हिजोआज मादक पदार्थ सेवन नियन्त्रणको रात्रिकालीन अभियान (मापसे) निकै सुस्ताएको छ। चोक-चोक र गल्लीमा नाका बनाएर मापसे नियन्त्रणमा खटिने ट्राफिक प्रहरीहरू हिजोआज पहिलेजस्तो सक्रिय देखिँदैनन्।
महानगरीय ट्राफिक महाशाखाको तथ्यांक पनि यही छ, मादक पदार्थ सेवन (मापसे) कारबाही संख्या वर्षेनि घटिरहेको छ। मापसे गरी सवारी चलाउन हुँदैन भन्ने सचेतना बढेको बताइए पनि पहिलेको तुलनामा ट्राफिकको सक्रियता घटेको सम्बद्ध अधिकारीहरू नै बताउँछन्।
महानगरीय ट्राफिक महाशाखाका अनुसार पाँच वर्षयता मापसे कारबाहीको तथ्यांक घट्न थालेको हो। अभियानकै रुपमा कार्यान्वयन गरेको तीन वर्षसम्म जुन परिमाणमा कारबाहीको तथ्यांक थियो, अहिले झन्डै आधा नै घटेको छ।
नेपालमा मदिरा सेवनकर्ता पहिलेभन्दा बढेका छन्। मदिरा र मदिराजन्य कच्चापदार्थ आयातदरले सेवनकर्ता बढेको प्रमाणित गर्छ। विगत पाँच वर्षमा मदिराको आयात परिमाण तथा मूल्य दुबै हिसाबले बढिरहेको देखिन्छ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ मा १ अर्ब ९६ करोड मदिरा आयात भएको थियो।
२०७४/७५ मा ३ अर्ब ३ करोड मूल्यको मदिरा आयात भएको थियो। यसमा मदिरा सम्बधी पेय पदार्थ अन्तर्गत विभिन्न प्रकार तथा घनत्व भएका वस्तु आयात भएको देखिन्छ। बढी मूल्यको आयात हुनेमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ छ।
यसले मदिरा सेवनकर्ता बढिरहेको औंल्याउँछ। सेवनकर्ता बढे पनि राजधानीमा ट्राफिक कारबाही भने घटेको देखिन्छ।
चालु आर्थिक वर्षको माघसम्म १९ हजार १२८ जना मापसे कारबाहीमा परेका छन्। पाँच वर्षअघि ५४ हजार कारबाहीमा परेका थिए। त्यतिबेला महाशाखामा केशव अधिकारी प्रमुख थिए।
उनीपछि महाशाखामा आउने अधिकारीहरूले पनि मापसे कारबाही अभियानलाई उतिकै प्राथमिकतामा राखेको भने बताउँदै आएका छन्।
महाशाखाले भने मापसे चेकिङ पहिलेभन्दा अझै व्यापक रहेको जनाएको छ। तर, कारबाही तथ्यांक घटिरहेकोबारे महाशाखा भन्छ, ‘मदिरा सेवन गरेर सवारीसाधन कम चलाउने कम भए।’
महाशाखाका अनुसार कोही नखाने साथी लिएर बस्छन्, कोही ट्याक्सी चढ्छन्। कसैलाई होटलले नै घरसम्म छोडिदिन्छ। तर, यो ठूला होटलले मात्र गर्छन्। जताततै खुलेका मदिरा पसलेले यो गर्दैनन्।
‘सेवनकर्तामा बढेको सचेतना नै तथ्यांक घट्नुको प्रमुख कारण हो,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटा भन्छन्, ‘चेकिङ त पहिलेभन्दा अहिले व्यापक छ।’
उनका अनुसार हिजोआज साँझ ७ बजेदेखि बिहान राति १ बजेसम्म चेकिङको समयतालिका छ। सार्वजनिक विदाको दिन र अन्य दिन पनि १२-२ र ३-५ बजे दिउँसै चेकिङ गरिन्छ। राजधानीका ४७ ठाउँमा मापसे चेकिङ हुने गरेको उनको दाबी छ।
