सधैंजसो कोट पाइन्ट र दौरा सुरूवालमा ठाटिएर बिहानैदेखि औपचारिक कार्यक्रमहरूमा व्यस्त देखिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बिहिबार बिहान फरक भेषमा देखिए।
निलो ट्रयाकसुट, स्पोर्टस् जुत्ता र ढाका टोपीमा बिहानै सात बजे बुटवल २ पाखापानी पुगेका मुख्यमन्त्री पोखरेलले हातमा पञ्जा र मुखमा मास्क लगाएर सडकमा फालिएका प्लाष्टिक बटुल्न थाले।
पछिपछि रहेका बुटवल वटा नं. २ का अध्यक्ष रमेश नेपालले डोको थाप्थे मुख्यमन्त्री पोखरेलले जम्मा गरेको फोहोर त्यही डोकोमा हाल्थे। पाखापानीस्थित मनकामना मन्दिरबाट बिहान साढे सात बजे सरसफाइ गर्न सुरू गरिएकोमा तिनाउ पुलमा आइपुग्दा साढे आठ बजिसकेको थियो।
सामान्यतया विभिन्न अभियानको क्रममा सञ्चालन गरिने सरसफाइ तथा अन्य कार्यक्रमको औपचारिक सुरूआतमात्र गरी भाषण गरेर फर्किने गरेकोमा मुख्यमन्त्री पोखरेल सरसफाइ अवधिभर पूरै खटिए।
सडक किनार, ढिक तथा कान्लामा जहाँ धेरै फोहोर थुप्रिएको देख्थे मुख्यमन्त्री पोखरेल आफैं पुगेर फोहोर उठाएर डोकोमा राख्थे। एक घण्टासम्म गरिएको सरसफाइ अभियानमा सबभन्दा बढी मुख्यमन्त्री पोखरेल नै खटिए।
सरसफाइ अभियानमा मुख्यमन्त्रीसँगै बुटवलका जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीसहित स्थानीयवासी समेत खटिएका थिए।
गत वर्ष फागुन ३ गते गठन भएको प्रदेश ५ सरकारले आजदेखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै छ। सोही अनुसार राजमार्ग सरसफाइ गरी स्थापना दिवसको शुभारम्भ गरेको हो।
बुटवलसहित प्रदेश सरकारले बिहिबार प्रदेश ५ का विभिन्न ६ वटा मुख्य मुख्य जिल्लामा सरसफाइ गरेको छ। बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले अगुवाइ गरेजस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले कोहलपुर चोक बाँकेबाट सरसफाइ अभियानको नेतृत्व गरेका छन्।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी चन्द्रौटा चोक कपिलवस्तुबाट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी भुरिगाउँ बर्दियाबाट, सामाजिक विकास मन्त्री सुदर्शन बराल लमहीचोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाटचोक नवलपरासीबाट सरसफाइ अभियानमा सहभागी भएका छन्।
स्थापना दिवसकै अवसरमा प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदान तथा विभिन्न स्थानमा स्वास्थ्य शिविर गरिने बताइएको छ।
त्यस्तै, शुक्रबार बुटवल बहुमुखी क्याम्पसबाट र्याली सुरू हुने र बुटवल मण्डपमा स्थापना दिवसको मूल समारोह आयोजना हुँदै छ।
मूल समारोहमा प्रदेश सरकारले प्रकाशन गरेको प्रगति प्रतिवेदनसहितको स्मारिका विमोचन गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
प्रदेशका सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैलाई बिहिबारदेखि शनिबार साँझ दिपावली गरी स्थापना दिवस मनाउन प्रदेश सरकारले आग्रह गरेको छ।
यसअघिको मन्त्रिपरिषद्को बैठकले फागुन ३ गते प्रदेश नं. ५ का १२ जिल्लामा सार्वजनिक बिदा भने दिइसकेको छ।