आफूसँगैको केटीसँग बिहेको कुरा गरेको भन्दै पोखरामा एक युवकले आफ्नो साथीको हत्या गरेका छन्।
प्रहरीका अनुसार 'केटी' का विषयमा विवाद भएपछि १४ वर्षीय सचिन सिञ्जालीको हत्या भएको हो।
उनको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंगलवार पर्वत जिल्ला मल्लाज बस्ने २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपि ओम रानाले जानकारी दिए ।
सोमवार पाल्पा रम्वापानी घर भइ पोखराको लेकसाइड बस्ने १४ वर्षीय सिंजालीको शव पोखरा ६ लेकसाइडको खहरे क्षेत्र, स्ट्रिट नम्बर १७ मा निमार्णधिन घरमा फेला परेको थियो।
लेकसाइडमा रहेका सीसी टिभी क्यामराले घटनाका गतिविधिका बारेमा कैदसमेत गरेको छ।
अभियुक्त कुमारलाई कानुनमा व्यवस्था भए बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले बताए। वडा कार्यालय बैदामका प्रमुख डिएसपि नविन कार्कीको अनुसन्धान टोलीले अभियुक्ततलाई घटना भएको ७ घण्टा मै पक्राउ गरेको हो।
प्रहरीले अभियुक्त कुमार गर्बुजाको व्यवहार हेरेर र सिसि क्यामेरा फुटेजबाट पक्राउ गरेको हो। केटीको विषयमा झगडा भएपछि मृतक सिंजालीले अभियुक्तलाई चक्कुले प्रहार गरेका थिए। त्यही चक्कु खोसेर कुमारले हत्या गरेको प्रहरीको भनाई छ।
यस्तो छ घटना क्रम
सोमबार दिउँसो अभियुक्त बेनी काले उर्फ कुमार गर्बुजा, मोटे भनिने सुसान्त परियार, डल्ली भनिने सुनिता गुरूङ घटनास्थलमा रक्सी पिउँदै थिए। सोही समयमा मृतक सचिन सिंजालि (गोरे भनेर चिनिने) आएर उनीहरूसँगै रक्सी पिउन थाले।
करिब ५ बजे मृतक सचिन, अभियुक्त कुमार र सुनिता सेन्टरपोइन्टमा छिरे। सेन्टरपोइन्टमा तिनै जनाले १ सय रुपैयाँको छ्याङ खाए। त्यहाँ उनीहरु बेलुकी ८ बजेसम्म बसेका थिए।
८ बजे क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसँग १० बजेसम्म बिताए।
त्यहाँबाट निस्किसकेपछि पुनः मृतक सचिन, अभियुक्त कुमार, सुनिता, सुसान्त र सुकदेव घटनास्थलमा पुगे। त्यहाँ पुगेर उनीहरुले ‘डेन ड्राइट’ (लागूपदार्थ) सुँघ्दै बसे।
सोही समयमा मृतक सचिनले सुनितासँग विवाहको कुरा अगाडि बढाए। सुनिता अभियुक्त कुमारकी प्रेमिका थिइन्। साढे १० बजेतिर सुनिता सुत्न जान्छु भनेर पृथ्वी चोक तर्फ लागिन्।
सुनिता गएपछि मृतक सचिन, अभियुक्त कुमार र सुकदेव पैसा माग्न निस्किए। बिजिबि आउजाउ गर्ने मान्छेसँग पैसा मागेपछि २ बोतल बियर र एउटा स्याउको रक्सी किनेर पुनः उनीहरू घटनास्थलमा पुगेर रक्सीमा रमाए।
रक्सी पिउँदै गर्दा फेरि सुनिताको कुरा निस्कियो। त्यसपछि दुई जनाबीच वादविवाद बढ्दै गयो। त्यसपछि सचिनले आफूसँग भएको चक्कु अभियुक्त कुमारको दाइने खुट्टामा प्रहार गरे।
त्यसपछि अभियुक्त कुमारले चक्कु खोसेर सचिनको घाँटी रेटे। सोही चक्कुले दुई तिन पटक ढाडमा पनि प्रहार गरेर त्यहाँबाट बाहिर निस्किए।
उनीहरूसँग सुत्न गएका २ जना जनालाई पनि कुमारले सँगै लिएर निस्किए।
अभियुक्त कुमारले ट्याक्सी चढेर पृथ्वी चोकहुँदै शान्तिवन बाटीका जाने बाटोमा चक्कुलाई ढुंगाले छोपेर लुकाए।
आफूसँगै गएका २ जनालाई पृथ्वी चोकमै छोडेर करिब २ बजे कुमार पुनः घटनास्थलमा आए।
त्यसपछि सचिनलाई मृत फेला पारेपछि घटनाबारे बेखबर भए झैं गरि कुमारले ट्याक्सी ड्राइभरलाई प्रहरीकहाँ खबर गर्न लगाए।
ट्याक्सी ड्राइभरले ‘सेन्टर पोइन्ट’मा गई १०० नम्बरमा प्रहरीलाई खबर गरे। खबर पाउँनासाथ बैदाम प्रहरीका डिएसपी नविन कार्कीको नेतृत्वमा घटनाबारे छानबिन गर्न प्रहरी टोली खटियो।
अभियुक्त कुमारले दिएको बयानलाई सिसि क्यामेराले पनि कैद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। साथै अभियुक्तले भने झै निजहरु राति १२.०० बजे ४ जना मृतक सचिन, अभियुक्तहरु कुमार, सुकदेव, सुशान्त १२.०८ मिनेट जाँदा हल्लिदै घटनास्थलमा भएको निर्माणाधीन घरभित्र प्रवेश गरेको देखिन्छ। १२.४६ मिनेटमा मृतकबाहेक ३ जना अभियुक्त बाहिर निस्केको बैदाम प्रहरीको सिसि क्यामेरा मा कैद भएको देखिन्छ। पुनः सिसि क्यामेरामा २.१३ बजे कुमार एक्लै भित्र छिरेको र २.१४ मा बाहिर निस्की ट्याक्सी रोकेको प्रष्ट बैदाम प्रहरीको सिसि क्यामेरामा कैद भएको देखिन्छ।
बिहान अभियुक्त कुमारलाई लेकसाइड, सुकदेवलाई बाराहीघाट र सुशान्तलाई न्युरोडबाट प्रहरीले नियन्त्रणमा लिएको हो।