आवाज लिम्बू कक्षा ३ का विद्यार्थी हुन्। उनी झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० माइधारको मेची इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत् छन्।
अभिभावकले उनलाई अंग्रेजी भाषामा अब्बल बनाउन बोर्डिङ पढाउन थालेका थिए। अंग्रेजीमा पढ्न र लेख्न आवाज तिखारिँदै गएका छन्। सँगै विद्यालयले ऐच्छिक विषयमा लिम्बू भाषा अध्ययन/अध्यापन गराउन थालेपछि आवाजले मातृभाषा सिक्ने अवसर पाएका छन्।
आवाजको परिवारमा यतिबेला खुसी छाएको छ। अंग्रेजी पढ्न पठाएको छोराले लिम्बू भाषा सिकेर कुरा गर्न थालेपछि परिवारमा खुसी छाएको हो।
हजुुरआमा दिलकुमारी लिम्बूले भनिन्, ‘बोर्डिङले पनि मातृभाषामा पढाउन थालेपछि हराउँदै गएको लिम्बू समुदायको भाषा र लिपिको जगेर्ना भएको छ।’ आवाजले सानै उमेरमा लिम्बू भाषा सिकेर गाउँ-घरमा कुरा गर्दा उनका आफन्त छक्क पर्छन्। उनी लिम्बू भाषामा जस्तोसुकै कुरा गर्न सक्ने भएका छन्।
आवाजको जस्तै मिसेकहाङ चेम्जोङ पनि लिम्बू भाषामा तिखारिँदै गएका छन्। उनले पनि मेची इङ्लिस बोर्डिङमै लिम्बू भाषा सिकेका हुन्। सातामा दुई दिन सोमबार र मंगलबार श्रीजंघा लिपिको पढाइ हुने लिम्बू भाषा कक्षामा ३ र ४ का गरी २० जना विद्यार्थी अध्ययनरत छन्। जनक शिक्षा सामग्री केन्द्रले स्वीकृत गरेको परिमार्जित ०६४ को पुस्तक विद्यालयमा अध्ययन अध्यापन हुने गरेको छ।
लिम्बू जातिको भाषा र लिपि संरक्षण गर्ने उद्देश्यले मेची बोर्डिङले ५० पूर्णाङ्कको ऐच्छिक विषय अन्तर्गत लिम्बू भाषामा अध्यापन गराएको विद्यालयका प्रिन्सिपल भीमप्रसाद भट्टराईले बताए। उनले भने, ‘आउँदा पुस्ताले मातृभाषा नसिकेकैले प्रयोग गर्न नजान्दा यो भाषा नामेट हुनबाट बचाउन लिम्बू भाषा पढाउन थालिएको हो।’
विद्यालयले अघिल्लो शैक्षिक सत्रदेखि लिम्बू भाषामा पढाइ सुरू गर्ने योजना बनाएको थियो। तर, शिक्षक/शिक्षिका नपाउँदा विद्यालयको योजनाले मूर्तरुप पाउन सकेको थिएन। भट्टराई भन्छन्, ‘हामीले दक्ष शिक्षिका पाएपछि पठन-पाठन थालेका हौं।’
यो बोर्डिङको सञ्चालक समितिमा सातमध्ये १ जना लिम्बू समुदायका सञ्चालक छन्। बाँकी सबै ब्राह्मण समुदायका छन्। विद्यालयका सञ्चालकसमेत रहेका शिक्षक वालकृष्ण चेम्जोङ भन्छन्, ‘भाबी पुस्तालाई लिम्बू समुदायको भाषा र लिपि नसिकाउँदा ती पुस्ताले पछि धिक्कार्ने हुँदा लिम्बू भाषाको पढाइ थालेका हौं।’
यो बोर्डिङमा ५० प्रतिशत जनजाति समुदायका विद्यार्थी अध्ययनरत् छन्। चेम्जोङले भने, ‘जसको बाहुल्यता जहाँ छ त्यहाँ त्यै भाषाको पढाइ हुनुपर्छ।’ करकापमा भन्दा पनि आवश्यकता हेरेर विद्यालयमा लिम्बू भाषाको पढाइ हुन थालेको उनले बताए।
झापामा चार सयको हाराहारीमा संस्थागत विद्यालय छन् भने ३ सय ६५ को संख्यामा सामुदायिक विद्यालय छन्। तर, मातृभाषाको पढाइ भने एकाध सामुदायिक विद्यालयबाहेक छैन।
हिमाल र पहाडी भेगका केही सामुदायिक विद्यालयमा मातृभाषामा पढाइ हुने गरेको छ। तर, तराईका सामुदायिक विद्यालयमा मातृभाषामा पढाइ कमै छ। शिवसताक्षीकै लिम्बू भाषाका जानकार नन्दराज योङहाङले भने, ‘नाफा कमाउने उद्देश्यले स्थापना भएको विद्यालयले लिम्बू भाषाको उत्थानका लागि विद्यालयमा अध्ययन/अध्यापन गराउनुले जात र भाषामा एक आपसमा सद्भाव बढाएको छ।’
अर्जुनधारा नगरपालिकाका शिक्षा अधिकारी तोया रेग्मीले प्राथमिक तहमा मातृभाषाको पढाइ विद्यार्थीको नैसर्गिक अधिकार भएको बताए। उनले भने, ‘लिम्बू मात्र होइन राई, तामाङ, मगर, गुरुङ, राजंवशी लगायतका भाषामा अध्ययन/अध्यापन गर्न गराउन नेपाल सरकारले प्राथमिक तहमा अधिकार प्रत्यायोजन गरेको छ।’
यता सामुदायिक विद्यालयले भने शिक्षक र विद्यार्थी अभावका कारण मातृभाषामा पढाइ हुन नसकेको बताउँदै आएको छ। शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित झिलझिले माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक न्यौपानेले राज्यले मातृभाषा अध्ययन अध्यापन गर्ने नीति बनाए पनि योग्य शिक्षक नदिँदा पढाइ हुन नसकेको बताए।
झापाको मेची नगरपालिका वडा नम्बर ७ मा रहेको स्वरस्वती प्राथमिक विद्यालयमा राजवंशी भाषामा पढाइ हुने गरेको छ। सो विद्यालयमा ९९ प्रतिशत राजवंशी समुदायकै विद्यार्थी अध्ययनरत् छन्। विद्यालयले राजंवशी भाषाकै लागि छुट्टै व्यवस्था गरेको छैन। तर, सो समुदायका शिक्षक विद्यालयमा कार्यरत रहेकाले सो भाषामा अध्ययन/अध्यापन हुने गरेको छ।