महाशाखा प्रमुख एसएसपी वसन्त पन्त मापसे अभियान पहिलेका वर्षहरूमा जस्तै प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउँछन्। उनी भन्छन्, ‘हामी उतिकै सक्रिय छौं। तर, संख्यात्मक रुपमा तथ्यांक घटेको छ। सचेतनाले पनि यस्तो भएको हो।’
तर, ट्राफिक प्रहरीमै विगतमा प्रमुख भएर काम गरेका अधिकारीहरू महाशाखाको भनाइमा चित्त बुझाउँदैनन्। उनीहरू मापसेमा पहिलेजस्तो भयानक कारबाही अहिले नरहेको बताउँछन्।
‘म प्रायः फिल्डमै हुन्छु, तर पहिले जस्तो किसिमले चेकिङ हुन्थ्यो, अहिले त्यो देखिँदैन,’ महाशाखामा रहँदा मापसेमा आक्रामक कारबाही चलाएका पूर्वएआइजी केशव अधिकारी भन्छन्। उनका अनुसार पहिले सवारीको दिशा खोजेर कारबाही अभियान चलाइन्थ्यो। चोक, गल्ली छेकेर कारबाही गरिन्थ्यो। अहिले आफ्नो कार्यालयअगाडि ‘देखाउकै लागि मात्र’ कारबाही गरिन्छ। ‘हिजोआज आफ्नो कार्यालय अगाडिबाहेक अन्यत्र म खासै चेकिङ देख्दिनँ,’ अधिकारी भन्छन्, ‘प्रहरीमा बढेको अनुशासनहीनताले पनि यो भएको हो।’
उनका अनुसार सवारीसाधनको आवागमन बढी हुने ठाउँ पहिल्याएर मापसे जाँच हुनुपर्छ। भाग्ने र जोखिमपूर्ण ठाउँमा छड्के अनुगमन हुनुपर्छ। अहिले त्यस्तो ठाउँमा ट्राफिक बस्न छोडेको अधिकारी बताउँछन्।
अधिकारीहरूका अनुसार ट्राफिक प्रहरीले पाउने कमिशन कटौती भएकाले पनि यस्तो हुनसक्छ।
‘पहिले ट्राफिक प्रहरीले कारबाहीको १५ प्रतिशत कमिशन पाउँथे, यो कटौती हुँदा मनोवैज्ञानिक असर परेको पनि होला,’ पूर्वएआइजी विज्ञानराज शर्मा भन्छन्, ‘मदिरा सेवन गरेर सवारी चलाउनु हुँदैन भन्ने संस्कार विकास भएर पनि होला। तर, यतिले नै मात्र चाहिँ कारबाहीको तथ्यांक घटेको मान्न सकिन्नँ।’
जनार्दन शर्मा गृहमन्त्री भएका बेला ट्राफिक प्रहरीको कमिशन बन्द गराइएको थियो। १५ प्रतिशत कमिशन पाउने आशले पनि त्यसअघि ट्राफिक प्रहरीहरू नाका घेरेर मापसे जाँचमा सक्रिय हुन्थे।
पूर्वएआइजी शर्माका अनुसार ट्राफिकको चेकिङ प्रणाली पुरातन शैलीको छ। ११ बजेपछि ट्राफिक सडकमा हुँदैनन्। यहीबेला मापसेहरू सवारी लिएर होटलबाट निस्किन्छन्।
शर्माले ट्राफिकको उपस्थितिसँगै चेकिङ प्रणालीमा सुधार ल्याउनुपर्ने बताए। ‘कमाण्डरलाई बाहेक अरुलाई चेकिङ कहाँ गर्ने भन्ने थाहा दिनै हुँदैन,’ शर्मा भन्छन्, ‘ट्राफिक प्रहरी झुक्याएर बस्नुपर्छ, तर, यो हाम्रोमा छैन। सेवनकर्ताहरूले कहाँ चेकिङ छ पहिले नै थाहा पाइसकेका हुन्छन्।’
समयसँगै ट्राफिक चेकिङमा फरकपन आउनुपर्ने उनको भनाइ छ। ‘समाजमा मापसेको झड्का छ। यो भइरहनुपर्छ, मापसे चेकिङकै कारण अपराध र दुर्घटना घटेको छ,’ उनले भने।
