चित्रकलाको परम्परा पनि छ। स्वस्थानी अभिलेख ग्रन्थहरूमा गाता चित्र तथा ग्रन्थ चित्रका रूपमा स्वस्थानीको चित्र बनाउने परम्परा छ। तिनको अध्ययन गर्न सके स्वस्थानी चित्रकलाको विकास प्रक्रिया थाहा हुनेछ।
तानादेवी संरक्षण समितिका सदस्य दुर्गाप्रसाद श्रेष्ठका अनुसार यहाँको स्वस्थानी मूर्ति नजिकै रहेको आदेश्वर महादेवबाट सारिएको हो। मन्दिरको दक्षिणी भागमा एउटा शिवलिंग छ। त्यही शिवलिंग आदेश्वर महादेव हुन्, ठकुरीहरूका कुलदेवता।
‘त्यहाँ उचित संरक्षण नभएर कम्तीमा सय वर्षअघि यहाँ ल्याएर प्रतिस्थापन गरेको मानिन्छ,’ उनले भने, ‘आदेश्वर महादेव पहिले स्वयम्भूमा थिए। त्यहाँसम्म गएर कुलदेवता पूजा गर्न गाह्रो भएपछि तान्त्रिक साधना गरेर काठमाडौं दरबार क्षेत्रमै ल्याइएको मान्यता छ।’
उचित प्रचारप्रसारको अभावले देशकै सबभन्दा पुरानो र मल्लकालीन स्वस्थानी मूर्तिबारे धेरैलाई थाहा नभएको उनी बताउँछन्।
यही बहालमा रहेको तानादेवी (तारायणी) मन्दिरको इतिहास पनि रोचक छ। यो मन्दिर करिब १२ सय वर्षअघि शंकरदेवको पालामा निर्माण भएको मानिन्छ।
बिक्रम सम्वत् १६२३ मा राजा महिन्द्र मल्लले तानादेवलमा सुनको देवल र ध्वजा चढाई कोटीहोम र रामायण नचाएको ठ्यासफूमा उल्लेख छ। त्यस्तै, तलेजु मन्दिर निर्माण क्रममा अवरोध आएपछि उनले यहाँ गजुर चढाएको पनि भनाइ छ।
श्रेष्ठले तारायणी मन्दिरसँग जोडिएको किम्बदन्ती सुनाए, 'तारायणीलाई तलेजुकी दिदी भनिन्छ। पहिले तारायणीभन्दा अग्लो संरचना बनाउन यसको साधना गर्नुपर्थ्यो। राजा महिन्द्र मल्लले त्यसो गरेनन्। त्यही भएर तलेजु मन्दिर आज बनायो, भोलि भत्कने हुन थाल्यो। मन्दिर बनाउँदा अवरोध भएपछि महिन्द्र मल्लले क्षमापूजा गरे। २१ वटा गजुर र ३६५ वटा राँगा चढाए, त्यसपछि बल्ल तलेजु मन्दिर निर्माण भयो।’
मन्दिरको टुप्पोमा पाँचवटा गजुर हामी देख्न सक्छौं। बाँकी १६ वटा कहाँ छन् त?
‘बाँकी गजुर १६ वटा शिवालयमा चढाएको भनिन्छ,' उनले भने, 'ती कता छन् भन्ने आजसम्म कसैलाई थाहा छैन।'