मापसे जाँचको प्रणाली भने खासै केही पनि छैन। ट्राफिकको उपस्थितिले नै अभियानको सक्रियता देखाउँछ। ‘ब्रेथलाइजरबाहेक अरु प्रणाली छैन, यसकारण उपस्थिति नै महत्वपूर्ण हो,’ शर्माले भने। तर, ट्राफिकको ब्रेथलाइजर ‘भगवान भरोसा’ छ। प्रायः ब्रेथलाइजरले काम नदिएर ट्राफिक प्रहरी सवारी चालकको मुख सुँघिरहेका हुन्छन्।
पूर्वएआइजी अधिकारी भने ट्राफिक प्रहरीको पूरै काम कारबाहीसँग असन्तुष्ट छन्। उनी यसको दोष प्रहरी प्रधान कार्यालयलाई लगाउँछन्। ‘पहिले फिल्डमा खटिने अधिकृतहरूको काम कारबाहीबारे आवधिक रुपमा अनुगमन हुन्थ्यो, अहिले इन्स्पेक्टर दर्जाको प्रहरी फिल्डमा खासै देखिँदैन, डिएसपी, एसपी कार्यालयबाहिर त्यति निस्किँदैनन्,’ अधिकारी भन्छन्, ‘फिल्डमा खटिने इञ्चार्जको कमाण्ड क्षमतामा ह्रास देखिँदै आएको छ। एउटा कामको प्रचार गरेर वर्षौंसम्म त्यसैलाई आधार बनाई दिइने सरुवा-बढुवाले पनि प्रहरीमा अनुशासनहीनता बढाएको छ।’
अधिकारीका अनुसार ट्राफिक प्रहरीले स्रोतसाधन अभाव देखाउँछ। जनशक्ति कम देखाउँछ। ‘मेरै पालामा चाहिँ कहाँ स्रोतसाधन र जनशक्ति पर्याप्त थियो र?,’ उनले प्रश्न गरे, ‘स्रोतसाधन छैन भनेर प्रहरीले आफ्नो कामको गुणस्तर घटाउन मिल्दैन।’
राजधानीमा २०६८ सालबाट मापसे नियन्त्रण अभियान थालिएको थियो। मंसिरबाट थालिएको मापसे अभियानमा पहिलो वर्ष ३९ हजार ६६७ जना कारबाही मा परेका थिए।
आर्थिक वर्ष २०६९/७० मा ५२ हजार २८० जना कारबाहीमा परेका थिए। मापसे अभियानकै सबैभन्दा बढी २०७०/७१ मा ५४ हजार ५३५ जना कारबाहीमा परेका थिए।
त्यसयता, क्रमशः तथ्यांक घटिरहेको छ। २०७१/७२ मा ३६ हजार ६५, २०७२/७३ मा २९ हजार २२२, २०७३/७४ मा २८ हजार ८९६, २०७४/७५ मा ३२ हजार ८१४ जना कारबाहीमा परेका थिए।
पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल मदिरा पिएर सवारी चलाउनेको संख्या घट्नुलाई सकारात्मक संकेतका रुपमा बुझ्नुपर्ने बताउँछन्। ‘यो ट्राफिक प्रहरीको सफल अभियान हो। तर, निरन्तरता चाहिँ आवश्यक छ,’ उनले भने, ‘नेपाल प्रहरीको यो सबैभन्दा लोकप्रिय अभियान हो।’
दुई सय रुपैयाँबाट सुरू भएको मापसेको जरिवाना अहिले एक हजार रुपैयाँमा पुगेको छ। मापसे चेकिङमा परेका चालकलाई अहिले एक हजार रुपैयाँको चिट काटेर लाइसेन्स जफत गरिन्छ। चिटमा उल्लेखित शुल्क बैंक अफ काठमाडौंमा बुझाएर भौचर महाशाखा लिएर जानैपर्छ। त्यसपछि एक घन्टा मापसे कक्षामा बस्नुपर्छ। अनिमात्र, लाइसेन्स फिर्ता पाइन्छ, प्वाल पारेर। लगातार छ चोटी प्वाल परे ट्राफिकले ६ महिनाका लागि लाइसेन्स निलम्बनको सिफारिस यातायात कार्यालयमा पठाउँछ।